मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ६ मंगलबार
  • Tuesday, 18 March, 2025
कमलराज भट्ट काठमाडाैं
२o८१ फाल्गुण ६ मंगलबार o६:३६:oo
Read Time : > 8 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

केआइआइटीमा नेपाली छात्राको शंकास्पद मृत्यु : छानबिनको माग गर्ने विद्यार्थीमाथि उल्टै ज्यादती

नेपाली विद्यार्थीलाई दुर्व्यवहार र कुटपिट गर्दै विश्वविद्यालय प्रशासनले छात्रावासबाटै निकाल्यो, चौतर्फी विरोधपछि कमजोरी स्वीकार

Read Time : > 8 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण ६ मंगलबार o६:३६:oo

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा बिटेक तेस्रो वर्षमा अध्ययनरत रुपन्देहीकी प्रकृति लम्सालको आइतबार शंकास्पद मृत्यु भएको छ । उनी छात्रावासमै मृत भेटिएपछि स्वतन्त्र र निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीलाई विश्वविद्यालय प्रशासनले उल्टै कुटपिट र दुर्व्यवहार गर्दै छात्रावासबाट निकालेको छ । प्रकृतिको परिवारले न्यायको माग गरेको छ । 

विद्यार्थीको सुरक्षामा गम्भीर खेलबाड गरेको भन्दै प्रशासनलाई ध्यानाकर्षण गराएका सबै नेपाली विद्यार्थीमाथि सोमबार दिउँसो ज्यादती भएको हो । विरोधमा उत्रेको भन्दै विश्वविद्यालयले उनीहरूलाई छात्रावासबाट जबर्जस्ती निकाली गाडीमा हालेर रेलवे स्टेसन र बसपार्क पुर्‍याएको थियो । त्यसक्रममा कुटपिटसमेत गरिएको छ । चौतर्फी दबाब र आलोचनापछि भने विश्वविद्यालयले गल्ती स्विकारेको छ र विद्यार्थीलाई नियमित पढाइमा फर्किन अनुरोध गरेको छ ।

तर, चिन्तित र भयभित नेपाली विद्यार्थी सोमबार अबेरसम्म छात्रावास नफर्केको एक विद्यार्थीले टेलिफोनमा बताए । केही नेपाली विद्यार्थी रेलको टिकट काटेर घर फर्केका छन् । केही विद्यार्थी नजिकका होटेलमा बसेका छन् । विश्वविद्यालयमा करिब ४० हजार विद्यार्थी अध्ययनरत छन्, जसमध्ये नेपाली विद्यार्थीको संख्या कम्तीमा १२ सय छ । छात्रावासबाट निकाल्ने क्रममा सुरक्षाकर्मीले विद्यार्थीमाथि हातपात गरेको भिडियो नै सार्वजनिक भएको छ ।

दिल्लीस्थित नेपाली राजदूतावासले विश्वविद्यालयका पदाधिकारीलाई दूतावास बोलाएर गरेको छलफलमा विश्वविद्यालयका पदाधिकारीले नेपाली विद्यार्थी निकाला गर्ने सूचना फिर्ता लिने, विद्यार्थीलाई छात्रावास फर्किन अपिल गर्ने र उनीहरूको सुरक्षामा ध्यान दिने प्रतिबद्धता जनाएका छन् । साथै, विश्वविद्यालयमा शान्तिसुरक्षामा खलल पुर्‍याउने कार्य कसैले नगर्नेसमेत सहमति भएको छ । त्यसपछि विश्वविद्यालयले अपिल जारी गर्दै नेपाली विद्यार्थी स्वेच्छिक रूपमा घर जान नचाहेमा छात्रावास फर्केर बस्न अनुरोध गरेको थियो ।  

