
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कञ्चनपुर पुगेका छन्। पूर्वी नेपालको झापादेखि सुरु भएको माओवादी केन्द्रको अभियान पश्चिम नेपाल कञ्चनपुर पुगेको हो।
हुलाकी राजमार्गकेन्द्रित माओवादीले जनतासँग माओवादी तराई–मधेश जनजागरण अभियानअन्तर्गत सुप प्रदेश (कैलाली–कञ्चनपुर)मा अभियान सञ्चालन गर्न लागेको थियो। मंगलबार कञ्चनपुर पुगेका प्रचण्डलाई पुनर्वास नगरपालिकाले सम्मान गरेको थियो। बुधबार मर्निङ वाक गरेर पुनर्वास, बेलौरीका सहिद परिवारसँग भेटघाट एवं सम्मान गरिएको छ।
जनयुद्धमा ज्यान गुमाएका स्व. पुष्कर शर्माकोे घरमा प्रचण्ड बसेका हुन्। शर्मासँगै उनका कान्छा छोरा हेमराज शर्माले ज्यान गुमाएका थिए। जनयुद्धमा श्रीमान् र छोरा गुमाएकी खिमा शर्माले अध्यक्ष प्रचण्ड आफ्नो घरमा बास बसेपछि खुसी व्यक्त गर्दै सहिदले देखाएको सपनाअनुरूप देश र जनताको हितमा काम गर्न आग्रह गरिन्।
प्रचण्डले बेलौरी नगरपालिका ५ स्थित रामगर खानेपानीको उद्घाटन, शोभातालको अवलोकन गरेका छन्। पार्टी अध्यक्ष प्रचण्डलाई बेलौरी नगरपालिकाले स्वागत एवं सम्मान गरेको छ। बेलौरी नगरका मेयर पोतीलाल चौधरीले पूर्वप्रधानमन्त्रीलाई सम्मानका साथै समग्र बेलौरीका समसामयिक समस्याबारे ज्ञापनपत्र बुझाएको बताए।
नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले पार्टीको हुलाकी राजमार्ग केन्द्रीय अभियानको समापन कञ्चनपुरमै हुने भएकाले अभियान सफल पार्नका लागि नेता कार्यकर्ताहरूलाई दिएको जिम्मेवारीअनुरूप खटिएको बताए। ‘अहिले अभियान टोली पुनर्वास, बेलौरी सकेर बेलडाँडी पुगेको छ, ‘उनले भने, ‘केहीबेरमा बेदकोट हुँदै भीमदत्त नगर पुगेर सभा गरेर समापन गरिनेछ।’
अभियानले पार्टी र जनताको हित गर्ने भन्दै नेता कार्यकर्ताहरू आफूलाई पाएको जिम्मेवारी युद्धस्तरमा निर्वाह गरिरहेका छन्। हुलाकी राजमार्गकेन्द्रित अभियान सकेरपछि मध्य पहाडी मार्गमा समेत सञ्चालन गरिनेछ।