१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 04 May, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format ११:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गोरखा भूकम्पको एक दशक : सम्पदा पुनर्निर्माण आधा नै बाँकी

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:५o:oo

१५ सय सम्पदामा क्षति पुगेकामा विश्व सम्पदा सूचीमा परेका २४ सहित ६८५ अझै बनेनन्, हालसम्म सवा सात अर्ब खर्च 

१२ वैशाख ०७२ को भूकम्पमा एक हजार पाँच सय सम्पदामा क्षति पुगेको थियो । तर, पुनर्निर्माणको सूचीमा परेका ती सम्पदामध्ये आधाजसो अर्थात् विश्व सम्पदा सूचीमा परेका २४ सहित ६८५ अझै बनेका छैनन् । ८१५ सम्पदा मात्रै पुनर्निर्माण भएका छन् । पुरातत्व विभागका अनुसार बजेट र जनशक्ति अभावका कारण पुनर्निर्माण सकिएको छैन ।

‘अझै महत्वपूर्ण सम्पदाहरू बन्न बाँकी छन्, त्यसमा तीन सयहाराहारी त गुम्बा छन् । विश्व सम्पदा सूचीमा परेका २४ सम्पदाको पनि काम नै सुरु भएको छैन,’ विभागकी महानिर्देशक सौभाग्य प्रधानांगले भनिन्, ‘बजेट र जनशक्तिको अभावका कारण समयमा काम नसकिएको हो ।’ उनका अनुसार हाल तीन सय सम्पदा पुनर्निर्माण भइरहेका छन् ।

विश्व सम्पदा सूचीमा परेका १३३ सम्पदाको पुनर्निर्माण सकिएकोमा १७ सम्पदा निर्माणाधीन छन् । पशुपति क्षेत्रभित्रका २०, हनुमानढोका क्षेत्रभित्रका तीन र चाँगुनारायण क्षेत्रमा एउटा सम्पदाको पुनर्निर्माण नै थालिएको छैन । कतिपय सम्पदा क्षतिको जानकारी ढिला आएकाले पुनर्निर्माण पनि ढिला भएको प्रधानांगको दाबी छ । ‘हामीले भूकम्पलगत्तै अध्ययन गरेर एउटा तथ्यांक तयार पारेका थियौँ, तर पछि क्षतिग्रस्त सम्पदाको संख्या थपियो, त्यसैले छोटो समयमा सकिने कुरा भएन । सम्पदा पुनर्निर्माण अन्य घर वा भवनजस्तो सहज पनि छैन ।’

ऐतिहासिक भवनहरू त्रिचन्द्र कलेजपरिसर र घडी स्तम्भको पुनर्निर्माण पनि सुस्त छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजक उपनिर्देशक अविनाश श्रीवास्तवले यस क्षेत्रमा पुनर्निर्माणका लागि ३६ करोड ४० लाख लागत लाग्ने अनुमान गरिएको बताए । घण्टाघरको त काम नै सुरु भएको छैन । हालसम्म सम्पदाहरू पुनर्निर्माणमा सात अर्ब २० करोड ६ लाख खर्च भएको विभागले जनाएको छ । 

हालसम्म पुनर्निर्माण हुन नसकेका सम्पदा

  • ढुंगाको विष्णु मन्दिर, हनुमानढोका
  • धुन्न सत्तल, साँखु
  • तलेजु मन्दिर र पार्टी, साँखु
  • कम्पुकोट (पर्खाल), हुनमानढोका
  • झ्युछें सत्तल (देवता राख्ने घर), साँखु
  • जगन्नाथ मन्दिर, भक्तपुर
  • जगन्नाथ मन्दिर, दरबार क्षेत्र, भक्तपुर
  • रामजानकी मन्दिर, हनुमानघाट परिसर, भक्तपुर
  • बिरामी राख्ने सत्तल, भक्तपुर
  • चाँगुनारायणपरिसरका सत्तलहरू, भक्तपुर
  • बाराही सन्न्यास आश्रम तथा सत्तल, भक्तपुर
  • चुच्चे घाटहरू, भक्तपुर
  • लालबैठक, भक्तपुर दरबारस्क्वायर 
  • पुलिस हाउस, भक्तपुर दरबार क्षेत्र
  • नाला भगवती मन्दिर, काभ्रेपलाञ्चोक 
  • ऐतिहासिक ढोकेपाटी, काभ्रेपलाञ्चोक
  • महालक्ष्मी मन्दिर, काभ्रेपलाञ्चोक 
  • गैरापार्टी नमोबुद्ध, काभ्रेपलाञ्चोक
  • कश्वेश्वर महादेव मन्दिर, काभ्रेपलाञ्चोक
  • देवता राख्ने घर, काभ्रेपलाञ्चोक 
  • हरिसिद्धि मन्दिर, काभ्रेपलाञ्चोक 
  • कालिन्चोक मन्दिर र अन्य सम्पदा, काभ्रेपलाञ्चोक
  • नर्वदेश्वर मन्दिर, रामेछाप 
  • केवलेश्वर महादेव मन्दिर, रामेछाप 
  • विश्वेश्वर महादेव, गोरखा
  • दुधनाथ महादेव मन्दिर, धादिङ
  • रुरु क्षेत्रमा रहेका सम्पदा, पाल्पा
  • सप्तेश्वर पौवा, पाल्पा 
  • चारपाला दरबार, गुल्मी
  • अर्घा दरबार, अर्घाखाँची