के थियो घटना ? 
विश्वविद्यालयमा बिटेक तेस्रो वर्षमा अध्ययनरत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ८ की २० वर्षीया प्रकृति लम्सालको आइतबार शंकास्पद मृत्यु भयो । उनको शव छात्रावासमा ‘झुन्डिएको अवस्था’मा फेला परेको थियो । क्याम्पस प्रशासनले प्रकृतिले आत्महत्या गरेको भन्यो तर, त्यहीँ अध्ययनरत उनका नजिकका दाजुभाइलाई समेत हेर्न दिइएन ।  

विश्वविद्यालयकै एक भारतीय विद्यार्थीले केही समयदेखि प्रकृतिलाई ‘ह्यारेसमेन्ट’ गरिरहेका थिए । यसबारे उनले एक महिनाअघि नै विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आइआरओ)मा उजुरी गरेकी थिइन । ति युवकले प्रकृतिलाई अश्लील गाली गरेको अडियो क्लिप पनि  सार्वजनिक भएको छ । 

आफुमाथि भइरहेको दुर्व्यवहारबारे जानकारी गराउँदासमेत प्रशासनले चासो नलिएका कारण घटना भएको भन्दै विद्यार्थीले आक्रोशित बने । स्वतः स्फूर्त रूपमा सुुरु भएको विरोध प्रदर्शन आइतबार रातभरी हुँदै सोमबार दिउँसोसम्म चल्यो । त्यसपछि विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीलाई कुटपिट र दुर्व्यवहार गर्दै छात्रावासबाट निकाल्यो । 

नयाँ पत्रिकासँगको टेलिफोन कुराकानीमा उक्त विश्वविद्यालयमा बिटेक अध्ययनरत एक विद्यार्थीले रातभरि विरोध प्रदर्शन भएपछि विश्वविद्यालय प्रशासनले सोमबारसम्म छात्रावास खाली गरेर बाहिरिन निर्देशन जारी गरेको थियो । यद्यपि, उनका अनुसार स्वतः स्फूर्त रूपमा सुुरु भएको विरोध प्रदर्शन सोमबार दिउँसोसम्म चलेको थियो । 

‘अपराह्न चारदेखि साढे चार बजेको बिचमा प्रकृतिको मृत्युको हल्ला फैलियो । उनले आत्महत्या गरेको भनियो । तर, मंगलबार शवको पोस्टमार्टम गरेपछि मात्रै आधिकारिक पुष्टि होला । प्रकृतिको शव क्यापिटल अस्पतालमा लगिएको छ,’ नयाँ पत्रिकासँगको टेलिफोन कुराकानीमा विश्वविद्यालयमा बिटेक अध्ययनरत एक विद्यार्थीले घटना विवरण सुनाए, ‘त्यहाँ उनका नजिकका दाजुभाइलाई पनि भेट्न दिइएन । नेपाली विद्यार्थी हामी एकपछि अर्को गर्दै जम्मा भयौँ । त्यसपछि न्यायका लागि आवाज उठाऔँ भन्ने भयो र स्वतः स्फूर्त रूपमा विरोध प्रदर्शन सुरु भयो । त्यसपछि विश्वविद्यालय प्रशासनले सोमबारसम्म छात्राबास खाली गरेर बाहिरिन निर्देशन जारी गर्‍यो ।’

अर्का एक विद्यार्थीले विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गरेको सुनाए । ‘हामीले न्याय मागेका थियौँ, तर नेपालीहरूलाई घर पठाएपछि विरोध प्रदर्शन हुँदैन र परिस्थिति शान्त हुन्छ भन्ने उनीहरूको सोचाइ रहेछ,’ पाल्पा घर भएका ती विद्यार्थीले टेलिफोनमा भने, ‘त्यसपछि हामीलाई जबर्जस्ती विश्वविद्यालयको गाडीमा हालेर रेलवे स्टेसन पठाइयो । साथीहरूले राम्रोसित झोला मिलाउने समय पनि पाएनन् । दुर्व्यवहार पनि भयो ।’ 

