मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २१ सोमबार
  • Saturday, 08 February, 2025
नयाँ पत्रिका काठमाण्डौं
२o८१ माघ २१ सोमबार १७:२५:oo
Read Time : > 1 मिनेट
समाचार

नुवाकोटका युवक युएईमा मृत फेला, परिवारद्वारा छानबिनको माग 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाण्डौं
नयाँ पत्रिका
२o८१ माघ २१ सोमबार १७:२५:oo

संयुक्त अरब इमिरेट्स (युएई) कार्यरत नुवाकोटका एक युवक कार्यरत रहेको कम्पनीमै मृत भेटिएका छन्। उनका परिवारले घटनाको छानबिनको माग गरेका छन्। 

बेलकोटगढी नगरपालिका–१०, गैरीगाउँका ४२ वर्षीय कुवेर तिवारी गत १८ माघमा मृत भेटिएका हुन्। उनी युएईस्थित फाइब्रेक्स कन्स्ट्रक्सन ग्रुपमा कार्यरत थिए। कार्यालयमै झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो। 

मृतकका भाइ हरिहर तिवारीले सोही कम्पनीमा कार्यरत नेपाली नारायण कार्कीमार्फत घटनाको जानकारी पाएको बताए। मृतक तिवारी विगत १२ वर्षदेखि युएईमा कार्यरत थिए। ८ वर्षदेखि उनी घर आएका थिएनन्। हरिहरका अनुसार कुवेर घरायसी कारणले नेपाल नआए पनि परिवारका सदस्य र साथीहरूसँग नियमित सम्पर्कमा थिए। अन्तिमपटक घटनाको एक सताअघि दाइसँग आफ्नो कुरा भएको हरिहरले बताए। घटनाभन्दा केही दिनअघि उनले गाउँकै एक पुरुष र श्रीमतीका कारण मर्न बाध्य भएको भन्दै भ्वाइस म्यासेज गरेको हरिहर बताउँछन्। 

उनले आफ्नो दाइले आत्महत्या नगरेको र कसैले कर्तव्य गरेको हुन सक्ने उनको आशंका छ। घटना शंकास्पद रहेको भन्दै मृतकले नाम लिएका व्यक्तिविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिन खोज्दा प्रहरीले इन्कार गरेको उनको भनाइ छ। बेलकोटगढी–१० का वडाध्यक्ष प्रल्हाद थपलियासहित आफूहरू जाहेरी दिन गएको भए पनि प्रहरीले नमिल्ने भन्दै फर्काइदिएको हरिहरले बताए। कम्पनीबाट शव नेपाल पठाइदिने खबर आएको भए पनि घटनाको सत्यतथ्य छानबिन नभई शव नबुझ्ने अडान परिवारको छ। 

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी दुर्गाराज रेग्मीले मृतकका परिवार उजुरी दिन आएको, तर दुबई प्रहरीको अनुसन्धान रिपोर्ट वा अदालतको आदेशविना मृतकको अडियोका आधारमा मात्र कसैलाई दोषी करार गर्न नसकिने भएकाले जाहेरी दर्ता गर्न नसकिएको बताउँछन्। ‘१२ वर्षदेखि दुबईमै भएको मान्छेले नेपालका भएका मानिसका कारण म मर्दै छु भनेको आधारमा मात्र कसैमाथि कारबाही गर्न मिल्दैन,’ रेग्मीले भने, ‘दुबई प्रहरीले शवसँगै पोस्टमार्टम र अनुसन्धान रिपोर्ट पनि पठाउँछ। त्यसपछि पनि अनुसन्धान गर्ने समय बाँकी रहन्छ। रिपोर्ट आउन दिनुस् भनेर पठाएको हुँ।’ 

मृतकका परिवारले घटनाको निष्पक्ष अनुसन्धान गरिदिन आग्रह गरेका छन्।