
फ्रान्सेली सम्राट् नेपोलियन बोनापार्टले २१० वर्षअघि भनेका थिए, ‘चीन सुतिरहोस्, जब चीन निद्राबाट ब्युँझन्छ, तब उसले विश्वलाई हल्लाउँछ ।’ उनले भनेजस्तै चीन ब्युँझिएको धेरै भएको छैन । तर, छोटै समयमा उसले विश्वलाई यसरी हल्लाइरहेको छ, मानौँ कुनै जादु गरिरहेको छ । देङ सिआओपिङले चीनमा आर्थिक क्रान्ति सुरु गरेको सन् २०२५ मा ४७ वर्ष पूरा भएको छ । आज चीन विश्वको केन्द्र बनेको छ ।
सन् १९४९ मा डेढ शताब्दी लामो विदेशी निर्देशित शासनबाट मुक्त भएर ‘जनवादी गणतन्त्र चीन’ घोषणा गर्दै गर्दा चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष माओत्से तुङले भनेका थिए, ‘आज चिनियाँ जनता आफ्नै खुट्टामा उभिएका छन्, अब दौडिनेछन् ।’ यसबिच पनि चिनियाँ जनताले एक दशक लामो ‘सांस्कृतिक क्रान्ति’को ‘ऐतिहासिक घाउ’ सहनुपर्यो । सांस्कृतिक क्रान्तिको अन्त्यसँगै सन् १९७५ बाट माओले भनेजस्तो चीन दौडिन सुरु गर्यो । देङ सिआओ पिङको नेतृत्वमा दौडिन सुरु गरेको चीन आज विश्वको चुली नजिक छ । र, फर्केर विगतको समीक्षा गर्दै दुनियाँलाई आफ्नो सफलताको रोमञ्चकारी कथा सुनाइरहेको छ ।
चीनको सफलताको कथा सुन्ने, चीनले गरेको अभूतपूर्व प्रगति हेर्ने रहर जो कसैलाई हुन्छ । मलाई पनि त्यो हेर्ने रहर थियो । बेन्जाओमा २६ मंसिरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे), नेपालले फोटो प्रदर्शनी आयोजना गर्ने क्रममा त्यो रहर पूरा भयो । १० दिनको बसाइमा संसारलाई चकित पार्दै आएको चीनको आर्थिक, प्राविधिक र सामाजिक तथा सांस्कृतिक विकासका विभिन्न नमुना अवलोकन र अनुभव गर्ने अवसर मिल्यो ।
चीनको विन्जाओ फोटोग्राफर एसोसिएसन, चिनियाँ पर्यटन फोटोग्राफर सुसोय तथा नेपाल–चीन मैत्री संघको सहकार्यमा फोटो प्रदर्शनी आयोजना भएको थियो । हिमशृंखलामाथिको उडानले भरिएको नेपाल सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल फोटो प्रदर्शनीमा मैले पनि राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)को सचिवको हैसियतले चीन जाने मौका पाएँ । हाम्रो टोलीमा मसहित १४ सदस्यीय फोटो पत्रकारहरू काठमाडौंबाट हिमालय एयरको नियमित उडानबाट चीनको छिन्तायो लाग्यौँ । विमानको झ्यालबाट विश्वको छानो सगरमाथालाई हेर्न चिनियाँ पर्यटक तँछाडमछाड गरिरहेका थिए । म अलि चञ्चले स्वभावको भएको कारणले भाषा नमिले पनि इसारा र अंग्रेजीमा बोल्ने गर्थे । यही क्रममा उनीहरूलाई नेपालका आठ हजारभन्दा माथिका हिमालको तस्बिरहरू (मैले खिचेको) मोबाइलमा देखाउन सुरु गरे । उनीहरूलाई मसँग भएको सगरमाथा, कञ्चनजंघा, मकालु, लोत्सेलगायतको तस्बिर देखाइदिएँ । खुसी हुँदै भन्थे, ‘वाउ हिमालय ।’
मैले देखाएको हिमालको तस्बिर हेरेपछि उनीहरूको प्रश्न हुन्थ्यो, ‘यति राम्रो हिमालय कहाँबाट देख्न पाइन्छ ?’ मेरो जवाफ थियो, ‘मेरो घर रहेको पूर्वी पहाडी जिल्ला भोजपुरबाट । जहाँ छ, सुन्दर मुन्दुम पदमार्ग । यहाँबाट सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्सेलगायत आठ हजार मिटरभन्दा अग्ला ६ वटा हिमाल देख्न सकिन्छ ।’
मेरो जवाफ सुनेर चिनियाँहरू मुन्दुम पदमार्गबारे जान्न उत्साहित भए । आपसमा विच्याटमा जोडियौँ । मसँग भएको केही हिमालको तस्बिर फोनमा एडप गरिदिएँ । उनीहरूले खुसी हुँदै भने, ‘सेसे ।’ अहिले तिनै चिनियाँहरूले सोधिरहन्छन्, ‘तिम्रो गाउँ कहिले लैजान्छौ ?’
