
काठमाडौं र हेटौँडालाई जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । सवारीसाधन अवातजावतका लागि बागमती खोलामा बनाएको डाइभर्सन बगाएपछि कान्ति लोकपथ अवरुद्ध भएको छ । गएरातिदेखि परेको वर्षाले मकवानपुरको भीमफेदी गाउँपालिका– ८ र ललितपुरको बागमती गाउँपालिका– २ तर्फको डाइभर्सन बगाएको मकवानपुर प्रहरीले जनाएको छ ।
तत्काल प्रहरी र सडक डिभिजक कार्यलयको टोलीले उक्त क्षेत्रबाट अवरुद्ध बाटो खेल्ने प्रयास भइरहेको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । उनले तत्कालका लागि कान्ति लोकपथ भएर चल्न सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।
यसअघि गत असोज १० र ११ गते आएको अविरल वर्षाका कारण ललितपुर र मकवानपुर जोड्ने बागमती नदीमाथिको बगुवा पुलसम्मको पहुँचमार्ग बगाएपछि झन्डै दुई हप्तासम्म उक्त सडकखण्ड अवरुद्ध भएको थियो । पछिल्लो समय १८ वैशाखदेखि १ जेठसम्म १५ दिन कान्ति लोकपथ दैनिक ६ घण्टाका लागि बन्द गरिँदै आएको छ । उक्त सडकको मकवानपुरको बकैया गाउँपालिकास्थित ठिगन–बगुवा सडकखण्डअन्तर्गत गँगटेनजिकैको भर्याङडाँडामा सडकको चौडाइ विस्तारका लागि चट्टान कटानको कार्य गरिने भएकाले १५ दिनसम्म उक्त सडकखण्ड बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म बन्द गरिएको छ ।