१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २० शनिबार
  • Saturday, 03 May, 2025
२o८२ बैशाख २० शनिबार १३:३५:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

धरानमा आयोजित ‘ऊनको स्विटर’ साँझमा ६ हजार दर्शक, गाउँ-गाउँबाट ऱ्यालीसहित सहभागिता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २० शनिबार १३:३५:oo

 बिहीबार साँझ धरानमा सांगीतिक कार्यक्रम ‘ऊनको स्वीटर साँझ’ सम्पन्न भएको छ । आगामी शुक्रबार रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को प्रचारप्रसारको एक महत्त्वपूर्ण प्रयास स्वरूप धरान रंगशालामा आयोजित सो कार्यक्रममा ६ हजारभन्दा बढी दर्शकहरूको उत्साहजनक उपस्थिति रह्यो । सो कार्यक्रमको लागि पाँचथरको फिदिम देखि धरान सम्मको दुई सय किमी बाटोमा मोटरसाइकल र्‍यालीमार्फत दर्शकहरू आएका थिए  भने अन्य गाउँ गाउँहरूदेखि समेत दर्शकहरू आएका थिए ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्र विक्रम बेघा लगायत विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो । चलचित्रका प्रमुख कलाकारहरू विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, परीक्षा लिम्बु, एलेक्स पारस, निर्देशक नवीन चौहान, गायक सुजन चापागाईँ, गायिका तथा संगीतकार झुमा लिम्बु, र गीतकार युवराज काफ्लेलाई नगरप्रमुख साम्पाङले स्वागत तथा सम्मान गरे । सुजन चापागाईँ र उनको ‘द इन्फिनिटी ब्यान्ड’ले ‘लजाएर एक्लै किन’, ‘तिमी बिना तिमी हुनु’, ‘फूलथुंगे रानी’, ‘आँसुको भारी’, ‘गाला पुक्क’, ‘तीनपाते’, ‘मखमली’ लगायतका चर्चित गीतहरू प्रस्तुत गरे । गायिका झुमा लिम्बूसँगको ‘काफ्ले’ गीतले दर्शकहरूलाई विशेष रूपमा आकर्षित गर्‍यो ।

यस कार्यक्रममार्फत संकलित मुनाफा धरान उपमहानगरपालिकाको श्रम संस्कृति अभियानलाई आर्थिक सहयोग स्वरूप हस्तान्तरण गरिने चलचित्रका निर्देशक नवीन चौहानले बताए । यसअघि पोखरा र काठमाडौंमा पनि ‘ऊनको स्वीटर’साँझको आयोजना गरिएको थियो ।निर्देशक चौहानको पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’ वैशाख २६ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउँदैछ । यसअघि ‘घुमी घुमी’, ‘देखेर तिमीलाई – तीनपाते’, ‘फूलथुंगे रानी’, ‘चन्द्रमा’ जस्ता सांगीतिक चलचित्रहरू निर्देशन गरेका चौहानले यस चलचित्रको लेखन पनि गरेका हुन् । चलचित्रको छायांकन पाँचथर र नेपाल–भारत सिमाना फालेलुङमा गरिएको हो ।

आर्टमाण्डू प्रालिले निर्माण गरेको यस चलचित्रमा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमु, शारदा देवी सिलवाल, भावना खपांगी मगरलगायत कलाकारहरूको अभिनय रहेको छ । संगीततर्फ, सुजन चापागाईँ र झुमा लिम्बुले संगीत निर्देशन गरेका छन् । यस चलचित्रका ‘फूल’, ‘मखमली’, र ‘काफ्ले” जस्ता गीतहरू तथा हालै सार्वजनिक ट्रेलर सामाजिक सञ्जालमा निकै लोकप्रिय भएका छन् ।