
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले दुईतिहाइको सरकार जनताका असन्तुष्टि सम्बोधनमा चुकेको टिप्पणी गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै पुनले कर्मचारीको बर्खास्तीमा शक्ति खर्चिने सरकारले सडकबाट उठेका आवाज नसुनेको बताए।
सडक आन्दोलनमा रहेका शिक्षक, चिकित्सक, भूमिहीन, मिटरब्याजपीडितलगायतको माग सम्बोधन गर्नुको सट्टा शक्तिशाली सरकारले शिक्षामन्त्री र उपकुलपतिलाई राजीनामा गर्न बाध्य पारेको उनको भनाइ छ।
‘सडक आन्दोलित छ। शिक्षकहरू तीन साताभन्दा बढी समयदेखि राजधानीका सडकमा छन्। भूमिहीन, मिटरब्याजपीडित, आवासीय चिकित्सक सबै आफ्ना आवाज सडकमा उठाइरहेका छन्। तर, दुईतिहाइको भनिएको शक्तिशाली सरकार त्यो केही पनि देख्दैन, सुन्दैन। उल्टै शिक्षकहरूको माग सम्बोधनका लागि सकारात्मक पहल गरेका आधारमा शिक्षामन्त्रीलाई राजीनामा गर्न बाध्य पारिन्छ। मेरिटोक्रेसीको आधारमा नियुक्त त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई काम गर्न नदिएर राजीनामा गराउने कार्यमा सरकार देखिन्छ,’ उनले भने।
मुलुकमा लोडसेडिङ युगको अन्त्य गर्न भूमिका खेलेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्न सरकारले शक्ति खर्च गरेको भन्दै सांसद पुनले भने, ‘तर, मुलुकको अर्थतन्त्र सुधार, रोजगारी सिर्जना, जनताका जायज आवाज र असन्तुष्टिको सम्बोधनमा सरकार कतै देखिँदैन।’