
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटको प्राथमिकता निर्धारणका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग सुझाव लिएको छ ।नीति तथा कार्यक्रम र बजेटलाई लक्ष्य, उद्देश्यअनुकूल बनाउने र कार्यान्वयन पक्षलाई सुदृढ गर्ने उद्देश्यका साथ शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा छलफल आयोजना आयोजना गरी सुझाव लिइएको छ । कार्यक्रममा सत्ता गठबन्धनका तथा विपक्षी दलहरुका नेताहरुले जनमुखी बजेट ल्याउनुपर्नेमा जोड दिएका थिए ।
प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले वस्तुस्थिति र तथ्यांकको आधारमा योजना निर्माण गर्नुपर्नेमा जोड दिए। उनले आय–स्रोत वृद्धिका उपाय, सार्वजनिक खर्चको व्यवस्थापन र किसानसँग सहकार्य गरेर कृषि उत्पादन बढाउनुपर्ने सुझाव दिए ।मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले सबैको अपनत्व हुनेगरी नीति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको बताए। सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटले प्रदेशको वास्तविकता दर्शाउने उनको भनाइ छ।
उनले दायित्व नथपिनेगरी बजेट बनाइने, घाटा बजेट नल्याइने र माथिबाट प्राप्त हुने तथा प्रदेशभित्रै उठ्ने राजस्वको यकिन गरी मात्रै बजेट तर्जुमा गरिने बताए ।नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशलाई आर्थिक रूपमा बलियो बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेको बताउँदै सरकारलाई पूर्ण साथ रहने बताए।
प्रमुख सचिव बाबुराम अधिकारीले योजना निर्माण प्रक्रियालाई मापदण्डअनुसार अगाडि बढाइने बताए।नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सह–महामन्त्री विष्णु मुस्कानले चालू खर्च घटाएर पूँजिगत खर्च बढाउने नीति अवलम्बन गर्न सुझाव दिए।नेकपा एमाले लुम्बिनी प्रदेश दलका उपनेता भोजप्रसाद श्रेष्ठले बहुवर्षीय योजना छनौट गर्दा प्रदेशसभा सदस्यहरूसँग छलफल गर्नुपर्ने, नीति निर्माणमा सरकार बलियो भएर प्रस्तुत हुनुपर्ने, र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेट घटाएर कृषि र स्वास्थ्यमा केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरे ।नेकपा एमालेका प्रमुख सचेतक तुलसी चौधरीले कृषिमा आत्मनिर्भर बन्ने गरी विशेष बालीमा आधारित कार्यक्रम ल्याउनुपर्ने, कृषिमा आधारित उद्योग स्थापनामा जोड दिनुपर्ने सुझाव दिए।
कार्यक्रममा नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरी, जनमत पार्टीका नेता चन्द्रकेश गुप्ता, राप्रपाकी प्रदेशसभा सदस्य मिना श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका भण्डारी लाल अहिर, लोसपाका कनैया बानिया, राष्ट्रिय जनमोर्चाकी तारा थापा, र एकीकृत समाजवादी पार्टीकी भगवती अधिकारी, नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सचेतक धनलक्ष्मी श्रेष्ठलगायतले पनि नीति तथा बजेटका प्राथमिकताबारे आ–आफ्ना सुझाव दिएका थिए ।