१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:३२:oo
Read Time : > 2 मिनेट
समाचार

महानगर दिवसमा २ सय ३६ जना सम्मानित 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:३२:oo

काठमाडौं महानगरपालिकाले ३०औँ महानगर दिवस मनाएको छ । दिवसको अवसरमा महानगरले शुक्रबारदेखि नै विविध कार्यक्रम गर्दै आइरहेको महानगरले मुल समारोह शनिबार आयोजना गरेको हो । 

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नागरिकलाई सरकारप्रति भरोसा गर्न जगाउन काठमाडौं महानगरपालिकाले अहम् भूमिका खेलेको बताएका छन् । ‘जनस्वास्थ्य, वातावरणीय सुधार, सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नति, रोजगारी र आयसहित पूर्वाधार, आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा महानगरपालिकाकाले सम्पन्न गरेका काम र हासिल गरेका उपलब्धि अनुकरणीय, अनुसरणीय र सिकाइयोग्य रहेका छन्,’ उनले भने ‘गत आर्थिक वर्षदेखि महानगरपालिकाले कार्यान्वयनमा ल्याएका महानगर गौरवका योजनाले दिगो रणनीतिक विकास र सहजतामा टेवा पुग्ने ठानेको छु, स्वर्णीम योजनाबाट आम नागरिकसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य, शिक्षा, खेलकुद, सीप तथा क्षमता विकाससहित रोजगार प्रवद्र्धन, वातावरण सुधार र पूर्वाधार कार्यमा तत्काल लाभ प्राप्त हुन सक्ने ठानेको छु ।’ 

२३६ परम्परागत बाजा गुरुलाई सम्मान
दिवसकै अवसरमा महानगरले शुक्रबार राष्ट्रिय सभा गृहमा कार्यक्रम आयोजना गरी २३६ जना परम्परागत बाजा गुरुहरूलाई जनही ३० हजार रुपैयाँसहित सम्मान गरेको थियो ।

ज्यापु महागुथि नेपाः, येँ महानगर समितिबाट सिफारिस भएका ६३ टोलका ६३ जना मु–धिमे गुरु र ५४ जना दाफा खिं गुरु, गुंलाबाजं व्यवस्थापन व संरक्षण संघबाट सिफारिस भएका २५ टोलका एकएक जना गुरु, नेपाल खड्गी सेवा समितिबाट सिफारिस ६९ टोलका एक एक जना नायःखिं बाजं गुरु, नेपाल राष्ट्रिय खड्गी समाजबाट नौ टोलबाट सिफारिस भएका १५ जना गुरु, केन्द्रीय मानन्धर संघबाट सिफारिस भएका तीन टोलका तीनजना र विभिन्न संघसंस्थाहरुबाट सिफारिस सातजना बाजा गुरुलाई नगदसहित सम्मान गरिएको हो । 

त्यसक्रममा महानगरका मेयर एवं दिवस मुल समारोह समितिका संयोजक बालेन शाहले महानगरको संस्थागत विकास र सुशासनमा योगदान पु¥याउने सबैको कदर योग्य भएको बताए । ‘सफाइकर्मी, नगर प्रहरी, राष्ट्रसेवक कर्मचारीसहित काठमाडौंलाई काठमाडौं महानगरपालिका बनाउने सबैप्रति आभार प्रकट गर्न चाहन्छु,’ उनले भने, ‘संघीय राजधानी सहर भएकोले यस सहरलाई सबैले आफ्नो भन्न सक्ने, बस्न योग्य, व्यवस्थित र सुरक्षित सांस्कृतिक सहर निर्माण गर्न क्षेत्रगत सहयोग निरन्तर प्राप्त भइरहने अपेक्षा गरेको छु ।’

दिवसको अवसरमा महानगरले टुँडिखेलमा शनिबार साँझा सांगीतिक कार्यक्रम पनि आयोजना गरेको छ । उपमेयर सुनिता डंगोलले सन्तुलित विकास निर्माण, विकास व्यवस्थापन तथा सहरी सेवा सुविधाको न्यायोचित उपयोगका लागि आवश्यक सबै अंगको सवलीकरणलाई एकीकृत र समन्वयात्मक पद्धतिबाट कार्यान्वयन गरिरहेको बताइन् । सामाजिक उन्नयनका लागि विभिन्न क्षेत्रमा रहेर योगदान पु¥याउने १० जना व्यक्तित्वलाई समारोहमा सम्मान गरिएको थियो । 

समारोहमा सबै वडाबाट निकालिएको सांस्कृतिक झाँकी, महानगर प्रहरी बलको कवाज, खेललगायत प्रदर्शन गरिएका थिए । यस्तै, सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका लागि प्रयोग गर्ने साधन तथा उपकरणहरुको प्रदर्शन पनि गरिएको थियो । यस्ता साधन तथा उपकरणमा दमकल, एम्बुलेन्स, सडक सफा गर्ने ब्रुमर, फोहर संकलन गर्ने सवारी साधनहरु थिए । कार्यक्रममा विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको थियो ।

समारोहमा चक्र बमदेखि जेम्स प्रधानसम्मको प्रस्तुति
शनिबार साँझको प्रस्तुतीमा बाबुकृष्ण परियार, ईन्द्रकला राई, उर्गेन दोङ, सुगम पोखरेल एण्ड द बाजागाजा, केहर लिम्बू एण्ड जोय व्याण्ड, महेश काफ्ले, अस्मिता अधिकारी, कुमा सागर, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, जेम्स प्रधान, सुजिल कर्माचार्य, सञ्जय श्रेष्ठ, योगेश्वर अमात्य, रचना रिमाल, सुशान्त घिमिरे, सन्दिप विष्ट, चक्र बमसहित कलाकारको प्रस्तुति दिएका छन् । 

३ पुस १९९६ मा स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । २९ मंसिर ०५२ मा काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ ।