मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १५ शनिबार
  • Thursday, 05 December, 2024
२o८१ मङ्सिर १५ शनिबार o७:३७:oo
Read Time : > 7 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एनपिएलमा तीन स्वदेशी र पाँच विदेशी प्रशिक्षक

Read Time : > 7 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १५ शनिबार o७:३७:oo

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) सुरु हुँदै छ । ६ पुससम्म चल्ने एनपिएलमा सहभागी आठ फ्रेन्चाइजले टोली बलियो बनाउन विभिन्न १६ राष्ट्रका अनुभवी विदेशी खेलाडी भित्र्याएका छन् । यी टोलीले प्रशिक्षणका लागि तीन नेपाली र पाँच विदेशीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएका छन् । जसमध्ये नेपालको राष्ट्रिय टोलीबाट दुईपटक मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका पुबुदु दासानायके पनि छन् । दासानायके लुम्बिनी लायन्समा आबद्ध छन् । यसैगरी, आयरल्यान्डका पूर्वखेलाडी केभिन ओ’ब्रायन विराटनगर किंग्सको प्रशिक्षकका रूपमा एनपिएलमा जोडिएका छन् । त्यसैगरी, भारतका उमेश पटवाल जनकपुर राइनोज, राजीव कुमार पोखरा एभेन्जर्स र नन्दन फड्निस लुम्बिनी लायन्सका प्रशिक्षक बनेका छन् । 

पुबुदु दासानायके (क्यानडा), प्रशिक्षक : जनकपुर बोल्ट्स
जनकपुर बोल्ट्सले अनुभवी प्रशिक्षक दासानायकेलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ । नेपाली क्रिकेटमा दासानायके परिचित नाम हो । उनले दुईपटक नेपालको राष्ट्रिय टोली सम्हालेका थिए । उनले पहिलोपटक २०११ देखि २०१५ र दोस्रोपटक २०२१ देखि २०२२ सम्म नेपाली टोलीलाई हेरेका थिए । पहिलोपटक मुख्य प्रशिक्षकका रूपमा उनले नेपाललाई सन् २०१४ को आइसिसी टी–२० विश्वकपमा पुर्‍याएका थिए । आइसिसी डिभिजन ४ देखि १ सम्म नेपालले स्थान बनाउन उनी नै मुख्य प्रशिक्षक थिए । श्रीलंकाका पूर्वखेलाडीसमेत रहेका दासानायकेले गत महिना नेपालले अमेरिकामा आइसिसी विश्वकप लिग–२ खेल्दा मेन्टरको भूमिका निर्वाह गरेका थिए । 

राजीव कुमार (भारत), प्रशिक्षक : पोखरा एभेन्जर्स
एनपिएलमा सर्वाधिक महँगो फ्रेन्चाइज टोली पोखरा हो । पोखराले विश्वचर्चित इन्डियन प्रिमियर लिग (आइपिएल)मा ब्याटिङ र फिल्डिङ प्रशिक्षकका रूपमा काम गरेका राजीवलाई मुख्य प्रशिक्षणको जिम्मेवारी दिएको छ । आइपिएलका अनुभवी प्रशिक्षक राजीवको प्रशिक्षणमा पोखराले एनपिएल खेल्दै छ । अहिले उनी झारखण्ड क्रिकेट टोलीका मुख्य प्रशिक्षकका रूपमा कार्यरत छन् । उनले पहिलोपटक नेपाली टोलीलाई प्रशिक्षण दिन लागेका हुन् ।

नन्दन फड्निस (भारत), प्रशिक्षक : लुम्बिनी लायन्स
भारतीय प्रशिक्षक नन्दनले करिअरमै पहिलोपटक क्लबस्तरीय प्रशिक्षण दिन लागेका हुन् । लुम्बिनीले उनलाई मुख्य प्रशिक्षकको  जिम्मेवारी दिएको छ । अहिले उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सल्लाहकार प्रशिक्षकका रूपमा छन् । नन्दनले नेसनल क्रिकेट एकेडेमी, गोवा क्रिकेट संघ र मुम्बई क्रिकेट संघमा प्रशिक्षकका रूपमा काम गरेको अनुभव छ । नन्दनले सन् १९८६ देखि १९९२ सम्म भारतको लिस्ट ‘ए’ क्रिकेट खेलेका थिए ।

उमेश पटवाल (भारत), प्रशिक्षक : जनकपुर राइनोज
चितवनले भारतका पटवाललाई मुख्य प्रशिक्षक बनाएको छ । उनीसँग नेपाली राष्ट्रिय पुरुष टोलीको प्रशिक्षण अनुभव छ । पटवालले एभरेस्ट प्रिमियर लिग (इपिएल)मा पोखरा राइनोजको प्रशिक्षण सम्हालेका थिए । पटवालसँग इन्डियन प्रिमियर लिग (आइपिए) र अफगानिस्तानको राष्ट्रिय टोलीसँग काम गरेको अनुभव छ । उनले अफगानिस्तानलाई ब्याटिङ प्रशिक्षण दिएका थिए । 

केभिन ओ’ब्रायन (आयरल्यान्ड), प्रशिक्षक : विराटनगर किंग्स
आयरल्यान्डलाई एकदिवसीयदेखि टेस्ट मान्यता दिलाउँदा केभिनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटको राम्रो अनुभव बटुलेका केभिनसँग प्रशिक्षण अनुभव छैन । तैपनि, चितवनले उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । नेपाली क्रिकेटमा उनको नाम परिचित छ । उनले एभरेस्ट प्रिमियर लिगमा काठमाडौं किंग्सबाट खेलेका थिए । उनले सन् २००६ देखि २०२१ सम्म आयरल्यान्डको राष्ट्रिय टोलीबाट खेलेका हुन् । उनले सन् २०११ मा भएको विश्वकप क्रिकेटमा इंग्ल्यान्डविरुद्ध ५० बलमा शतक पूरा गर्दै ऐतिहासिक जित निकालेका थिए ।

जगत टमाटा (नेपाल), प्रशिक्षक :  सुदूरपश्चिम रोयल्स
एनपिएलका तीन स्वदेशी मुख्य प्रशिक्षकमध्ये टमाटा एक हुन् । नेपाली क्रिकेटकै सफल प्रशिक्षक टमाटाले सुदूरपश्चिमको मुख्य प्रशिक्षकका रूपमा कार्यभार सम्हालेका छन् । उनीसँग नेपालको पुरुष, महिला सिनियर टोलीदेखि उमेर समूहमा प्रशिक्षण गराएको अनुभव छ । टमाटाकै प्रशिक्षणमा नेपालले एकदिवसीय मान्यता पाएको थियो । उनकै प्रशिक्षणमा नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाएको थियो । टमाटा अहिले सिनियर टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकका रूपमा छन् । उनले नेपाललाई तीनपटक आइसिसी यू–१९ विश्वकपसम्म पुर्‍याएका छन् । सन् २०१२, २०१६ र २०२४ मा नेपालले उनकै प्रशिक्षणमा यू–१९ विश्वकप खेलेको थियो ।

वसन्त शाही (नेपाल), प्रशिक्षक : काठमाडौं गुर्खाज
नेपाली क्रिकेटका पहिलो पुस्ताका खेलाडी वसन्तलाई काठमाडौंले एनपिएलका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ । उमेर समूहमा प्रशिक्षण गराएका वसन्तलाई एनपिएलमा फ्रेन्चाइज टोलीको जिम्मेवारी प्रदान गरिएको हो । नेपालले सन् १९९६ मा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दा उनी महत्वपूर्ण सदस्य थिए । नेपालले पहिलो खेल एसिसी ट्रफीमा बंगलादेशविरुद्ध खेलको थियो । उनले सन् २०२१ मा एसिसी यू–१९ एसिया कपका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका थिए । सन् २०२४ मा भएको आइसिसी टी–२० विश्वकपको तयारीका क्रममा उनी सहायक प्रशिक्षकको जिम्मेवारीमा थिए । 

ज्ञानेन्द्र मल्ल (नेपाल), प्रशिक्षक : कर्णाली याक्स 
दुई वर्षअघि ज्ञानेन्द्रले राष्ट्रिय टोलीबाट सन्न्यास घोषणा गरेका थिए । उनले एसिसी र आइसिसीको कोचिङ कोर्स गरेका छन् । प्रशिक्षणमा लागेको छोटो समयमै उनले नेपालको राष्ट्रिय ‘ए’ टोलीको मुख्य प्रशिक्षक जिम्मेवारी सम्हाल्ने अवसर पाए । कर्णालीले उनलाई दुईवटा भूमिका दिएको छ । मुख्य प्रशिक्षकसँगै उनले क्रिकेट डिरेक्टरका रूपमा काम गरिरहेका छन् । उनको प्रशिक्षणमा भारतका चर्चित क्रिकेटर शिखर धवन र हङकङका बाबर हायातले प्रशिक्षण लिनेछन् ।

एनपिएल खेल्न आइपुगे शिखर धवन

एनपिएलका विदेशी खेलाडीमध्ये सर्वाधिक चर्चित शिखर धवन शुक्रबार साँझ काठमाडौं आइपुगेका छन् । भारतीय राष्ट्रिय टोलीका ओपनर धवनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरे । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीमा विश्व क्रिकेटकै नाम चलेका खेलाडीका रूपमा उनलाई भित्र्याएको हो । 

३८ वर्षीय बायाँहाते धवनले आइपिएलमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद र पन्जाब किंंग्सबाट खेलेका छन् । धवनले सन् २०१६ मा हैदराबादलाई आइपिएल जिताएका थिए । भारतलाई एसिसी एसिया कपको उपाधि दिलाउँदा उनी महत्वपूर्ण खेलाडीका रूपमा थिए । ज्ञानेन्द्र प्रशिक्षक तथा सोमपाल मार्की रहेको कर्णालीले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । वेस्टइन्डिजबाट टेस्ट खेलिसकेका चादविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्वकप्तान जिसन मक्सुदलाई अनुबन्ध गरेको छ ।

२४ अन्तर्राष्ट्रिय शतक र ५५ अर्धशतक 
भारतबाट शिखरले ३४ टेस्टमा सात शतकको सहयोगमा दुई हजार तीन सय १५ रन जोडेका छन् । १६७ एकदिवसीयमा उनले १७ शतक र ३९ अर्धशतकमा ६ हजार सात सय ९३ रन बटुलेका थिए । ६८ टी–२०आईमा उनले ११ अर्धशतकमा एक हजार सात सय ५९ रन जोडे । उनले पहिलो श्रेणी क्रिकेटमा २५ शतक र २९ अर्धशतक बनाएका छन् । लिस्ट ‘ए’मा शिखरले १२ हजार ७४ रन जोडेका छन् । 

लिस्ट ‘ए’मा उनले ३० शतक र ६७ अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले टी–२० मा दुई शतक र ७० अर्धशतक बनाएका छन् । यस फम्र्याटमा उनले ३३४ खेलमा नौ हजार सात सय ९७ रन जोडेका छन् । उनले सन् २०१० मा उनले अस्ट्रेलियाविरुद्ध एकदिवसीयमा डेब्यु अवसर पाएका थिए । सन् २०२२ मा उनले अन्तिमपटक भारतबाट बंगलादेशविरुद्ध एकदिवसीय खेल खेलेका थिए । 

आइपिएलमा दुई शतक र ५१ अर्धशतक
आइपिएलको करिअरमा उनले विभिन्न पाँच फ्रेन्चाइज टोलीबाट प्रतिस्पर्धा गरेका छन् । उनले समग्रमा आइपिएलमा दुई सय २२ खेल खेलेका छन् । यसक्रममा ६ हजार सात सय ६९ रन जोडेका छन् । आइपिएलमा उनले दुई शतक र ५१ अर्धशतकीय इनिङ्स खेलेका छन् । उनले आइपिएलमा सात सय ६८ चौका र एक सय ५२ छक्का प्रहार गरेका छन् । बलिङ क्रममा उनले चार विकेट लिएका छन् । 

आठै फ्रेन्चाइजका कप्तानको दाबी

पहिलो संस्करणको एनपिएलमा शुक्रबार सहभागी आठै फ्रेन्चाइज टोलीका मार्की तथा कप्तानले आआफ्नो दाबी प्रस्तुत गरेका छन् । क्यानले एनपिएल सुरु हुने अघिल्लो दिन उनीहरूलाई त्रिवि मैदानको एउटै मञ्चमा राखेर तयारी र लक्ष्यबारे जानकारी दिएको हो । सहभागी आठमध्ये सात टोलीले आफ्ना मार्की खेलाडीलाई कप्तानको जिम्मेवारी दिएका छन् । तर, जनकपुर बोल्ट्सले मार्की खेलाडी नरहेका खेलाडी अनिल शाहलाई कप्तान बनाएको छ । अक्सनमा आठै टोलीले अधिकतम १५ लाख मूल्य लगाउने अनिल एक मात्र खेलाडी थिए । गोलाप्रथामा उनी जनकपुरको पोल्टामा परेका थिए । जनकपुरले शनिबार उद्घाटन खेलमा विराटनगर किंग्ससँग खेल्दै छ । सातवटै प्रदेशको सहभागिता हुने गरी फ्रेन्चाइज टोली तयार पारिएको छ । बागमती प्रदेशबाट काठमाडौं र चितवन छन् । एनपिएलमा लिग चरणमा हरेकले एक–आपसमा खेल्दा २८ खेल हुनेछ । प्लेअफमा क्वालिफायर र फाइनल गरी थप चार खेल हुनेछ । समग्रमा पहिलो संस्करणको एनपिएलमा ३२ खेल हुनेछ ।

