
कुनै एक राज्यमा एक राजा थिए । उनको एउटा मात्र खुट्टा थियो र आँखा पनि एउटै मात्र सद्दे थियो । उनी एउटा आँखाले देख्न सक्दैनथे । उनको राज्यका जनता भने निकै खुसी थिए । किनकि, उनी निकै बुद्धिमान् र प्रतापी थिए । एकपटक राजालाई आफ्नो एक सुन्दर तस्बिर बनाउन लगाएर दरबारको भित्तामा सजाउने विचार आयो । यस्तो विचार आउनासाथ उनले देशभरका नामुद चित्रकारजति सबैलाई दरबारमा बोलाए । सम्पूर्ण चित्रकार जम्मा भइसकेपछि राजाले भने– मलाई थाहा छ, तपाईंहरू सबै दिग्गज कलाकार हुनुहुन्छ । त्यसैले, तपाईंहरूले मेरो एउटा सुन्दर चित्र बनाइदिनुप¥यो । जसलाई म मेरो दरबारको भित्तामा सजाएर राख्न चाहन्छु ।
सबै चित्रकारले राजाको प्रस्ताव सुने । तर, एउटा खुट्टा र एउटा आँखा नभएका राजाको सुन्दर चित्र कसरी बनाउनु ? उनीहरूका लागि देख्दै ‘कुरूप’ राजाको सुन्दर तस्बिर बन्ने कल्पना गर्नु व्यर्थ थियो । चित्र सुन्दर नभएमा राजाले रिसाएर सजाय पनि दिन सक्थे । त्यसैले, तिनले आफूहरूले चित्र बनाउन नसक्ने बताए । चित्रकारको जवाफ सुनेर राजा खिन्न भए ।
त्यति नै वेला चित्रकारको भिडको पछिल्लो भागबाट एकजनाले हात उठाउँदै भने– महाराज, म हजुरको सुन्दर चित्र बनाउन तयार छु । म हजुरलाई मन पर्ने चित्र बनाउने कोसिस गर्नेछु । राजाको अनुमति पाइसकेपछि चित्रकार काममा जुटे । बडो तन्मयतासाथ उनी चित्र कोर्ने कार्यमा लागे । केही समयको मिहिनेतपछि उनले चित्र तयार गरे । चित्र देख्दा राजा अत्यन्त प्रसन्न भए । बाँकी चित्रकार पनि उनको कला देख्दा दंग परे ।
चित्रकारले यस्तो चित्र बनाएका थिए, जसमा राजा एउटा खुट्टा खुम्च्याएर जमिनमा बसेका थिए र एउटा आँखा चिम्लेर सिकारमाथि निसाना ताकिरहेका थिए । चित्रकारले बडो चलाखीपूर्वक राजाको शारीरिक कमजोरी लुकाइदिएका थिए । चित्र साँच्चै सुन्दर देखिन्थ्यो । यस्तो सुन्दर चित्र देखेर राजाले उनलाई ठुलो इनाम दिएर बिदा गरे ।