
चालू आर्थिक वर्ष ०८१/८२ मा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने सरकारी लक्ष्य पूरा नहुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले समष्टिगत अर्थतन्त्रको अध्ययन गरेर यो वर्ष आर्थिक वृद्धि ४.६१ प्रतिशतले हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेसँगै सरकारी लक्ष्य पूरा नहुने देखिएको हो ।
कमजोर बजेट कार्यान्वयन र वर्षाको कमीले हिउँदे बालीको उत्पादन खस्किएकाले लक्ष्यअनुसार आर्थिक वृद्धिदर हासिल गर्न नसकिने देखिएको कार्यालयले जनाएको छ ।
मधुसुदन बुर्लाकोटी प्रमुख तथ्यांक अधिकारी
विगत ६ देखि आठ महिनाको तथ्यांकलाई आधार बनाएर बाँकी दिनमा कुनै अवरोध उत्पन्न नहुने अवस्थालाई आकलन गरेर आर्थिक वृद्धिदर अनुमान गरेका हौँ । भविष्यमा कस्ता घटना होलान् भनेर आकलन गर्न सकिँदैन ।
सरकारको लक्ष्यको तुलनामा कमजोर आर्थिक वृद्धिदर हुने भए पनि गत हासिल भएको ३.६७ प्रतिशतको वृद्धिको तुलनामा भने सुधारको अवस्था हो । तथ्यांक कार्यालयका अनुसार चालू आवमा अर्थतन्त्रको आकार ४.६१ प्रतिशतले बढेर ६१ खर्ब सात अर्ब पुग्ने अनुमान छ । गत आर्थिक वर्ष ०८०/८१ मा जिडिपीको आकार ५७ खर्ब नौ अर्ब थियो । त्यसअघि आव ०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब थियो । यो वर्ष एसियाली विकास बैंकले भने ४.४ प्रतिशत र विश्व बैंकले ४.९ प्रतिशतसम्म वृद्धिदर कायम रहने अनुमान सार्वजनिक गरिसकेका छन् ।
केन्द्रीय तथ्यांक कार्यालयको यो अनुमान राष्ट्रिय लेखाका स्थिर मूल्यका अनुमान आर्थिक वर्ष ०६७/६८ को मूल्यमा आधारित छन् । त्यसैगरी, आर्थिक वृद्धिदर मापन गर्नको लागि स्थिर मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादन प्रयोग गरिएको छ । जसअनुसार, चालू आर्थिक वर्ष ०८१/८२ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.९९ प्रतिशत र उपभोक्ताको मूल्यमा ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।
चालू आर्थिक वर्ष ०८१/८२ मा कृषि क्षेत्रको ३.२८ प्रतिशत र गैरकृषि क्षेत्रको ४.२८ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान छ । विकसित देशरूमा पनि अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान घट्दै जाने र गैर कृषि क्षेत्रको योगदान बढ्नै जाने हुँदा कृषि क्षेत्रको वृद्धिदर घट्नु स्वाभाविक मान्नुपर्ने प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले बताए । उनले भने, ‘हामीले विगत ६ देखि आठ महिनामा उपलब्ध तथ्यांकलाई आधार बनाएर बाँकी दिनमा कुनै अवरोध उत्पन्न नहुने अवस्थालाई आकलन गरेर आर्थिक वृद्धिदर अनुमान गरेका हौँ । भविष्यमा के–कस्ता घटना हुन सक्छन् भनेर आकलन गर्न सकिँदैन । सामान्य अवस्था रह्यो भने यतिसम्म आर्थिक वृद्धिदर हुन सक्छ भन्ने हाम्रो अनुमान हो । त्यसैले यसलाई प्रारम्भिक अनुमान भनेका छौँ ।’
कुन क्षेत्रको वृद्धिदर कति ?