फोटो प्रदर्शनीमा नेपालका विभिन्न मिडियामा काम गरिरहेका फोटो पत्रकारले खिचेका पर्यटन, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिब एक सय तस्बिर समावेश थिए । प्रदर्शनी सान्तोङ प्रान्तका विभिन्न सहरमा आयोजना भएका थिए । प्रर्दशनीमा मेरा चारवटा तस्बिर समावेश थिए । भोजपुरको साल्पासिलिछो गाउँपालिकास्थित सिलिचो (४१५३ मिटर उचाइ)मा क्रिकेट खेल्दै गरेको तस्बिर, साकेला नाँच्दै गरेको, नेपाली कागज बनाउँदै गरेको र सगरमाथाको तस्बिर समावेश थियो ।
किराँती संस्कृति र चिनियाँ
किराँत संस्कृतिका कारण पनि चिनियाँहरूसँग म अझै नजिक बनेँ । चिनियाँहरूको कतिपय सांस्कृतिक परम्परा, रहनसहन तथा रीतिरिवाज किरात राई समुदायसँग मिल्दोजुल्दो रहेछ । मैले नेपालबाट लगाएर गएको चिन्डो, पेचुरी र धजुरीको झुप्पोले उनीहरूलाई तानेको थियो । उनीहरूले बढो प्रेम र चासोका साथ यी कुरा हेरेका थिए ।
कुराकानीका क्रममा थाहा पाएँ कि चिनियाँका लागि पनि चिन्डो (सेन्दोङ चिनियाँ भाषामा)ले सांस्कृतिक महत्व बोकेको रहेछ । जसरी नेपालको पूर्वी पहाडका राई, लिम्बूहरूको शुभकार्यमा चिन्डो नभई हुँदैन । राई लिम्बूहरूले चिन्डोमा रक्सी, जाँड राखेर शुभकार्यमा प्रयोग गर्छन् ।
चिनियाँले संग्रहालयलगायत जुनसुकै महत्वपूर्ण स्थानमा चिन्डो सजाएर, संरक्षण गरेर, पर्यटकलाई चिनाउन र बुझाउन राखेका छन् । नेपालका किरात समुदायले चाडपर्व, विवाह, शुभकार्यलगायत सुँगुरको मासु प्रयोग गर्छन् । यस्तै चिनियाँले पनि प्रयोग गर्ने रहेछन् ।
अभूतपूर्व चीन अकल्पनीय विकास
एक सय ४१ करोड २० लाख जनसंख्या रहेको चीन विश्वको सबैभन्दा शक्ति सम्पन्न राष्ट्र बन्ने दौडमा छ । चिनियाँहरू माओलाई राजनीतिक परिवर्तन, देङलाई आर्थिक क्रान्ति र सीलाई उदारवादी अर्थव्यवस्थाका नायक मान्ने गर्छन् । १० दिने चीनको सेन्दोङ प्रान्तको विभिन्न सहर घुम्दा कतै पनि असहज भएन । हामी कुरा मात्रै गर्छौं, चिनियाँहरू काम गरेर देखाउँछन् ।
विशाल चीनमा जनवादी क्रान्तिपश्चात् माओत्से तुङले कम्युनिस्ट शासन व्यवस्था सुरु गरे । सन् १९४९ मा माओबाट सुरु भएको समाजवादी यात्रामा देङ सियाओ पिङ र वर्तमान राष्ट्रपति सी जिनपिङसम्म आउँदा कृषि उत्पादन, औद्योगिक र प्रविधिमा चीनको क्रान्ति चामत्कारिक, अभूतपूर्व र अकल्पनीय छ ।
हरेक पार्कमा वाटर फाउन्टेन राखिएको छ । उमेर समूहअनुसार शारीरिक व्यायामका लागि उपकरण राखिएका छन् । वृद्धवृद्धाका लागि विश्रामस्थान, बालबालिकाका लागि अलग्गै चिल्ड्रेन पार्क, हरेक पार्कमा विद्युतीय प्रविधिबाट प्रशोधन हुने स्वच्छ पिउने पानी, सुविधायुक्त शौचालय, कपाल काट्ने सैलुन र औषधि पसल छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी र चीनलाई सी जिनपिङ नेतृत्व गरिरहेका छन् । राष्ट्रपति सीले नेता माओपछि विश्वमञ्चमा चीनको स्थान सबैभन्दा उचाइमा पुर्याएका छन् । सन् २०५० सम्म चीनलाई संसारकै सबैभन्दा विकसित र सभ्य मुलुक बनाउने सीको संकल्प र सपना छ । सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले पुरानो रेशम मार्गलाई आजको आर्थिक विकाससँग जोड्ने घोषणा गरे । सीको त्यही संकल्प र सपनालाई ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ भनिएको छ । यो बहस अहिले विश्वको केन्द्रमा छ । ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ निर्माणसम्बन्धी एउटा त्यस्तो सञ्जाल हो, जसमा १५० भन्दा बढी देश, विभिन्न संघ–संगठन समावेश भएका छन् । १३ हजारभन्दा बढी परियोजना कार्यान्वयनमा छन् । एक्काइसौँ शताब्दीकै ठुलो मानिएको यस परियोजना सीको सपना र संकल्पसँग जोडिएको छ ।
चिनियाँहरू सन् २०४० लाई विकास निर्माणको उत्कर्ष बिन्दु मानेर बढिरहेका छन् । उनीहरू भन्छन्– हाम्रो लक्ष्य सन् २०४० हो । यो साल चिनियाँ कम्युनिस्ट पार्टीको एक सय वर्षको यात्रा पूरा गर्ने वर्ष हो । आज दुनियाँले बढो कुतूहलसाथ हेरिरहेको विषय हो, चीन अहिले नै यति भव्य छ, २०४० मा कस्तो होला ? इतिहासमा देङ सियाओ पिङ, जियाङ जेमिन, हु जिन्ताओले देखाएको बाटो र उज्यालो आजको भव्य चीनको आधार हो ।
नेपाल र चीनबिच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै प्रगाढ सम्बन्ध रहिआएको छ । दुई देशले द्विपक्षीय कूटनीतिक सम्बन्ध, पारस्परिक लाभकारी आर्थिक सहयोग र जनस्तरको घनिष्ठता आदानप्रदानमा निरन्तर प्रगति गरेका छन् । १२ मे २०१७ का दिन चीन र नेपाल सरकारबिच ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका वेलामा नेपाल–चीनबिच ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षरसमेत भएको छ । बेइजिङमा भएको सम्झौता पत्रमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपाध्यक्ष ली सुसेले हस्ताक्षर गरेका थिए । योसँगै बिआरआई कार्यान्वयनमा जानेछ ।
फ्रेमवर्कभित्र विभिन्न १० परियोजना समावेश भएका छन् । जसमा टोखा–छहरे टनेल, हिल्सा–सिमिकोट सडक योजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं रेलमार्ग, अमरगढी सिटी हल प्रोजेक्ट, जिलुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारणलाइन, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर र साइन्स म्युजियम, चीन–नेपाल औद्योगिक पार्क दमक र झापा स्पोर्टस् एन्ड्स एथलेटिक्स कम्प्लेक्स छन् । यो योजना सन् २०४९ सम्ममा पूरा गर्ने उद्देश्य छ । चीनले यस महायोजनामा अरू देशलाई पनि समावेश गर्न आह्वान गरेको छ ।
कसरी जोड्ने चीन र नेपाल ?
नेपालको उत्तरी सिमानाका विभिन्न नाकालाई चीनसँग जोड्न आवश्यक छ । रसुवाको केरुङ, संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुङगोला र सिन्धुपाल्चोकको तातोपानीदेखि लिएर पश्चिममा मानसरोवर जाने बाटोसम्मै सडकको विस्तार र विकास गर्न सक्यौँ भने चिनियाँ बजारसँग जोड्न सकिन्छ ।
नेपालको रेल, हाइड्रो, सुरुङ मार्ग, पुल र सडक मार्गमा चिनियाँ प्राविधिक सहयोग आवश्यक छ । हामीले कम्तीमा नेपाललाई आधुनिक चीनसँग जोड्न सक्यौँ भने चीन विश्वशक्ति बन्दा नेपालले नाफा लिन सक्छ ।
सन् २०२४ (विसं. ०८१) मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । १६ पुस ०८१ सम्मको तथ्यांकअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका थिए । यो सन् २०२३ को तुलनामा १४ प्रतिशतले बढी हो ।
सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो । राष्ट्रसंघीय विश्व पर्यटन संगठन युएनडब्लुटिओको पछिल्लो ६ महिनाको तथ्यांकअनुसार कोभिड–१९ पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय बेलुन महोत्सव, ड्रागन बोट रेस महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि नेपालमा पर्यटन आगमनमा बढोत्तरी भएको छ । यही गतिमा बढ्दै गए आर्थिक वर्ष ०८२/८३ मा १६ लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा हुन गाह्रो छैन । पछिल्लो तथ्यांक हेर्ने हो भने पनि नेपाल भ्रमण गर्ने भारत, अमेरिकापछि छिमेकी चीन तेस्रो स्थानमा छ ।
चीनबाट के सिक्ने ?