‘अपराह्नसम्म हामी अन्योलमा थियौँ । एक–दुई दिन होटेलमा बसेर हेरौँ, परिस्थिति सहज भएन भने घर जाऊँ भन्ने सोचेका थियौँ,’ अर्का विद्यार्थीले टेलिफोनमा भने, ‘विश्वविद्यालय प्रशासनले नै फर्केर आउन सूचना जारी गरेको छ । तर, पनि आजै (सोमबार) फर्किने मुडमा छैनौँ । परिस्थिति हेरेर मंगलबार छात्रावास फर्किन्छौँ ।’ 

विश्वविद्यालयको लापरबाही 
ओडिसाका सञ्चारमाध्यमले विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ अध्ययन गर्दै आएका भारतीय विद्यार्थी अद्विक श्रीवास्तवसँग उनको तनावपूर्ण व्यक्तिगत सम्बन्ध रहेको र उनकै दुर्व्यवहारका कारण लम्सालले मृत्युवरण गरेको समाचार प्रकाशन गरेका छन् । प्रकृतिको शव पोस्टमार्टमका लागि भुवनेश्वरस्थित क्यापिटल अस्पतालमा राखिएको छ । 

नेपाली विद्यार्थी प्रकृतिले आफूलाई गरेको दुर्व्यवहारबारे विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आइआरओ)लाई एक महिनाअघि नै जानकारी दिएको, तर प्रशासनले चासो नलिएका कारण घटना भएको भन्दै विद्यार्थीले आक्रोश पोखेका थिए । सार्वजनिक अडियो क्लिपमा श्रीवास्तवले प्रकृतिलाई अश्लील गाली गरेका छन् । 

विश्वविद्यालयका रजिस्ट्रार ज्ञानरन्जन मोहन्तीले प्रकृतिलाई दुर्व्यवहार गरेको भनिएका विद्यार्थी श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेको र घटनाबारे परिवारलाई जानकारी दिएको बताएका छन् । श्रीवास्तवलाई १५ दिनअघि नै विश्वविद्यालयले निलम्बन गरिसकेको जानकारी नेपाली राजदूतावासलाई सोमबार दिइएको थियो । भारतीय छात्रविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरी दर्ता गरेर प्रहरीले अनुसन्धान जारी राखेको छ । 

दिल्लीमा विश्वविद्यालयसँग वार्ता र कूटनीतिक पहल
नेपाली विद्यार्थीको मृत्यु तथा जबर्जस्ती निकालाबारे भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सोमबार बिहानैदेखि आवश्यक पहल र समन्वय गरेका थिए । उनले ओडिसाका मुख्यमन्त्री मोहनचरण माझी, भारतीय विदेश मन्त्रालयको नेपाल डेस्क हेर्ने अतिरिक्त सचिव मनु मुहावर, विश्वविद्यालयका उपकुलपतिलगायत अधिकारीसँग घटनाबारे चासो र विरोध जनाएका थिए ।

शर्माले दिल्लीमा रहेको विश्वविद्यालयको सम्पर्क कार्यालयका पदाधिकारीलाई छलफलका लागि नेपाली दूतावासमा बोलाएका थिए । उनले नेपालीहरूको सुरक्षाको सुनिश्चितता गर्न र घर पठाउने सूचना फिर्ता लिन अनुरोध गरेका थिए । छलफलमा नियमित रूपमा कक्षा सञ्चालन गर्न पनि अनुरोध गरिएको नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

जवाफमा विश्वविद्यालयले छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरूका लागि कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी दिएको थियो । मृत्युका सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष अनुसन्धान हुनुपर्ने दूतावासको जोडमा विश्वविद्यालयले घटनालाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाएको छ ।  राजदूत शर्माले मृतक लम्सालको न्यायिक छानबिनमा सहयोग गर्न पनि अनुरोध गरेका थिए । ‘नेपाली विद्यार्थीको सुरक्षामा यस्तो लापरबाही नदोहोरियोस् भन्नेमा उहाँले स्पष्ट रूपमा ध्यानाकर्षण गराउनुभयो । यसमा विश्वविद्यालयका अधिकारीले आफ्नो कमजोरी स्वीकार गरे र नेपाल पक्षको चासो सम्बोधन गर्ने वचन दिए,’ नेपाली अधिकारीले भने । त्यसपछि विश्वविद्यालयले सूचना जारी गर्दै नेपाली विद्यार्थीलाई छात्रावास फर्किन अपिल गरेको थियो । 

