१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २ शनिबार
  • Tuesday, 01 July, 2025
२o८१ चैत २ शनिबार २o:३७:oo
Read Time : > 1 मिनेट
सप्तरंग

‘ब्याक टू नाइन्टिज’को दोस्रो अडिसन सकियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २ शनिबार २o:३७:oo

९० को दशकमा उदाएर देश-विदेशमा ख्याती कमाएका सांगीतिक ब्यान्डहरूले सुरु गरेको ‘ब्याक टू नाइन्टिज’ को दोस्रो अडिसन स्याङ्जाको वालिङमा सम्पन्न भएको छ।

२६ माघमा पोखराबाट सुरु भएको ‘ब्याक टू नाइन्टिज’को दोस्रो अडिसनमा ९० को दशकमा उदाएर ख्याती कमाउन सफल डी–मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्याह्न र भेगाबोन्ड ब्यान्डका गायकहरूले आ-आफ्नो प्रस्तुति राखेको थिए। ‘प्रथम पिंक सिटी महोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा १० हजारभन्दा बढी दर्शक सहभागी थिए। 

सुषुप्त अवस्थामा पुराना सांगीतिक ब्यान्डहरूको पुनर्जागरण र नयाँ पुस्तालाई संगीतमा लागेरसमेत भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिँदै पोखरालाई रिब्रान्डिङ गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने, गीत, संगीतमार्फत निराशा निवारण र आशाको धुन सञ्चार गर्ने उद्देश्यसहित पोखरा महानगरपालिको प्रवर्द्धनमा कार्यक्रम सुरु भएको हो।

कार्यक्रमको सुरुमा स्टेज चढेका भेगाबोन्ड ब्यान्डका श्यामसुङ तामाङले ‘जीवन हो घामछायाँ...’ गीत गाएर कार्यक्रम सुरु गरेका थिए। देउराली ब्यान्डका शान्तराज बज्राचार्यले ‘ढुंगेसाँघुको मेलामा..’, ‘लुकीचोरी...’ लगायतका आधा दर्जन गीत गाएका थिए। ब्रोसिस ब्यान्डका प्रकाश रानाले ‘बस सुन्दरी...’, ‘चाइना कम्पनी...’ लगायतका गीत गाएका थिए । चौथो प्रस्तुतिका लागि स्टेज चढेका लेकाली ब्यान्डका हर्कराज गुरुङ (भाइ) र नवीन गुरुङले ‘यो मुटुमा...’, ‘पहिलो नजर...’ लगायतका गीत सुनाएका थिए।

मध्याह्नका कर्णदासले ‘मनमनै मन पराइसकेछु...’, ‘जिन्दगीको के भरोसा...’ लगायतका चर्चित गीत गाउँदा छैटौँ तथा अन्तिम प्रस्तुतिका लागि स्टेज गएका डी–मर्चा ब्यान्डका भाष्करध्वज श्रेष्ठले ‘शिवजीको बस्ती छ...’, ‘यो डल्लीले हो मानिन जान...’, ‘तारा खस्यौली...’ ‘झ्याम्म झ्याम्म...’ लगायतका गीत सुनाएका थिए ।

वालिङ चेम्बर अफ कमर्सको मुख्य आयोजना, ट्रिनिटी क्लब वालिङसँगको सहकार्य र स्थानीय व्यवसायी तथा समाजसेवी विजय मल्ल, बिजयविक्रम खाँड, सुनील खनाल, टेकबहादुर कार्की, वीरेन्द्र केसी र सोनी खानको विशेष सहयोगमा कार्यक्रम सम्पन्न गरिएको डी–मर्चा ब्यान्डका भाष्करध्वज श्रेष्ठले जानकारी दिए। 

अन्य १० सहरमा अडिसन गर्ने
पोखराबाट सुरु भएको ‘ब्याक टू नाइन्टिज’ को वालिङमा दोस्रो अडिसन सम्पन्नसँगै देशव्यापी अभियान सुरु भएको छ। अन्य १० सहरमा समेत कार्यक्रम गर्ने डी–मर्चाका श्रेष्ठले जानकारी दिए।

उनका अनुसार वालिङपछि गोरखामा ३१ चैतमा, लमजुङको बेँसीसहरमा १ वैशाख ०८२ अर्थात् नयाँ वर्षमा गर्ने गरी मिति तय भएको उनले जानकारी दिए। त्यसपछि म्याग्दीको बेनीमा, चितवनको भरतपुरस्थित नारायणी नदीकिनारमा, विराटनगर, इलाम, बिर्तामोड, भक्तपुर, ललितपुर र काठमाडौंमा कार्यक्रम गर्ने श्रेष्ठले जानकारी दिए।