भारत र चीन सन् १९५० को हाराहारीमा स्वतन्त्र भएका हुन् । यी दुई देश विज्ञान तथा प्रविधि विकासमा धेरै अघि बढिसकेका छन् । तुलनात्मक रूपमा नेपाल भने सबैजसो विकासका अवयवमा पछि छ । बुझ्नुपर्ने कुरा के रहेछ भने विकासलाई समग्रतामा हेर्नुपर्छ । कुनै एक पक्षले गरेर मात्र पनि हुने होइन । यसका लागि राजनीति नेतृत्व, शासन प्रणाली, स्वयं जनता पनि विकासको मूलधारमा आउनुपर्छ । चीनको विकासमा यी सबैको भूमिका देखिन्छ । नेपालले चीनबाट यस्ता धेरै कुरा सिक्नुपर्नेछ । छिमेकी भएका कारण मात्रै नभई हामीले सफलताका कोणबाट पनि चिनियाँ मोडल सिक्न जरुरी छ ।
फोटो प्रदर्शनी र विभिन्न ठाउँ डुल्ने क्रममा चीनले गरेको विकास निर्माण व्यवस्थापन, आयोजना सञ्चालनको अवधारणा र परिचालनलगायत विषयमा अध्ययन गर्ने मौका पायौँ । विशेषगरी हरेक सहर, बस्ती, सडकको अब्बल व्यवस्थापन गरिएको अनुभव भयो ।
राष्ट्र कति धनी छ भन्दा पनि जनता कति धनी र सुखी छन् भन्ने कोणबाट हेरेर चिनियाँ सफलताबाट सिक्न जरुरी छ । छिमेकी भारत पनि धनी छ । मुकेश अम्बानी र गौतम अदानी उनीहरूकै पथमा हिँडेका धनाढ्यको सम्पत्तिका भरमा लिएको प्रतिव्यक्ति आयबाट मूल्यांकन गरिएको छ । तर, चिनियाँ मोडलले जनताको लेभललाई लिएर त्यहाँको आर्थिक तथा सामाजिक र राजनीतिक सफलता बुझ्न सकिन्छ । नेपालले स्वाभाविक रूपमा चीन र भारतलाई तुलना गरेर नै देशको अर्थतन्त्र, समाज र राजनीतिको मोडल विकास गर्नुपर्छ र स्थापित गराउनुपर्छ ।
चीनको प्रविधि हाम्रो कल्पनाबाहिर छ, अहिलेको चीनको अवस्थामा पुग्न हामीलाई वर्षौं मात्र होइन, दशकौँ लाग्छ । चीनले ओलम्पिक खेलको उद्घाटन समारोहमा आकाशबाट परेको पानी रोकेको, चुच्चे रेल, नागबेलीझैँ सांघाईको फ्लाइओभर, नक्कली सूर्य बनाएर चमत्कार देखाइरहेको मात्र छैन, हरेक क्षेत्रका तथ्यांक अद्यावधिक गर्ने गरेको छ । कृषि, उद्योग, व्यापारलगायत क्षेत्रका तथ्यांक अद्यावधिक छन् । हरेक संग्रहालय, विद्यालयसमेतका डाटा रहेछ ।
१० दिनको घुमाइमा देखेको चिनियाँ नागरिकको अनुशासन अनुकरणीय छ । सेन्दोङको विभिन्न सहर र पर्यटकीय एवं ऐतिहासिक स्थल, औद्योगिक क्षेत्र, विभिन्न म्युजियमको अवलोकनमा सफा र सुविधायुक्त शौचालय, कुशल व्यवस्थापनले मन लोभ्याउँथ्यो । न माग्नेहरू, न त ठगहरू नै । छाडा गाईगोरु वा कुकुर पनि कहीँ कतै देखिएनन् । सार्वजनिक शौचालय निःशुल्क छन् ।
फोटोले जोडिएको सम्बन्ध
द लिविङ रोड लाइन, बिनझाउ अन्डरवाटर वर्ल्ड, बिन्झाउ सिटी आर्ट म्युजियम, बिन्झाउ हाई टेक हाई स्कुल, कन्फ्युसियस म्युजियम, कन्फ्युसियस टेम्पल, कोङ परिवारको महल, कुफु सहर, जिनान सहरको ड्यामिङ लेक, कुसुइटिङ स्ट्रिट, फुरोंग सड़क, जिनान सहरको लिवरेसन प्याभिलियन । बाओटु स्प्रिंग बगैँचा, क्वानचेंग स्क्वायर, मुक्ति मण्डप, मे फोर्थ स्क्वायर, ओलम्पिक सेलिङ केन्द्र, लाइट सो छिन्ताओ सहरसम्म पनि पुगेका थियौँ ।