प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि प्रकरणमा चासो व्यक्त गरेका थिए । ओमनमा रहेकी परराष्ट्रमन्त्री राणाले काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई टेलिफोन गरेर घटनाका बारेमा चासो व्यक्त गरेकी थिइन् । प्रधानमन्त्री ओलीले नेपाली राजदूतावासबाट दुईजना कर्मचारीलाई ओडिसा पठाउने निर्णय भएको जानकारी दिएका छन् । उनीहरू नयाँदिल्लीबाट मंगलबार भुवनेश्वर जानेछन् । 

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घटनाबारे चिन्ता व्यक्त गर्दै छानबिन तथा कूटनीतिक पहलका लागि माग गरेका छन् । सोमबार अनेरास्ववियुले प्रकृति लम्सालको मृत्यु र नेपाली विद्यार्थीलाई जबर्जस्ती घर पठाउने कलिंगा विश्वविद्यालयको निर्देशनको विरोधमा लैनचौरस्थित भारतीय राजदूतावासमा विरोध जनाएको छ । अपराह्न पोस्टरसहित विरोध प्रदर्शन गरेका विद्यार्थीले लम्सालको न्यायका लागि माग गरेका थिए । 

नेपाल आउँदै गरेका एक विद्यार्थीले पीडा सुनाए–हामीलाई धम्की दिइयो, धेरै अत्याचार गरियो र बसमा कोचेर जबर्जस्ती निकालियो

बिटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको आइतबार छात्रावासमा ‘झुन्डिएको अवस्था’मा शव फेला परेको थियो । विश्वविद्यालय प्रशासनले उनले आत्महत्या गरेको भन्यो, तर यहीँ अध्ययनरत उनका नजिकका दाजुभाइलाई समेत हेर्न दिइएन । विश्वविद्यालयकै एक भारतीय विद्यार्थीले केही समयदेखि प्रकृतिलाई ‘ह्यारेसमेन्ट’ गरिरहेका थिए । यसबारे उनले एक महिनाअघि नै विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आइआरओ)मा उजुरी गरेकी थिइन् । ती युवकले प्रकृतिलाई अश्लील गाली गरेको अडियो क्लिप पनि  सार्वजनिक भएको छ । आफूमाथि भइरहेको दुर्व्यवहारबारे जानकारी गराउँदासमेत प्रशासनले चासो नलिएका कारण घटना भएको हो । हामीले प्रशासनसँग त्यसबारे जवाफ माग्यौँ । आइतबार रातभरि पनि प्रदर्शन गर्‍यौँ । त्यसपछि सोमबार विश्वविद्यालय प्रशासनले हामीलाई छात्रावासबाट निकाल्ने धम्की दियो । निष्पक्ष छानबिन हुनुपर्छ, प्रकृतिलाई न्याय चाहिन्छ भनेर हामीले प्रतिवाद गरिरह्यौँ । पछि त नेपाली विद्यार्थीलाई गालीगलौज, कुटपिट र दुर्व्यवहार गर्दै होस्टेलबाट निकालेर रेल स्टेसन र बसपार्क पुर्‍यायो । केही साथी घाइते पनि छन् । मोबाइल खोसेर कुटपिटको भिडियो डिलिट गर्न लगाइयो । धेरै अत्याचार भयो । भुवनेश्वर रेलवे स्टेसनबाट नेपाल फर्किरहेका छौँ । हामी १० जना एकसाथ रेलमा छौँ । धेरै साथीहरू अर्को स्टेसन र बसपार्कमा छन् । 

