
ढाका विश्वविद्यालयले जय नेपाल टी–२० क्रिकेट प्रतियोगितमा बिहार विश्वविद्यालयलाई सात विकेटले हराएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आइतबार पहिलो ब्याटिङ गरेको बिहारले २० ओभरमा १० विकेट गुमाएर १२७ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा ढाकाले १६.५ ओभरमा तीन विकेटको क्षतिमा १२९ रन जोड्यो ।
ढाकाको जितमा ओपनर माहफिजुल इस्लामले ७५ रनको नटआउट योगदान दिए । उनले ६० बलमा नौ चौका प्रहार गरेका थिए । ढाकाले लक्ष्य पछ्याएको इनिङ्सको पहिलो ओभरमै दुई विकेट गुमायो । इनिङ्सको ०.४ ओभरमा पहिलो विकेट गएको ढाकाले ०.६ ओभरमा अर्को विकेट पनि गुमाउन पुग्यो । पहिलो ओभरको खेल समाप्तिसम्म ढाका २–२ को कमजोर अवस्थामा थियो ।
त्यसपछि मेहमद सफिक रहमान र इस्लामले तेस्रो विकेटका लागि १०४ रनको शतकीय साझेदारी गर्दै टोलीलाई १४.४ ओभरमा १०६/३ को बलियो स्थितिमा राखे । रहमानले ३३ बलमा दुई चौका र एक छक्का प्रहार गरी ३४ रनको योगदान दिए ।
बिहारको कमजोर ब्याटिङ
पहिलो ब्याटिङ गरेको बिहारको कमजोर प्रदर्शन भयो । शीर्ष चार खेलाडीले गतिलो योदगान दिन नसक्दा बिहारले ९.५ ओभरमा चार विकेटको क्षतिमा ३५ रन बनाएको थियो ।
त्यसपछि पाँचौँ विकेटका लागि ६५ रनको साझेदारी हुँदा बिहार १६.५ ओभरमा १००/५ को स्थितिमा पुग्यो । बिहारका लागि इमरान हस्मी र विशाल राजले पाँचौँ विकेटका लागि सुदृढ साझेदारी गरेका हुन् ।
इमरानले २१ बलमा दुई चौका र एक छक्का प्रहार गरी २२ रन बनाए । विशालले २६ बलमा दुई चौका र तीन छक्का प्रहार गरी ४२ रनको योगदान दिए । यसैगरी मोहमद आदिलले आठ बलमा दुई छक्का र एक चौका प्रहार गर्दै १९ रन जोडे ।