मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ फाल्गुण २२ बिहीबार
  • Thursday, 10 July, 2025
प्रा. शिव गौतम/डा. अरुण गौतम
२o८१ फाल्गुण २२ बिहीबार o८:५९:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चिकित्सा सेवा र रोजगारीमाथि प्रश्न 

Read Time : > 4 मिनेट
प्रा. शिव गौतम/डा. अरुण गौतम
नयाँ पत्रिका
२o८१ फाल्गुण २२ बिहीबार o८:५९:oo
  • कार्यक्षमता, योग्यता र कार्यभारअनुसार आफूले पाइरहेको तलबभत्ताका कारण नेपाल छाडेर जान चाहने चिकित्सकको संख्या ठुलो छ

राेजगारी र आर्थिक विकासको गहिरो सम्बन्ध हुन्छ । आर्थिक विकासले अझ थप नयाँ रोजगारी सिर्जना गर्दै जान्छ भन्छन् अर्थविद् र योजनाविद्हरू । विभिन्न देशका तथ्यांक हेर्दा देखिन्छ पनि त्यस्तै । नेपालको आर्थिक विकासको गति धिमा भएको सन्दर्भमा विविध क्षेत्रमा रोजगारी सिर्जनाका अवसरको खोजी र अनुसन्धान गरेर प्राप्त नतिजामा आधारित नीतिलाई कार्यान्वयन गरे त्यसले आर्थिक विकासमा मद्दत नै गर्नेछ । यसै सिलसिलामा हामीले यस लेखमा चिकित्सा क्षेत्रमा विशेषगरी चिकित्सकको रोजगारीलाई केन्द्रमा राखेका छौँ । 

कतिपय अवस्थामा प्रकृतिमा स्वतः हुने प्रक्रियामा मानवीय हस्तक्षेपले गर्दा अझ बढी वाञ्छनीय प्रतिफल प्राप्त हुन सक्छ । बिउलाई माटोमा त्यसै छरेर छोड्नुभन्दा त्यसलाई मल, जल र गोडमेल आदि गरियो भने त्यसबाट पाइने प्रतिफल अवश्य नै बढी हुन्छ । यसै सन्दर्भमा नागरिकको रोजगारीमार्फत ‘दुई खुड्किले’ स्व–ऋण (वा स्व–सापटी) द्वारा आर्थिक विकासलाई स्वाभाविकभन्दा अझ द्रुततर गति दिन सकिने सम्भावना यस आलेखका लेखकद्वयमध्ये एक (शिव गौतम) द्वारा नयाँ पत्रिकामा केही समयपहिले प्रकाशित ‘गरिबी कति यथार्थ र कति मनोविज्ञान ?’ (२०८१ कात्तिक ६ गते) नामक शीर्षकको लेखमा व्यक्त गरिएको थियो । अहिलेको यस लेखलाई त्यसैको निरन्तरता वा सानो कडीका रूपमा लिन सकिन्छ । 

रोजगारीलाई खालि सामान्य र जथाभावी रोजगारी मात्र भनेर पुग्दैन । कामदारको कार्यक्षमता, दक्षता, योग्यता, प्रभावकारिता इत्यादि समेतलाई ध्यानमा राखेर एउटा सुनियोजित एवं यथोचित प्रणाली अपनाउनुपर्ने हुन्छ । 

देशका नागरिकको रोजगारीको कुरा गर्दा विविध क्षेत्र र पेसा पर्न सक्छन् । तर, हामीले अघि भनेझैँ यस लेखमा उदाहरणका लागि चिकित्सा क्षेत्र र झन् त्यसमा पनि चिकित्सकको रोजगारीको केन्द्रमा रहेर मात्र केही सामान्य पक्षमाथि चर्चा गरेका छौँ । हामीले चिकित्सकको रोजगारीबारे एउटा सानो, ‘पाइलट सर्वेक्षण’ गरेर त्यसबाट निस्केका केही निष्कर्षलाई यहाँ प्रस्तुत गर्न लागेका छौँ ।

