
इजरायली हवाई आक्रमणका कारण गाजामा कम्तीमा तीन बालबालिकासहित १६ जनाको मृत्यु भएको छ । गाजाको नागरिक सुरक्षा निकायका अनुसार आइतबार भएको आक्रमणमा उनीहरूको हताहती भएको हो ।
नागरिक सुरक्षा प्रवक्ता महमुद बासालका अनुसार गाजा पट्टीको दक्षिणी क्षेत्रमा पर्ने खान युनिस गभर्नरेटमा रातभरि भएका आक्रमणमा ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये पाँच र दुई वर्षका दुई बालक अल–मावासी क्षेत्रमा रहेको एक अपार्टमेन्टमा थिए ।
पछिल्लो विवरणअनुसार सोही अल–मावासी क्षेत्रमा एउटा पालमाथि गरिएको आक्रमणमा थप १० जनाको मृत्यु भएको छ, जसमा एक बालक र सात महिला परेका छन् ।
इजरायली सेनाले घटनाबारे हालसम्म कुनै आधिकारिक टिप्पणी दिएको छैन । समाचार समिति एएफपीका अनुसार प्रवक्ताले विवरण सङ्कलन भइरहेको जानकारी दिएका थिए ।
सेनाले बिहान जारी गरेको वक्तव्यमा दुई दिनमा गाजा क्षेत्रमा सयभन्दा बढी आतङ्ककारी लक्ष्यहरूमा आक्रमण गरिएको बताइएको छ । वक्तव्यअनुसार केही हतियार गोदाम फेला पारिएको र केही लडाकुहरूलाई मारिएको दाबी गरिएको छ ।
इजरायलले १८ मार्चबाट दुई महिनाको युद्धविरामपछि पुनः गाजामा सैन्य कारबाही सुरु गरेको हो । यो द्वन्द्व हमासले ७ अक्टोबर ०२३ मा इजरायली भूमिमा गरेको आक्रमणपछि सुरु भएको थियो ।
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमण पुनः सुरु भएदेखि हालसम्म दुई हजार ४३६ जना नागरिकको मृत्यु भइसकेको छ । कुल मृतक संख्या ५२ हजार ५३५ पुगेको छ ।
इजरायलले हाल गाजामा मानवीय सहायता आपूर्ति रोकिदिएको छ । इजरायली पक्षका अनुसार नाकाबन्दीको उद्देश्य बन्धक मुक्त गर्न दवाब सिर्जना गर्नु हो ।
संयुक्त राष्ट्रसङ्घका निकायहरूले इजरायललाई नाकाबन्दी हटाउन आग्रह गरेका छन् ।