यति गम्भीर विषयमा सदनमा बोल्न खोज्दा सभामुखले सांसदलाई दिएनन् समय, आकस्मिक समयमा विपक्षी सांसदमाथि सभामुख घिमिरेको ‘निषेध’

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्ने विषयवस्तुमा आफूहरूलाई ‘निषेध’ गरेको विपक्षी सांसदहरूले गुनासो गरेका छन् । विपक्षी सांसदहरूको भनाइ छ, ‘१८ माघदेखि सुरु हिउँदे अधिवेशनमा सभामुख घिमिरेले चलाएका प्रतिनिधिसभा बैठकमा सत्तापक्षलाई जे विषय पनि बोल्न छुट र विपक्षीलाई ‘यो बोल्नुस्, यो नबोल्नुस्’ भनेर सेन्सर भइरहेको छ ।’ केही घटनाक्रम नियाल्ने हो भने विपक्षी सांसदको आरोप सत्यतानजिक देखिन्छ । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख घिमिरेले भारतको ओडिसा राज्यस्थित भुवनेश्वर पाटियामा रहेको केआइआइटी विश्वविद्यालयमा शंकास्पद मृत्यु भएकी एक विद्यार्थी र अध्ययनरत अन्य विद्यार्थीको विषय उठाउन खोजेकी रास्वपा सांसद सुमना श्रेष्ठलाई समय दिएनन् । भेटेरै अनुरोध गर्दा पनि सभामुखले ‘यो विषय नबोल्नुस्’ भनेर समय दिन मानेनन् ।

श्रेष्ठलाई सभामुख घिमिरेले ‘यहाँबाट समय लिएपछि मात्रै बोल्न पाइन्छ, त्यसैले आसन गर्नुस्’ भन्दै समय दिन मानेनन् । कैयौँ नेपाली विद्यार्थी अलपत्र परेको जरुरी विषय भन्दै श्रेष्ठ बस्न नमानेपछि घिमिरेले भने, ‘यहाँलाई मैले समय दिएको छैन, त्यसले गर्दा आसन ग्रहण गरौँ । समय लिएर बोल्नुपर्छ भन्ने हाम्रो नियमावलीको व्यवस्थाप्रति ध्यानाकर्षण गराउन चाहन्छु ।’

श्रेष्ठले नेपाली विद्यार्थीको आवाज बोल्न पाऊँ भन्दै अड्डी कसेपछि घिमिरेले ‘मैले यहाँलाई समय दिएको छैन भन्ने कुरा सुन्ने गरी राखिरहेको छु, त्यसैले आसनग्रहण गर्नुस् । समय पाए आफ्नो कुरा राख्ने हो, समय नपाउँदा नियमको पालना गर्नुपर्छ भन्ने कुराप्रति हेक्का राख्नुस्’ भन्दै सभालाई शून्य समयको कार्यसूचीमा अगाडि बढाए । 

श्रेष्ठले यो विषयमा बोल्न बैठकअगावै सभामुख घिमिरेलाई जानकारी गराएकी थिइन् । ‘यो विषयमा परराष्ट्रमन्त्री, शिक्षामन्त्रीको ध्यानाकर्षण गराउनुपर्छ भन्दा हाम्रो सभामुखले आज मिल्दैन सरी, यो त परराष्ट्रमन्त्रीलाई गएर भन्ने हो भन्नुभयो । ध्यानाकर्षण गराउन नै त सदन हो, होइन ?’ उनले सोधिन् । 

सभामुखको आकस्मिक समय विभाजन शैलीमा पनि उनले प्रश्न उठाइन् । ‘एउटै पार्टीको दुई–तीनजना त्यो पनि नीतिगत विषयमा मिडियाले कस्तो प्रश्न सोध्नुपर्छ, पर्दैन भन्नेमा उहाँले आकस्मिक समय मज्जाले दिनुभयो । यस्तो महत्वपूर्ण र आजको आजै परराष्ट्रमन्त्रीले कूटनीतिक पहल गर्नुपर्ने विषयमा उहाँले आकस्मिक समय दिनुभएन,’ उनले भनिन् ।

