१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १४ आइतबार
  • Friday, 06 June, 2025
शिल्पा कर्ण काठमाडाैं
२o८१ पौष १४ आइतबार o६:१२:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भ्रष्टाचार मुद्दामा काबिल न्यायमूर्तिको देहावसान

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष १४ आइतबार o६:१२:oo

प्रकाश वस्ती २२ भदौ ०६५ मा सर्वोच्चको अतिरिक्त न्यायाधीशमा नियुक्त भए । तर, स्थायी हुन नपाई २९ चैत ०७० मा बिदा गरियो । भ्रष्टाचार मुद्दामा काबिल न्यायाधीश मानिने वस्तीलाई स्थायी हुनबाट नियोजित रूपमा रोकिएको भनेर न्यायक्षेत्रमा व्यापक चर्चा चल्यो । उनै पूर्वन्यायाधीश वस्तीको शुक्रबार राति ७१ वर्षको उमेरमा हृदयाघातबाट मृत्यु भएको छ । 

पूर्वसभासद् तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी वस्तीलाई इमानदार र भरपर्दो न्यायाधीशका रूपमा सम्झिन्छन् । ‘उहाँ कर्मक्षेत्रमा अब्बल हुनुहुन्थ्यो । एक इमानदार र भरपर्दो न्यायाधीशको छवि थियो । देवानी मुद्दामा खास दख्खल थियो । प्रकाशजीको इजलासमा परेपछि न्याय मिल्छ भन्नेमा मान्छेहरू ढुक्क हुन्थे ।’ 

सर्वोच्चमा वस्तीलाई स्थायी हुन नपाई हटाएर अन्याय गरिएको पनि अधिकारीको बुझाइ छ । ‘उहाँजस्तो न्यायकर्तालाई हटाएर उहाँमाथि अन्याय गरेको अनुभूति भएर होला उहाँलाई पछि मानव अधिकार आयोगको सदस्यका रूपमा नियुक्त गरिएको थियो,’ उनले भने । 

वस्तीसँगै सर्वोच्चमा नियुक्त भएका न्यायाधीश हुन् गिरीशचन्द्र लाल । वस्तीको न्याय सम्पादनमा आशंकाको ठाउँ नरहने र न्यायाधीशहरूमाझ नै उनको छवि राम्रो रहेको लालको अनुभव छ । ‘कानुन र न्यायको मर्म बुझ्ने न्यायाधीश हुनुहुन्थ्यो । उहाँ न्यायाधीशमात्र नभई अध्येता पनि हुनुहन्थ्यो । त्यो माहोलमा जति न्याय गर्न सकिन्थ्यो, उहाँले पदमा बसेर सक्दो गर्नुभयो,’ लाल भन्छन्, ‘यति छिटै देहान्त हुँदा निकै दुःख त लागेको छ नै न्यायक्षेत्रको इतिहासमा धेरै क्षति भएको छ ।’

८ असार ०१० मा जन्मिएका वस्तीले ०३२ मा कानूनमा स्नातक उत्तीर्ण गरेका थिए । ०६५ मा वरिष्ठ अधिवक्ताको उपाधि पाएका थिए । उनले नेपाल ल क्याम्पसका साथै पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा २० वर्षसम्म प्राध्यापन गरे । ०३३ देखि अधिवक्ताका रुपमा काम गर्न थालेसँगै अधिकारी र वस्तीको राम्रो चिनजान थियो । 
वस्तीका सुरुवाती दिनबारे अधिकारी भन्छन्, ‘मैले उहाँसँग लामो संगत गरेँ । उहाँ नेपाल ल फर्ममा काम गर्दादेखि नै अत्यन्तै मेहनत गर्ने र असाधारण रुपमा अनुशासित हुनुहुन्थ्यो । मिलिजुलीकन काम गर्नुहुन्थ्यो । आफ्नो कर्मक्षेत्रमा त्यसैले उहाँको यो नाम भएको हो ।’

अधिकारी बारको अध्यक्ष हुँदा वस्ती महासचिवमा निर्विरोध निर्वाचित भएका थिए । बारको हालको भवन बनाउन उनको विशेष योगदान रहेको बताउँदै हालका कानूनमा समेत उनको रुची र योगदान रहेको अधिकारीले बताए । वस्तीले लिगल एड एक्ट र बार काउन्सिल ऐन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । वस्ती बारको कार्यकारी समितिमा रहेकै बेल काउन्सिल ऐन पारित भएको थियो । 

वस्तीले दुई कार्यकाल सर्वोच्च अदालत बार एसोसिएसनको सचिव पदमा रहेर कार्य गरे । उनी विकृतिविहीन न्यायपालिका अभिवृद्धि अध्ययन समितिका सदस्यसमेत थिए । ‘समय खेर नफालौँ भन्ने, चिन्तन गर्ने खालको हुनुभएकाले उहाँका कानून विषयका कन्टेम्पररी मात्र होइन, अध्ययन र अनुसन्धानमूलक कृति प्रकाशित छन्,’ अधिकारीले भने । वस्तीले नेपालको कानूनी इतिहास खोतल्न गरेको प्रयासले उनलाई कानून वृत्तमा उँचो स्थान दिएको अधिकारीको भनाइ छ । 

वस्ती कर्मचारी सञ्चय कोष र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कानूनी सल्लाहकारसमेत रहे । साथै कानून द्वैमासिक, न्यायदूत, नेपाल कानून परिचर्चाजस्ता पत्रिका सम्पादनमा समेत उनको भूमिका रह्यो । वस्तीका प्रमाण कानून, वकील नभएमा, अंशमा महिलाको अधिकार, हाम्रो कानूनी प्रणालीका केही झाँकीहरू र हाम्रो कानूनी इतिहासको नालीबेली प्रकाशित छन् । 

घरमा हृदयघात भएपछि अस्पताल पुर्‍याउँदा वस्तीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । आइतबार उनकाे अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । 

छुटाउनुभयो की ?