
अभिव्यक्तिको सर्वाेत्तम माध्यम हो, भाषा । भाषा खेलाउने सामथ्र्य नै भाषिक कला हो । प्रायः सिर्जनात्मक र साहित्यिक लेखनमा भाषिक कलाको रोमाञ्चक खेल खेल्न सकिन्छ । कुनै कुरालाई सोझै नभनी बढाइ–चढाइ वा घुमाइभन्दा त्यो साहित्यिक वा कलात्मक अभिव्यक्ति बन्न सक्छ । यही भाषिक खेलका अनेक सैद्धान्तिक एवं व्यावहारिक तौरतरिकालाई रोचक ढंगले पस्किएको पुस्तक हो– भाषिक कला, सिर्जनात्मक लेखन तथा सम्पादन ।
लेखक दीपक नेपालले करिब एक दशक लामो साहित्यिक लेखन, सम्पादन तथा अध्ययनको अनुभवका आधारमा खारिएरै यो पुस्तक तयार गरेका हुन् । सम्पादन हाउसमार्फत साहित्यिक कृतिको सम्पादन, परिमार्जन, प्रकाशनमा उनीसँग जोडिएर सँगसँगै काम गर्दाका कैयौँ व्यावहारिक अनुभव, अप्ठ्यारा र सिकाइ मसँग पनि ताजै छन् । र, ‘भाषिक कला’ केवल भाषिक सम्पादनका लागि मात्र नभएर विषयवस्तु सम्पादन, घोस्टराइटिङ (छाया लेखन), सिर्जनात्मक लेखन कौशलका साथै विधातत्व, पूर्वीय साहित्य समालोचकीय तत्व– रस, अलंकार, लय, शब्दशक्ति आदिको सांगोपांग सोदाहरण परिचयसहित आएको छ । तसर्थ, नेपाली भाषा–साहित्यका विद्यार्थी, लेखक, सम्पादक, पत्रकार आदिका लागि उपयोगी देखिन्छ ।
साहित्य कलामा प्रायः सबैको रुचि हुन्छ । तर, सबैले साहित्य लैख्न सक्दैनन् । भावना, अनुभव, भोगाइ, विचार, तर्क, अभिव्यक्ति सबैभित्र हुन्छ । तर, सबैमा साहित्यिक भाषामा ढाल्ने क्षमता र दक्षता हुँदैन । राम्रो लेखन, मिठो र प्रभावशाली भाषा, अरूभन्दा फरक शैली आदि रहर सबैको भए पनि त्यो पूरा गर्न चुकिरहेकै हुन्छन् । तसर्थ, लेखनमा निरन्तर सुधार, परिमार्जन र सम्पादन जरुरी हुन्छ । आफैँले पनि पटक–पटक पुनर्लेखन तथा सम्पादन गर्न सकिन्छ । पछिल्लो समय दक्ष, अनुभवी सम्पादकमार्फत सम्पादन गराउने व्यावसायिक चलन बढ्दो छ । यसका लागि भाषागत तथा विधागत ज्ञान, कौशल एवं सम्पादकीय सीप चाहिन्छ । यी सबै कुरालाई सिलसिलेवार प्रस्तुत गरिएको यस पुस्तकमा चार खण्ड र एक परिशिष्ट रहेको छ ।
पहिलो खण्डमा साहित्य लेखनसम्बन्धी विविध विषय छन् । लेखन कला, साहित्यिक भाषा, लेख्दा ध्यान दिनुपर्ने कुरा, लेखक बन्ने उपाय र सीमा, साहित्यका अवयवको परिचय र प्रयोग, विधागत परिचय र लेख्ने तरिका आदि विषयको प्रस्तुति यस खण्डमा छ । दोस्रो खण्ड हो–सम्पादन कला, जसमा सम्पादनको आवश्यकता, प्रयोग, सीमा र प्रकार, सम्पादन गर्दा ध्यान दिनुपर्ने पक्ष र विधागत सम्पादन रहेका छन् । पुस्तकको सार यी दुई प्रमुख खण्डमै केन्द्रित छ । आधुनिक समयमा लेखक हुनका लागि आफैँ लेख्नुपर्ने मान्यता अर्थहीन भइसकेको छ । छायालेखन अर्थात् घोस्टराइटिङ नेपाली साहित्यमा समेत मौलाउँदो छ । आफ्ना भावना, भोगाइ, अनुभव, विचार टिपाएर कृति तयार पार्ने काम छायालेखन हो । पुस्तकको तेस्रो खण्डमा यसैबारे विस्तृत चर्चा छ । चौथो खण्डमा लेखक र सम्पादक तथा तिनीहरूबिचको सम्बन्ध, कस्तो सम्पादक छान्ने र सम्पादकमा हुनुपर्ने गुण वा क्षमतालगायत विषय रहेका छन् । परिशिष्ट खण्डमा विधातत्व र साहित्यका मुख्य तत्व, नेपाली साहित्यका केही आन्दोलन तथा लेख्यचिह्नको संक्षिप्त परिचय रहेको छ ।
अभिव्यक्ति कौशल, सिर्जनात्मक लेखन तथा सम्पादनबारे गहन एवं विस्तृत हिसाबले लेखिएका पुस्तकको अभाव देखिएको वर्तमान समयमा यस पुस्तकले अलग्गै स्थान राख्नेमा दुईमत छैन । किनभने, यो न कोरा सैद्धान्तिक ढर्राको पुस्तक हो, न त मनगढन्ते । सिद्धान्त, व्यवहार, अनुभव, तर्क र मौलिक एवं सरल प्रस्तुतिको कुशल संयोजनका कारण यो कृति सबैका लागि बहुउपयोगी बनेको छ ।