नयाँ पत्रिकासँग कुरा गर्दै श्रेष्ठले विश्वविद्यालयका विद्यार्थीको फोन आएपछि हतारहतार आकस्मिक समय लिन सभामुखकहाँ गएको, तर समय नपाएको गुनासो गरिन् । ‘सभामुखले तपाईं उहाँलाई चिन्नुुहुन्छ भनेर सोध्नुभयो । म चिन्दिनँ । तर, मिडियामा आएअनुसार उहाँको नाम प्रकृति लम्साल हो । विषय गम्भीर छ भनेँ । त्यसपछि सभामुखले मिडियामा आएको कुरा पनि हुन्छ र भन्नुभयो । मैले हाम्रो टिमले रिसर्च गरेर पत्ता लगाएको हो र भारतीय मिडियामा पनि आएको छ भनेँ,’ उनले भनिन्, ‘तर, उहाँले यो परराष्ट्रको विषय हो । परराष्ट्रमन्त्रीलाई भन्नुस् भन्नुभयो । अनि आज धेरैलाई समय दिइसकेँ । तपाईंलाई हुन्नँ भन्नुभयो । परदेशमा नेपाली विद्यार्थीमाथि ज्यादती हुँदा समय नदिनु न्यायोचित भएन । पक्षधरताजस्तो भयो । कार्यव्यवस्थामा यो उठाउँछौँ ।’

समय माग्दा नदिएपछि श्रेष्ठ बैठक छोडेर बाहिर निस्किएकी थिइन् । र, भारतबाट विद्यार्थीले दुव्र्यवहार भएको भनेर पठाएका रेकर्ड सन्देश सञ्चारमाध्यममा सुनाइन् । ‘सभामुखले समय दिनुभएन । मिडियाबाटै प्रधानमन्त्री, परराष्ट्रमन्त्री र शिक्षामन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु–नेपालमा पढ्ने वातावरण पनि नदिने र विदेशमा गएका हाम्रा विद्यार्थीलाई यो रूपमा ट्रिट हुन्छ भने हामीले केही गर्नुपर्दैन ?’ उनले प्रश्न गरिन् । 

स्वतन्त्र सांसद अमरेश सिंहले सदन निष्पक्षता र जनताको एजेन्डामा सञ्चालन नभएको बताए । सरकार र देशजस्तै संसद् पनि दुई दलको बन्धक बनेको सिंहको आरोप छ । 

रास्वपाकै सोविता गौतमले अन्याय र जनताको आवाज बोलेर जवाफ खोज्ने सदनमा सांसदले बोल्नुअघि नै आवाज बन्दको प्रयास दुःखद भएको बताइन् । ‘सांसदले आकस्मिक समय माग गर्दा, सभामुखले पहिले के बोल्न लागिएको छ भनेर थाहा पाउन खोज्नुहुन्छ, अनि हामीले बोल्न पाउने कुरा उहाँकै छनोटमा सीमित हुन्छ । संसद् भनेको विचारको खुला मञ्च हो, तर किन सभामुख आफैँले यसलाई घेराबन्दी गर्न खोज्नुहुन्छ, मैले बुझेको छैन,’ उनले भनिन् । सभामुखले यस्तै व्यवहार जारी राखे स्वतन्त्रता बन्धनमा पर्ने र प्रतिरोधको स्वर अझ चर्को हुने गौतमको भनाइ छ । ‘गत संसद्मा सरकारले समितिको प्रतिवेदनमा संशोधन हालेर गलत नजिर बसाएको विरोधमा बोल्न चाहेकी थिएँ, र आकस्मिक समय माग गर्न सभामुखकहाँ गएकी थिएँ । तर, मलाई समय दिनुभएन,’ उनले भनिन् । 

