मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २० बिहीबार
  • Tuesday, 14 January, 2025
२o८१ मङ्सिर २० बिहीबार ११:११:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

माथिल्लो तामाकोशीबाट १० पुसभित्र आंशिक उत्पादन गर्ने तयारी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर २० बिहीबार ११:११:oo

१२ असोजको पहिरोबाट ४५६ मेगावाटको माथिल्लो तामाकोशीको हेडवर्क्समा क्षति हुँदा बन्द छ उत्पादन 

१२ असोजको पहिरोबाट प्रभावित भई बन्द भएको नेपालकै ठुलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् परियोजनाबाट पुस १० गतेभित्र विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ । बाढीले क्षतिग्रस्त उक्त परियोजनामा अहिले मर्मतसम्भार भइरहेको छ । पुस १० सम्म आंशिक उत्पादन गर्ने गरी मर्मतको कार्यतालिका तय गरिएको छ । यसअघि तिहारअघि नै आंशिक रूपमा सञ्चालन गर्ने बताइए पनि मर्मतको काम अनुमान नभएको बताइएको छ । 

आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावरका सञ्चालक समितिका अध्यक्षसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत (सिइओ)सहितको टोलीले बुधबार आयोजनाको स्थलगत अनुगमन गरी मर्मतसम्भारको जानकारी लिएका थिए । 

टोलीले आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी पुस १० भित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा विद्युत् बढी माग हुने पिक समयमा चलाउने गरी मर्मतसम्भार सम्पन्न गर्ने गरी समयतालिका तय गरिएको छ । विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ । अर्थात् ४५६ मेगावाट नै विद्युत् उत्पादन गर्न सकिनेछ ।

हिउँदयाममा विद्युत्गृह चलाउन नसकेमा आन्तरिक रूपमा विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण देखिएकाले जतिसक्दो छिटो विद्युत्गृहलाई सञ्चालनमा ल्याउने उपाय तय गर्न स्थलगत अनुगमन गरिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशीबाट तोकिएको समयमा विद्युत् उत्पादन गर्न नसकिएमा देशभित्रको मागबमोजिम विद्युत् आपूर्ति गर्न नसकी अप्ठ्यारो अवस्था आउने बताए । ‘आगामी मार्चसम्म दिउँसो र राति मात्र भारतबाट विद्युत् आयात अनुमति पाएकाले आन्तरिक उत्पादनले हिउँदयामको साँझ र बिहान (पिक समय)को विद्युत् माग धान्न गाह्रो छ, मार्च र अप्रिलमा रातिमा समेत आयात गर्न अनुमति पाएका छैनौँ, यस्तो अवस्थामा पिकिङ गर्न सकिने माथिल्लो तामाकोशी आएन भने अप्ठ्यारो अवस्था आउनेछ,’ उनले भने, ‘दायाँतर्फको डिस्यान्डरको मर्मतसम्भार आगामी वर्षायाम सुरु हुनुभन्दा पहिले नै सक्ने गरी काम अगाडि बढाऔँ, त्यसो गर्न सकिएन भने उत्पादन गर्न नसकी वर्षायाममा विद्युत् खेर पाल्नुपर्ने अवस्था आउन सक्छ, यस्तो संवेदनशील अवस्थामा सबै गम्भीर भएर मर्मतसम्भारमा लागौँ ।’

कम्पनीका सिइओ मोहनप्रसाद गौतमले मर्मतसम्भारका हरसम्भव उपाय अवलम्बन गरी तय गरेको तालिकाबमोजिम विद्युत् उत्पादन सुरु गर्ने गरी काम भइरहेको बताए ।

पहिरोले दोलखाको लामाबगरस्थित परियोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा ठुलो क्षति पुगेको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम)को दुईतले भवनमा माथिबाट आएको ठुल्ठुला ढुंगा बजारिएको थियो । त्यसले गर्दा कन्ट्रोल रुममा कार्यरत कम्पनीका दुई कर्मचारी र दुई सैनिक गरी चारजनाको मृत्यु भएको थियो ।

यसैगरी, बालुवा थिग्र्याउने दुई पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्‍याउने दुई भूमिगत नहर (कल्भर्ट)मा ठुलो क्षति पुगेको थियो । डिस्यान्डरमा रहेका दुईवटा पोखरीमा लेदो, गेग्रान, ठुल्ठुला ढुंगा थुप्रिएका थिए । फलस्वरूप विद्युत्  गृहसम्म पानी पुर्‍याउन नसक्दा परियोजनाको उत्पादन बन्द गरिएको छ ।

दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्यान्डर मर्मत गरी पुस १० गतेभित्र  उत्पादन सुरु गर्ने तालिका तय गरिएको हो । यसका लागि आंशिक रूपमा क्षति पुगेको डिस्यान्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिँदै छ । यसैगरी, कल्र्भटको भित्ता र सिलिङमा देखिएका चिराको ग्राउटिङ गर्ने काम समानान्तर रूपमा अगाडि बढाइनेछ । 

दायाँतर्फको अर्को डिस्यान्डर मर्मत र हाल सतहमा रहेको कन्ट्रोल रुमलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइनेछ । यो काम आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य तय गरिएको छ । वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारणलाइनको एउटा टावरको मर्मतसम्भार सकिएको छ ।

अर्धजलाशय प्रकृतिको यो परियोजना सरकारी स्वामित्वमा निर्माण गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी अपर तामाकोशी हाइड्रोपावारले यो परियोजना बनाएको थियो । 

सञ्चालनमा आए हट्नेछ विद्युत् कटौतीको जोखिम

तामाकोशीबाट हिउँदमा दिउँसो सय मेगावाटसम्म र पिक आवरमा ४५६ मेगावाट नै विद्युत् उत्पादन गर्न सक्छ । त्यसले हिउँदमा विद्यत्को माग धान्न ठुलो सहयोग गर्छ । हिउँदमा यो परियोजना सञ्चालनमा नआएमा लोडसेडिङसम्मको जोखिम हुन्छ । तर, पुस १० गतेभित्र परियोजना सञ्चालनमा ल्याउनसकेमा त्यस्तो जोखिम हट्नेछ । नेपालमा अहिले विद्युतकाे जडित क्षमता ३५ सय मेगावाट छ ।

त्यसमा अधिकांश नदी प्रवाहमा आधारित जलविद्युत् परियोजना छन् । ४५६ मेगावाट क्षमताको यो नेपालको सबैभन्दा ठुलो परियोजना हो । सबैभन्दा ठुलो र अर्धजलाशय प्रकृतिको भएकाले हिउँदको समयमा यसको महत्व धेरै छ । हिउँदमा दिनभरि पानी जम्मा पिकआवरमा क्षमतामा यो परियोजना सञ्चालन गर्न सकिन्छ । त्यसले हिउँदमा विद्युत्को माग धान्न ठुलो सहयोग गर्छ ।