१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 04 May, 2025
Invalid date format o९:३१:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अस्ट्रेलियामा लेबर पार्टी विजयी

पुनः प्रधानमन्त्री बन्दै अल्बानिज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:३१:oo

अस्ट्रेलियामा प्रधानमन्त्री एन्थोनी अल्बानिजको पार्टीले चुनाव जितेको छ । शनिबार सम्पन्न मतदानमा सत्तारूढ लेबर पार्टी विजयी भएको हो । जितसँगै अल्बानिज पुनः प्रधानमन्त्री बन्ने निश्चित छ । लिबरल–नेसनल गठबन्धनका नेता पिटर डटनले पराजय स्विकारेका छन् । डटनले आफ्नो पार्टीले ‘पर्याप्त राम्रो नगरेको’ टिप्पणी गरेका छन् । डटनल आफ्नै निर्वाचन क्षेत्र डिक्सनमा हारेका छन् । उनी लेबर उम्मेदवार अली फ्रान्ससँग पराजित भएका हुन् । उक्त निर्वाचन क्षेत्रबाट डटन दुई दशकभन्दा लामो समयदेखि निर्वाचित हुँदै आएका थिए । पूर्वप्रहरी अधिकारीसमेत रहेका डटन आप्रवासनमा कटौती गर्न, अपराध नियन्त्रण गर्न र आणविक शक्तिमाथि लामो समयदेखि लगाइएको प्रतिबन्ध हटाउन चाहन्छन् ।

जितपछि ६२ वर्षीय अल्बानिजले नवीकरणीय ऊर्जालाई अंगीकार गर्ने, बिग्रँदो आवास संकटको सामना गर्ने र खस्कँदो स्वास्थ्य सेवा प्रणालीमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । लेबरले अस्ट्रेलियालीको विश्वासलाई ‘हल्का रूपमा’ नलिएको उनले बताए । दुई दशकभन्दा बढी समयपछि लगातार दुईपटक चुनाव जित्ने अल्बानिज पहिलो प्रधानमन्त्री हुन् । यसअघि जोन हावर्ड पनि लगातार दुईपटक विजयी भएका थिए । शनिबार लेबर पार्टीको मुख्यालयमा उत्साहित समर्थकलाई सम्बोधन गर्दै उनले सरकारले वृद्धवृद्धाको हेरचाह गर्दै युवा अस्ट्रेलियालीमा लगानी गर्ने बताए । लेबर पार्टीका नेताले अस्ट्रेलियाली जनताले आफ्ना साझा मूल्यलाई पुनः पुष्टि गर्न मतदान गरेको बताए । ‘विश्वव्यापी अनिश्चितताको यस समयमा अस्ट्रेलियालीले आशावाद र दृढ संकल्प रोजेका छन्,’ उनले भने ।

अस्ट्रेलियाको तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभमा) मा १५० र माथिल्लो सदन सिनेटमा ७६ गरी २२६ सिटका लागि मतदान भएको थियो । अस्ट्रेलियाली समाचार संस्था एबिसीका अनुसार लेबर ८५ सिटमा अघि छ भने लिबरल जम्मा ४० सिटमा खुम्चिएको छ । त्यस्तै, ११ स्थानमा स्वतन्त्र उम्मेदवार अगाडि छन् । निर्वाचनको अन्तिम परिणाम आउन बाँकी छ ।

निर्वाचन अभियानमा राजनीतिक दलहरूले अध्यागमन, बढ्दो महँगी, स्वास्थ्य, मानसिक स्वास्थ्यलगायत विभिन्न सार्वजनिक चासोका मुद्दालाई प्राथमिकताका साथ उठाएका थिए । जीवनयापनको लागत, जलवायु परिवर्तन, संघर्षरत सार्वजनिक स्वास्थ्य सेवा, किफायती आवास र ट्रम्पको अप्रत्याशित कमब्याकपछिको चिन्तालगायत विषय पनि अभियानमा उठाइएका थिए ।निर्वाचनअघि प्रधानमन्त्री अल्बानिजले आफू प्रधानमन्त्रीमा पुनः निर्वाचित भएमा आगामी तीन वर्षमा अस्ट्रेलियाका लागि गर्न सकिने विकासको नेतृत्व लिने र देशका सामु देखिएका विद्यमान समस्यालाई सम्बोधनको प्रयत्न गर्ने बताएका थिए । कतिपय सर्वेक्षणले निर्वाचनमा अल्बानिजको पार्टी विजयी हुने देखाएका थिए । 
 – एजेन्सी