
चलचित्र ‘अञ्जिला’ले हालसम्म १० करोड रुपैयाँभन्दा बढीको ग्रस कमाइ गर्दै बायोपिक चलचित्रमा ऐतिहासिक कीर्तिमान बनाएको निर्देशक मिलन चाम्सले बताएका छन्।
प्रदर्शनको ५१औँ दिनमा शुक्रबार साँझ सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा आयोजित कार्यक्रममा चाम्सले नेपाली चलचित्रको इतिहासमा १० करोडमाथिको व्यापार र ५१ दिन पुग्ने पहिलो नेपाली बायोपिक चलचित्र बनेको दाबी गरेका हुन्। गत वर्ष फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले देशभर ४५ सोसहित ५१ दिन मनाएको छ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’मा एन्जिलाले आफैँ प्रमुख भूमिका निर्वाह गरेकी छिन्। चलचित्रमा उनीसँगै प्रेमकुमार श्रेष्ठ, सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङलगायतको अभिनय छ।
हलचोक आयोजित कार्यक्रममा चलचित्रको टिम तथा ५१ दिन मनाएका हलहरूलाई प्रशंसापत्र प्रदान गर्दै टिमले खुसी साटासाट गर्यो। कार्यक्रममा सशस्त्र प्रहरी बलका सांस्कृतिक समूहहरूले विभिन्न प्रस्तुतिहरू दिएका थिए। साथै, चलचित्रका गायक तथा संगीतकार थानेश्वर गौतमले पनि चलचित्रमा समावेश ‘रात किन हुन्छ’को प्रत्यक्ष प्रस्तुति दिए।
वर्ष २०८१ को अन्त्यतिर रिलिज भए पनि ‘अञ्जिला’ले गत वर्षका उत्कृष्ट पाँच चलचित्रमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएकोसमेत निर्माण पक्षले जनाएको छ।