
यार्सागुम्बा संकलन गर्न हिँडेका एक युवक चिप्लिएर मुगु कर्णाली नदीमा बेपत्ता भएका छन्।
मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँका ४० वर्षीय सेराप साग्बु लामा यार्सा संकलन गर्न बुधबार घरबाट हिँडेका थिए। पाटन क्षेत्र जान लाग्दा नदी पार गर्न राखिएको काठको साँघुबाट चिप्लिएर नदीमा खसेका जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
सिरानी चौरस्थित नदीमाथि राखिएको काठको लाप्को (साँघु)बाट खसेर लामा बेपत्ता भएका मुगुम कार्मारोङ गाउँपालिका उपाध्यक्ष छिरिङ पुटिक तामाङले बताइन्। उनका अनुसार घटना बुधबार राति ८ः३० बजेतिरको हो।
नदीमा बेपत्ता भएका सेरापको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
सर्वसाधारणका लागि मुगुम कार्मारोङ गाउँपालिकाले जेठ १३ गतेबाट यार्सा संकलनका लागि खुला गरेको छ। तर, उनीहरू यार्सा टिप्ने समयअगावै पाटनतिर हिँडेको बुझिएको छ।