१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format २o:१o:oo
Read Time : > 1 मिनेट
अर्थ

सकियो लेखनाथ महोत्सव, १३ दिनमा १० करोडको कारोबार

तीन लाखभन्दा बढी दर्शकले गरे अवलोकन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:१o:oo

२०औँ  संस्करणको लेखनाथ महोत्सव आज सम्पन्न भएको छ। पोखराको लेखनाथमा लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना एवं राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा १८ पुसमा महोत्सव सुरु भएको थियो।

दुई लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र नौ करोडबराबरको कारोबारको लक्ष्यसहित आयोजना गरिएको महोत्सवमा १० करोडबराबरको कारोबारसँगै तीन लाखभन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकको भनाइ छ। महोत्सवकी प्रचारप्रसार उपसमितिका संयोजकसमेत रहेकी आयोजक संघकी महासचिव जानुका पराजुली अधिकारीका अनुसार अपेक्षाकृत सफलता हात पार्दै महोत्सव सकिएको छ। 

महोत्सवमा अटो प्रदर्शनीका ६, शैक्षिक–ग्रामीण प्रविधिका १२, कृषिका ३६, किचन सामग्रीका २५, मेसिनरीका १०, हस्तकलाका १६, गार्मेन्ट तथा रेडिमेड १०८, जनरल २६, फुड एन्ड बेभरेजका १६, डेरीका नौ, नेपाली उत्पादनका २२, खानाका १७, बैंक तथा वित्तीय संघसंस्था तथा प्रायोजकअन्तर्गत ३३ गरी कुल ३३६ वटा स्टल रहेको संयोजक जानुकाले जानकारी दिइन्। 

महोत्सवको समापन गर्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले महानगरले अघि सारेका विभिन्न २१ वटा परियोजना सफल पार्न निजी क्षेत्रलाई आग्रह गरेका थिए। आचार्यले ती योजनाहरूमा लगानीका लागि सक्रिय सहभागिताका लागि आह्वान गर्दै निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न चाहेको बताएका थिए।

गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले यस्ता मेला महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउन र क्रेता-बिक्रेतालाई एकैस्थानमा जम्मा गरी वस्तु तथा सेवा, उत्पादनको बजारीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताइन्।

रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले महोत्सवले यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको व्यापार प्रवर्द्धनमा सहयोग पुर्‍याएको बताए। 

आयोजक संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवर्द्धन, हस्तकलाका वस्तुहरूकोे बजार प्रवर्द्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप र प्रविधि हस्तान्तरण, उद्यमशीलता, सिर्जनशीलतामा जोड, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन तथा सेवाहरूको प्रदर्शनी, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जर्गेना, नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं वाह्यपर्यटक प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको र उद्देश्यअनुसार सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए।