
स्ट्राइकर जिलेस्पीजंग कार्कीको निर्णायक गोलप्रेरित नेपालले सिंगापुरलाई पहिलोपटक हराएको छ । शुक्रबार सिंगापुरको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जिलेस्पीले पहिलो हाफमै गरेको गोल निर्णायक बन्यो । नेपालले आफूभन्दा १५ स्थानमाथिको सिंगापुरविरुद्ध १–० को ऐतिहासिक जित निकालेको हो । हाल फिफा वरीयतामा सिंगापुर १६० र नेपाल १७५औँ स्थानमा छन् । कुनै पनि प्रतियोगितामा नेपालले सिंगापुरलाई हराएको यो नै पहिलोपटक हो । नेपालले ३६ वर्षपछि सिंगापुरसँग खेलेको थियो । यता, नेपाली टिमको यो लगातार दोस्रो जित पनि हो । यसअघि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमै अफगानिस्तानलाई २–१ ले हराएको थियो ।
यो जितसँगै नेपाली पुरुष राष्ट्रिय टिमलाई पहिलो खेल खेलाइरहेका अस्ट्रेलियन नागरिक म्याट रसले सुखद सुरुवात गरेका छन् । उनले आफ्नो पहिलो खेलमा रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरीलाई पनि डेब्यु गराए । उनले वाचाअनुसार नै नेपाली टिमलाई आक्रामक खेलाएर जित निकाल्न सफल भएका छन् । अब, नेपालले मंगलबार एएफसी एसिया कप छनोटमा मलेसियासँग खेल्ने तालिका छ ।
३६ वर्षपछि भेट
पुरुष फुटबल टोलीले ३६ वर्षपछि बलियो सिंगापुरसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपाल र सिंगापुरले सन् १९८९ पछि प्रतिस्पर्धा गरेका हुन् । दुई टोलीबिच पहिलोपटक सन् १९८२ मा बैंककमा प्रतिस्पर्धा हुँदा नेपाल २–० ले पराजित भएको थियो । सन् १९८९ मा भएको विश्वकप छनोटमा नेपाल सिंगापुरसँग फेरि ३–० ले पराजित भयो । सन् १९९० मा इटालीमा भएको विश्वकपअन्तर्गत एसियन छनोटमा नेपाल सिंगापुरसँग ७–० ले पराजित भएको थियो ।
१२औँ मिनेटमै नेपालको अग्रता
यसअघि तीन खेलमा १२ गोल व्यहोरेको नेपालले सिंगापुरविरुद्धको चौथो आधिकारिक भेटमा भने १२औँ मिनेटमै अग्रता बनायो । मनीष डाँगीले मैदानको बायाँ भागबाट मिलाएको सुन्दर पासलाई पेनाल्टी बक्सभित्रबाट जिलेस्पीले उत्कृष्ट गोल गरे । ५५ हजार दर्शक क्षमताको रंगशालामा जिलेस्पीको प्रहारलाई सिंगापुरका गोलकिपर इजवान मोहबुदले रोक्नै सकेनन् । प्रशिक्षक रसले जिलेस्पीलाई ७२औँ मिनेटमा बाहिर पठाएका थिए । बाँकी समय सिंगापुरले नेपाललाई दबाबमा राखे पनि नेपालले रक्षापंक्ति बलियो बनायो । गोलकिपर तथा कप्तान किरणकुमार लिम्बूले आधा दर्जनभन्दा बढी प्रहार रोकेका थिए । किरणले वान भर्सेस वानमा पनि सिंगापुरको तीन अवसरलाई गोल हुनै दिएनन् ।
सुमन र सुवासको डेब्यु
पहिलो खेल खेलाइरहेका मुख्य प्रशिक्षक म्याट रसले रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरीलाई डेब्यु गराएका छन् । रसले सुमनलाई प्लेइङ सेटमै मौका दिएका हुन् । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएका सुमनले पहिलो प्रयासमै डेब्युको अवसर पाएका हुन् । उनले ब्रिगेड ब्वाइज क्लबबाट ललित स्मृति यू–१८ युथ लिग जितिसकेका छन् । सुमनले ६० मिनेट मैदानमा बिताएपछि उनको स्थानमा अभिषेक लिम्बू मैदान प्रवेश गरेका थिए ।
सुवासले खेलको ७२औँ मिनेटमा जिलेस्पीकै स्थानमा डेब्यु पाए । नेपाल पुलिस क्लबलाई यू–१८ लिग जिताएका सुवास पहिलो अवसरमै डेब्यु गर्न सफल भएका छन् । सुमन र सुवाससँगै प्रशिक्षक म्याटले गोलकिपर एन्जल श्रेष्ठलाई पहिलोपटक राष्ट्रिय टिममा समावेश गराएका थिए ।
प्रशिक्षक रसले प्लेइङ ११ मा कप्तान किरणकुमारलाई गोलपोस्टको जिम्मेवारी दिएका थिए । रक्षापंक्तिको जिम्मेवारी अनन्त तामाङ, सनिश श्रेष्ठ, रोहित चन्दले पाउँदा मिडफिल्डरमा सुमित श्रेष्ठ, एरिक विष्ट, मनीष डाँगी र आयुश घलानले अवसर पाए । नेपालले अग्रपंक्तिको जिम्मेवारी अञ्जन विष्ट र जिलेस्पीजंग कार्कीलाई सुम्पिएको थियो । दोस्रो हाफमा प्रशिक्षक म्याटले विमल पाण्डे, रोहन कार्की, लोकन लिम्बू, सुवास, अभिषेक, कृतिशरत्न छुन्जू र मणिकुमार लामालाई मैदान पठाएका थिए ।
यो लयलाई निरन्तरता दिनेछौँ : जिलेस्पीजंग कार्की, खेलाडी
गोल गर्न सक्दा एकदमै खुसी छु । मेरो गोलभन्दा पनि सबै टिमले गर्दा जित निकालेको हो । यहाँ उपस्थित सबै समर्थकलाई धन्यवाद दिन चाहन्छु । यो जितको लय कायम राख्न मलेसियासँग खेल्नेछौँ । हामी जित्न नै खेलेका थियौँ । जित निकाल्दा खुसी छौँ । मलेसियासँग यही जोसका साथ खेल्नेछौँ र जित्नेछौँ ।