त्यसैगरी क्वान्चेंग स्क्वायर, बओटु स्प्रिंग वाटर गार्डेन, फाइभ ड्रागन पुल, ड्यामिङ लेक, कुसुइटिंग स्ट्रिट, फुरोंग स्ट्रिटमा पनि गयौँ । अन्तिम दिनमा लिटिल फिस हिल पार्क, नेभी म्युजियम, किन्यु रोड, झाँकियाओ पियर आदि ठाउँको अवलोकन तथा भ्रमण गरी फोटोहरू खिच्यौँ ।
२८ मंसिरमा विन्जाओमा फोटो प्रदर्शनी गर्ने क्रममा सान्तोङ प्रान्तका पूर्व उपप्रचारमन्त्री ह्वाङ्जी चुनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विन्जाओका परराष्ट्र मामिला निर्देशक पाइमिईले फोटोग्राफीमार्फत नेपाल–चीनको मैत्री सम्बन्ध बलियो बनाउनुका साथै चीनको वान बेल्ट वान रोडको अवधारणालाई पनि सहयोग पुग्ने बताए ।
एनएफपिजे नेपाल र चीनको सान्तोङ प्रान्तस्थित विन्जाओ मिडिया ग्रुपबिच सांस्कृतिक तथा व्यावसायिक फोटो पत्रकारितामा मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने समझदारी उपलब्धिमूलक रह्यो । एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त र विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओ जिङ्युआनबिच समझदारीपत्र आदानप्रदान भएको थियो ।
समझदारीले राष्ट्रिय फोटोपत्रकार समूह र विन्जाओ मिडिया ग्रुपबिच फोटो, भिडियो, समाचार आदानप्रदान गर्ने र व्यावसायिक क्षमता विकासका लागि सहकार्य गर्ने सम्झौता पनि भएको छ ।
भनिन्छ नि एक तस्बिरले एक हजार शब्द बोल्छ । तस्बिरविना पत्रकारिता अधुरो हुन्छ । हामीले तस्बिरबाट विश्वका विकसित देशलाई जोड्न सकिन्छ, जसका कारणले नेपाल र चीनबिचको सांस्कृतिक आदानप्रदानमा फोटोले महत्वपूर्ण भूमिका प्रदान गरेको छ ।
नेपाल र चीनबिचका फोटो पत्रकारले खिचेका सांकेतिक तथा पर्यटनसम्बन्धी फोटो प्रदर्शनी एवं अन्तरक्रिया गर्न पाउनु हाम्रा लागि महत्वपूर्ण रह्यो । नेपालबाट पहिलोपटक यसरी संयुक्त रूपमा चीन पुगेका १४ जना फोटो पत्रकारको यो भ्रमण अविस्मरणीय रहन गएको छ । भ्रमणमा नेपाल चाइना फोरमका अध्यक्ष कल्याणराज शर्मा र चिनियाँ फोटोग्राफर सु सोयको महत्वपूर्ण भूमिका थियो ।
दुई देशका यति ठुलो संख्याका फोटो पत्रकार साथीहरूलाई एकै ठाउँमा जम्मा भएर यसप्रकारको हाम्रो व्यावसायिक अन्तरक्रिया गर्ने महत्वपूर्ण अवसर जुटाइदिने चीन सरकारलाई पनि व्यक्त गर्न चाहन्छु । दुई देशबिचको सरकारबिचको सम्बन्ध त छँदै छ, यस्ता कार्यले जनताका बिचमा पनि राम्रो सम्बन्ध विस्तार हुने अपेक्षा गर्न सकिन्छ ।
(राई राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)का सचिव हुन्)