मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ माघ २० आइतबार
  • Saturday, 13 September, 2025
गत वर्ष सप्तकोशीले कटान गरेको तटीय क्षेत्र । फाइल तस्बिर/नयाँ पत्रिका
२o८१ माघ २० आइतबार १o:२५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मन्त्रीहरू अनुगमन गर्न आउँछन्, तर नदी नियन्त्रणका लागि ठोस योजना बनाउँदैनन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २० आइतबार १o:२५:oo

सप्तकोशी तटीय क्षेत्रका स्थानीयको गुनासो

गत मंगलबार गृहमन्त्री रमेश लेखकले उदयपुरको बेलका नगरपालिका क्षेत्रमा पर्ने सप्तकोशी नदीको कटान क्षेत्रको अनुगमन गर्दै आगामी दिनमा कटान रोक्ने गरी सरकारले योजना बनाउने प्रतिबद्धता जनाए । ‘यसपटक सप्तकोशी नियन्त्रणका लागि ठोस योजना बनाउने पक्षमा छौँ । भावी दिनमा बाढी र कटानको त्रासबाट तटीय क्षेत्रका बासिन्दालाई मुक्त गर्ने गरी सरकारले योजना बनाउँछ,’ उनले भने ।

बर्सेनि बर्खा लागेपछि सप्तकोशीको बाढी र कटानको त्रासमा बस्दै आएका स्थानीयलाई सरकारका मन्त्री, सांसद, नेता तथा उच्च पदका व्यक्तिले दिने आश्वासन कुनै नौलो होइन । बर्खा लागेसँगै कटान र डुबान हुन थालेपछि विस्थापित स्थानीयलाई सहारा दिन भन्दै अनुगमन, निरीक्षण तथा अवलोकनका लागि मन्त्री तथा विभागीय प्रमुखहरू पुग्ने गरेको वषौँ भइसकेको छ । गृहमन्त्री लेखकको अनुगमनमा भेटिएका स्थानीय सजमान विकले भने, ‘अनुगमन मात्र हुन्छ, सप्तकोशी नियन्त्रणका लागि ठोस योजना अहिलेसम्म आउन सकेको छैन ।’

सप्तकोशीमा बर्खामा आउने बाढीले उदयपुरको बेलका नगरपालिका वडा नम्बर १, २, ३, ८ र ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९, सप्तरीको सप्तकोशी नगरपालिकाका ६ र ७ वडा नम्बरसँगै सप्तरीकै कञ्चनरूप नगरपालिकाका तटीय क्षेत्र प्रभावित हुँदै आएको छ । बेलका नगरपालिका– ८ का वडाध्यक्ष जयकुमार राईले मन्त्री र नेताहरू मात्र नदी कटान र बाढी आएका वेला प्रभावित क्षेत्र आउने गरेको, तर दीर्घकालीन रोकथामसम्बन्धी कुनै पनि योजना अहिलेसम्म बनाउन नसकेको गुनासो गरे ।

‘कटानसँगै जब बाढी आउन थाल्छ र मानव बस्तीमा क्षति पुर्‍याउन थाल्छ, अनि संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री, सांसद, विभागीय प्रमुखहरू आउनुहुन्छ, हेर्नुहुन्छ, दीर्घकालीन रोकथामका लागि योजना बनाउँछौँ भन्नुहुन्छ । तर, अहिलेसम्म कुनै पनि ठोस योजना आएका छैनन् । कटान र बाढी रोक्ने गरी अहिलेसम्म कुनै पनि काम हुन सकेको छैन,’ उनले भने ।

कोशीले बेलका नगरपालिका– ८ मा रहेको लाहुरेखोँचको डुम्रीबोटेको बाँध कटान गर्दै मानव बस्तीमा क्षति पुर्‍याउँदै आएको छ । त्यही बाँध कटान गरेर पछिल्ला तीन वर्षयता बर्सेनि सप्तकोशी बस्तीमा पस्ने गरेको छ । स्थानीयका अुनसार ०४५ यता सप्तकोशीले धार परिवर्तन गरेको छ । जसकारण मानव बस्ती र खेतीयोग्य जमिनमा क्षति पुग्ने गरेको छ ।

कोशी सम्झौताअनुसार भारत सरकारले नदीको दुवैतर्फ तटबन्ध बनाउनुपर्ने भए पनि नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या बढेर गएको छ । उदयपुरलाई केन्द्रबिन्दु बनाएर ०४५ भदौमा गएको भूकम्पका कारण उदयपुर र सुनसरीको सिमाना भएर बग्ने सप्तकोशी नदी आफ्नो धार परिवर्तन गरेर सुनसरीतर्फ धेरै ढल्केको थियो ।