हाम्रो यस सर्वेक्षणमा जम्मा ३९ जना चिकित्सकले भाग लिएका थिए । जसमा ७४ प्रतिशतजति ३० देखि ४० वर्षका अनि २१ प्रतिशतजति ३० वर्षभन्दा कम उमेरका थिए । ८० प्रतिशत चिकित्सक पुरुष थिए । सरकारी अस्पतालमा काम गर्ने चिकित्सकको संख्या आधा (५० प्रतिशत) भन्दा अलिकति बढी थियो ।

आफूले पाउने गरेको तलबभत्ता आदिसँग कत्तिको सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नको उत्तरमा ८७ प्रतिशत चिकित्सकले आफू असन्तुष्ट अथवा अत्यधिक असन्तुष्ट रहेको बताएका छन् । त्यस्तै, आफ्नो पेसागत विकास तथा तालिमका लागि आफूलाई नियुक्त गर्ने निकायले कत्तिको मौका प्रदान गर्छन् भन्ने प्रश्नको उत्तरमा मात्र तीन प्रतिशतजतिले यस्तो मौका नियमित रूपमा पाउने गरेको स्विकारेका थिए ।

९० प्रतिशत चिकित्सक आफ्नो कार्यक्षमता, योग्यता र कार्यभारअनुसार आफूले पाउने गरेको तलबमान उचित नभएको ठान्छन् । ७७ प्रतिशत चिकित्सकले आफूले पाउने तलबभत्ताका कारण नेपाल छाडेर जाने मनसाय राखेको कुरा व्यक्त गरेका थिए । 

तलबभत्ता विभिन्न कारणमा भर पर्न सक्छ, जस्तै– तालिम, अनुभव, विशेषज्ञता, सरकारी अस्पताल–क्लिनिक, प्राइभेट अस्पताल–क्लिनिक, शिक्षण संस्थान आदि । यस सर्वेक्षणमा भाग लिनेमध्ये ४६ प्रतिशत विशेषज्ञ, २८ प्रतिशत मेडिकल अफिसर, २३ प्रतिशत रेसिडेन्ट र तीन प्रतिशत इन्टर्न थिए । त्यस्तै सर्वेक्षणमा परेका ५१ प्रतिशतजति चिकित्सकले सरकारी अस्पतालमा काम गर्ने गरेको पाइयो भने निजी अस्पतालमा १७ प्रतिशत, मेडिकल कलेजमा २० प्रतिशत र अन्यमा १२ प्रतिशत कार्यरत रहेको सर्वेक्षणले देखाएको छ । 

न्यूनतम मासिक तलब कति भए तपाईं नेपालमै बस्न चाहनुहुन्छ भन्ने जिज्ञासाको उत्तरमा चिकित्सकले यस्तो उत्तर दिएका थिए– एक लाखदेखि एक लाख ५० हजारसम्म (२६ प्रतिशत), एक लाख ५० हजारदेखि दुई लाखसम्म (३१ प्रतिशत), दुई लाखदेखि तीन लाखसम्म (२८ प्रतिशत) र तीन लाखभन्दा माथि (१५ प्रतिशत) । साथै, ८५ प्रतिशत चिकित्सकले नेपालमा आफ्नो अनुभव र कार्यसम्पादनका आधारमा तलबवृद्धिका नियम प्रभावकारी ढंगले लागू नगरिएको बताएका थिए । 

तलबबाहेक अन्य के–कति कुरा भए नेपालमै बसेर काम गर्ने मनसायमा बल पुग्थ्यो होला भन्ने प्रश्न पनि सोधिएको थियो । यसमा भने एकभन्दा बढी विकल्पमा चिनो लगाउन सकिने गरी प्रश्न सोधिएको थियो । उत्तरमा सबैभन्दा बढी अर्थात् ९२ प्रतिशतले आफ्नो कार्य सम्पन्न गर्ने परिस्थिति र वातावरणमा सुधार हुनुपर्ने बताएका थिए । यसैगरी, पेसागत विकासका लागि मौका (८२ प्रतिशत) दोस्रो स्थानमा परेको थियो भने अनुसन्धानको मौका (७२ प्रतिशत) तेस्रो स्थानमा परेको थियो । आधुनिक उपकरणमा पहुँच, निवास भत्ता र गाडी (बाहन) भत्ता भए हुन्थ्यो भन्ने प्रत्येक बुँदा (६७ प्रतिशत) चिकित्सकको रोजाइमा परेको थियो । 

तलबवृद्धि अथवा बसोवास र केटाकेटीको पढाइको व्यवस्थामध्ये कुनै एक रोज्नुपरे कुन रोज्नुहुन्छ भन्ने प्रश्नको जवाफमा ७७ प्रतिशतले बसोवासको व्यवस्था र केटाकेटीको पढाइलाई रोजेका थिए ।

सर्वेक्षणका क्रममा खाइपाई आएको तलबबाहेक अन्य कुरामा पनि केही गुनासा छन् कि भनेर जान्ने प्रयास पनि गरिएको थियो । करिब ६४ प्रतिशत डाक्टरले आफूले काममा खटिनुपर्ने समय (घण्टा) उचित नभएको बताएका छन् ।

डाक्टरहरूलाई नेपालमै राख्न के–के चुनौती होलान्, केही शब्दमा उल्लेख गरिदिनुहुन्थ्यो कि भन्ने प्रश्नको जवाफमा अधिकांश डाक्टरले तलबकै कुरा लेखेका थिए । काम गर्ने ठाउँको सुरक्षा, काममा खटिनुपर्ने समयमा कटौती, बढ्दो मुद्रास्फीति वा महँगीअनुसार तलबवृद्धि नहुनु, अनुसन्धान गर्ने व्यवस्था नहुनु, राजनीतिक हस्तक्षेप, उपयुक्त उपकरणको अभाव आदिलाई उनीहरूले मुख्य चुनौती मानेका थिए । 

फेरि पनि, यो सर्वेक्षण देशले आफूले आफैँलाई कसरी आर्थिक उन्नतितिर अग्रसर गराउन सक्छ भन्ने एउटा छलफलको थालनीका लागि हो । सधैँ अरूले दिएको सहायता दान र अनुदानमा र्‍याल काढेर बस्नु र त्यही प्रवृत्तिलाई कालान्तरमा एउटा संस्कृतिमा विकास गर्नु अवश्य पनि गौरवको विषय हुन सक्दैन । त्यसैले आफ्नै स्रोत, साधन र विवेकबाट अनेकौँ उपाय निस्किन सक्छन् कि भन्ने एउटा घोत्ल्याइँ पनि हो यो सर्वेक्षण । 

आर्थिक गतिविधि र विकासका सन्दर्भमा चिकित्सकको रोजगारीलाई मात्र हेर्नु हुँदैन । त्यससँग थुप्रै पक्ष पनि गाँसिएका हुन्छन् र गाँसिनुपर्छ पनि । देशका विभिन्न ठाउँमा साना–ठुला अस्पताल, स्वास्थ्य चौकी आदिमा कति चिकित्सक र नर्स चाहिएलान् ? विभिन्न तहका प्रशासनिक कर्मचारी कति चाहिएलान् ? अनेकौँ उपकरण चलाउने प्राविधिक जनशक्ति कति चाहिएलान् ? यी सबैले आफूले पाएका रोजगारीबाट आफूलाई आवश्यक कुरा किन्छन् पैसा खर्च गर्छन् र देशको आर्थिक र मौद्रिक संरचनालाई परोक्ष रूपले केही न केही मद्दत गर्छन् । साथै यो सञ्चालन गर्न अनेक भवन निर्माण गर्नुपर्ने हुन्छ, सरसामान ल्याउनु वा बनाउनुपर्ने हुन्छ । अर्थात्, यस्ता योजनाले हिमभकुन्डो प्रभाव (हिउँको सानो डल्लोलाई लडाइदियो भने त्यसले अरू हिउँ जम्मा गरेर झन् ठुलो हुँदै जाने प्रक्रिया)अन्तर्गत आर्थिक र मौद्रिक गतिविधिमा सकारात्मक प्रभाव बढाउँदै जानेछ । चिकित्सकले प्रदान गर्ने सामाजिक सेवाको पाटोलाई सम्पूर्ण रूपले केलाउन त फेरि अर्को छुट्टै लेख्नुपर्ने हुन सक्छ । 

यस लेखमा त उदाहरणका लागि खालि चिकित्सा क्षेत्रलाई मात्र केन्द्रित गरिएको छ । तर, देशभरि अनेकौँ त्यस्ता विभिन्न क्षेत्र छन्, जहाँ अनेक प्रकारका रोजगारी र अन्य उपायद्वारा देशको आर्थिक अवस्था सुधार गर्न सकिन्छ ।

न्यूनतम जोखिमसहित लामो समयसम्म रोजगारी कायम गर्ने व्यवस्थापन गर्न सके नागरिकले आफ्नै भविष्यबाट ऋण लिएर (अर्थात् स्व–ऋण वा स्व–सापटी लिएर) वर्तमानका आवश्यकता, जस्तै– निवास, कार, केटाकेटीको शिक्षादीक्षा आदि सजिलै पूरा गर्न सक्ने थिए । यस्तो व्यवस्थाका लागि अनेक उपाय होलान् । जस्तै– राष्ट्रले पनि आफ्नो भविष्यमा गएर ऋण लिएर त्यस्ता रोजगारी सिर्जना गर्ने योजना तर्जुमा र प्रबन्ध गर्न सक्ने सम्भावनातिर योभन्दा पहिलेको लेखमा औँल्याइएको थियो । यसो गर्न सके नागरिकका साथसाथै देश पनि आर्थिक समुन्नतितिर अग्रसर हुने थियो । यसरी नागरिकले रोजगारीका निमित्त बिदेसिनुपर्ने मनोविज्ञान र बाध्यताबाट नागरिक मुक्त हुने थिए र देश पनि परनिर्भर अवस्थाबाट बिस्तारै बाहिर निस्किने थियो । 

नेपालको आर्थिक अवस्था चाहेजसरी उँभो लागेको छैन भन्दा गल्ती नहोला । त्यसको उदाहरणमा बेरोजगारी, सक्षम जनशक्ति विदेश पलायन, आयात–निर्यातको असन्तुलन, डरलाग्दो वैदेशिक ऋण आदि आदिलाई लिन सकिन्छ । यस्ता बहुआयामिक समस्यासँग जुध्न बहुआयामिक समाधानका उपाय खोज्नु तर्कसंगत देखिन्छ । तिनै उपायमध्ये एक दिगो रोजगारीमा आधारित स्व–ऋण (स्व–सापटी)मार्फत विद्यमान अवस्थाबाट देशलाई निकाल्न मद्दत गर्छ कि भन्ने विचार व्यक्त गरिएको थियो । यसलाई आर्थिक ‘बुटस्ट्र्यापिंग’ अन्तर्गतको एउटा मोडल भन्न सकिन्छ कि ? ‘बुटस्ट्र्यापिंग’ शब्दले असम्भवजस्तो परिस्थितिबाट आफूले आफैँलाई बाहिर निकाल्ने अवस्थालाई जनाउँछ । 

अन्त्यमा, यहाँ प्रस्तुत तथ्यांक एउटा सानो पाइलट सर्वेक्षणमा आधारित थियो । एउटा ठोस निर्णयमा पुग्न र त्यसअनुसार योजना तर्जुमा गर्न भविष्यमा अझ ठुलो र अझ बढी वैज्ञानिक सर्वेक्षण र अनुसन्धान गर्नु आवश्यक हुन्छ । 

(प्रा. गौतम अमेरिकाको फ्लोरिडा विश्वविद्यालयमा प्राध्यापनरत छन्  भने डा. गौतम विष्णुदेवी अस्पताल, कीर्तिपुरका मेडिकल सुपरिटेन्डेन्ट हुन्)