
आयोजक गोदावरी नगरपालिकाले दोस्रो उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । शनिबार गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुनटार खेलमैदानमा सम्पन्न उद्घाटन खेलमा गोदावरीले महालक्ष्मी नगरपालिकाविरुद्ध ६–१ को फराकिलो जित निकाल्यो । गोदावरीलाई जित दिलाउन अरुण लामाले चार र पासाङ तामाङले एक गोल गरे । एक गोल आत्मघाती उपहारस्वरूप प्राप्त भयो । महालक्ष्मीका लागि रोनेश राउतले गोल फर्काए ।
खेलको २२औँ मिनेटमा पासाङको गोलमार्फत गोदावरीले अग्रता लिएको थियो। अरुणले ३० र ३२औँ मिनेटमा गोल गर्दा गोदावरीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनायो । निसान रावलबाट ६१औँ मिनेटमा आत्मघाती गोल हुन पुग्दा गोदावरीको अग्रता ४–० मा पुग्यो । अरुणले ८४औँ मिनेटमा ह्याट्रिक पूरा गरे । दुई मिनेटपछि नै अरुणले व्यक्तिगत चौथो तथा टोलीका लागि छैटौँ गोल गरे। ९०औँ मिनेटमा रोनेशले गरेको गोल महालक्ष्मीका लागि सान्त्वना बन्यो ।
यसअघि प्रतियोगिताको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरेका थिए । उद्घाटन सत्रमा बागमती प्रदेशका खेलकुद मन्त्री मीनकृष्ण महर्जन, गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनलगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताका विजेतालाई पाँच लाख र उपविजेतालाई तीन लाख रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए । प्रतियोगिताको अनुशासित टिमले ५० हजार तथा उत्कृष्ट गोलकिपर, रक्षक, फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पाउनेछन् ।