बोल्न नपाएपछि रास्वपाका सांसदले जारी अधिवेशनको सुरुको बैठक प्रतीकात्मक रूपमा विरोधस्वरूप १५ मिनेट बहिष्कार गरेका थिए । ‘संसद्लाई मौनताको सभा बनाउने प्रयास कुनै सभामुखको सफलता होइन, यो त संसदीय प्रक्रियाकै हार हो,’ उनले भनिन् । 

सोमबार आकस्मिक समयमा हलेसी डढेलोबारे बोलेका माओवादीका रामकुमार राईको शून्य समयमा पालो भए पनि सभामुख घिमिरेले दिएका थिएनन् ।

यसअघि सभामुख घिमिरेले मन्त्रीबाटै विधायन विधेयकमा संशोधन प्रस्ताव राखेर प्रक्रिया मिचिएको विषयमा बोल्न खोज्दा रास्वपाकी सोविता गौतम, राप्रपाका ध्रुवबहादुर प्रधान र नेमकिपाका प्रेम सुवाललाई समय दिएका थिएनन् । तर, निर्धारित समयमा विपक्षीहरूले उठाएका प्रश्नमा सत्तापक्षले जवाफ दिन सभामुखले नियम मिचेरै समय उपलब्ध गराएका छन् । सोमबार सभामुख घिमिरेले एमालेका सूर्य थापा क्षेत्रीलाई सञ्चारकर्मीले संसद् परिसरबाहिर प्रधानमन्त्रीलाई सोधेको प्रश्न र प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा सांसद प्रभु साहले सोधेको प्रश्नमा आपत्ति जनाउन आकस्मिक समय दिएका थिए । 

भ्रष्टाचार निवारण विधेयक कार्यसूचीबाट हटाएको दिन माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सदन सरकारकै मनोमानी चल्नुपर्ने भनेर आकस्मिक समयमा प्रश्न उठाए । एमाले प्रमुख सचेतक महेश बर्ताैलाले नियमविपरीत प्रतिवाद गर्दा सभामुखले समय दिएका थिए । 

यसैगरी, रास्वपाका गणेश पराजुली र मनीष झाले प्रहरी सरुवा–बढुवामा भएको मनोमानीको गृहमन्त्रीसँग जवाफ माग्दा कांग्रेसका रामहरि खतिवडाले नियमविपरीत समय लिएर जवाफ दिएका थिए ।

सभामुखले परराष्ट्रको विषय हो, परराष्ट्रमन्त्रीलाई भन्नुस् भन्नुभयो : सुमना श्रेष्ठ, सांसद, रास्वपा
भारतको विश्वविद्यालयमा नेपाली विद्यार्थीको शंकास्पद मृत्युका विषयमा थाहा पाएपछि  हतारहतार आकस्मिक समय लिएर सदनमा बोल्न  सभामुखकहाँ गएँ । सभामुखले ‘तपाईं उहाँलाई चिन्नुुहुन्छ’ भनेर सोध्नुभयो । मैले ‘म चिन्दिनँ, तर मिडियामा आएअनुसार उहाँको नाम प्रकृति लम्साल हो । विषय गम्भीर छ’ भनेँ । उहाँले ‘मिडियामा आएको कुरा पनि हुन्छ र’ भन्दै हलुका जवाफ दिनुभयो ।  मैले ‘हाम्रो टिमले रिसर्च गरेर पत्ता लगाएको हो र भारतीय मिडियामा पनि आएको छ’ भनेँ । तर, उहाँले ‘यो परराष्ट्रको विषय हो । परराष्ट्रमन्त्रीलाई भन्नुस् । आज तपाईंलाई समय हुन्न’ भन्नुभयो । परदेशमा नेपाली विद्यार्थीमाथि ज्यादती भएको विषयमा सदनमा बोल्ने समय नदिनु न्यायोचित भएन ।