आइपिएलजस्तै एनपिएलको माहोल बनेको छ : रोहित पौडेल (लुम्बिनी लायन्स)
हाम्रोे तयारी राम्रो भएको छ । पछिल्लो समय थप सात–आठ दिनको कडा तयारी भयो । अहिले यहाँको माहोल हेर्दा भारतको आइपिएलजस्तै यहाँ एनपिएल त्यही स्तरमा पुगेको जस्तो लाग्छ । एनपिएल खेल्न निकै उत्साहित छौँ । क्यानको आयोजनामा हुन गइरहेको एनपिएल फरक नहुने कुरै छैन । अहिले जता हेरे पनि एनपिएलकै चर्चा छ । 

विराटनगरको टोलीमा ब्यालेन्स छ : सन्दीप लामिछाने (विराटनगर किंग्स)
एनपिएलको तयारी गरिरहँदा सुरुमा गाह्रो भएको थियो । शनिबारदेखि एनपिएल सुरु हुँदै छ । हामी सबै उत्साहित छौँ । समग्रमा विराटनगर ब्यालेन्स टोली हो । नेपालमा पनि फ्रेन्चाइज लिग होस् भन्ने चाहना थियो । बाहिर हामी खेल्न जाँदा त्यहाँका साथीहरूले पनि नेपालको फ्रेन्चाइज लिगमा खेल्ने चाहना राखेका थिए । अबको तीन–चार वर्षपछि एनपिएलको हाइट धेरै माथि पुग्नेछ । पहिलो संस्करणभन्दा अर्कोपटक झन् राम्रो र बलियो टोली हुनुपर्छ । हामी खेलाडीबिच मैदानभित्र मात्र प्रतिस्पर्धा चल्छ । तर, मैदानबाहिर सबै एक–आपसका मिल्ने साथी हौँ । लिगमा पहिलो खेल जित्ने लक्ष्य राखेका छौँ । 

पोखरामै बढीजसो समय अभ्यास भयो : कुशल भुर्तेल (पोखरा एभेन्जर्स)
पोखराले पोखरामै प्रशिक्षण गरेको हो । भारतीय प्रशिक्षकबाट राम्रो प्रशिक्षण तयारी भयो । एनपिएलका लागि हामीले एक अभ्यास खेल खेल्यौँ । अभ्यास खेलले कमी–कमजोरी थाहा पायो । अहिले सबै खेलाडी लिग खेल्न उत्साहित छन् । 

शिखरको आगमनले कर्णाली बलियो बन्यो : सोमपाल कामी (कर्णाली याक्स)
कर्णालीको टोली बिलकुल नयाँ हो । विश्वचर्चित इन्डियन प्रिमियर लिग खेलेका शिखर धवनको आगमनले टोलीमा एक किसिमको उत्साह छ । यसैगरी, एसोसिएट राष्ट्रका उत्कृष्ट खेलाडी बाबर हायात रहँदा कर्णाली थप बलियो भएको छ । यी दुई दिग्गज खेलाडीसँग हामीले बढीभन्दा बढी सिक्ने प्रयास गर्छौँ । एनपिएलले नयाँ खेलाडी चिनाउनेछ । आइपिएलजस्तै एनपिएल पनि राम्रो हुनेछ । मलाई विश्वास छ, यसैबाट युवा खेलाडी राष्ट्रिय टोलीका लागि तयार हुनेछन् । 

काठमाडौंमा आएर निकै राम्रो तयारी गर्‍यौँ : अनिलकुमार साह (जनकपुर बोल्ट्स) 
जनकपुरबाट काठमाडौं आएर हामीले तयारी गरेका छौँ । जनकपुरको तयारी त्यति राम्रो भएन । जति राम्रो तयारी भएको छ, त्यो काठमाडौंमै हो । फेरि यहाँ अभ्यास खेलले पनि राम्रो गरेको छ । टोलीमा स्तरीय विदेशी खेलाडी आउँदा थप उत्साह बढेको छ । एनपिएल खेल्न हामी तयार छौँ । अहिले मलाई कप्तानीको जिम्मेवारी दिइएको छ । यसलाई इमानदारपूर्वक निर्वाह गर्ने प्रयासमा छु । आसिफसँग मेरो राम्रो कुरा भएको छ । हामी दुईजना मिलेर लिगमा राम्रो नतिजा निकाल्छौँ । सम्भवतः पहिलो खेल जितेर प्रतियोगिताको सुरुवात गर्छौँ ।

एनपिएलमा राम्रो नतिजा निकाल्ने विश्वास छ : दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स) 
एनपिएलका लागि हाम्रो पनि अभ्यास राम्रो भयो । प्रतियोगिताको तयारीस्वरूप सुदूरपश्चिमले मूलपानीमा तयारी गरेको थियो, जहाँ फ्रेन्चाइज टोलीसँग अभ्यास खेल खेल्यौँ । समग्रमा एनपिएलमा राम्रो नतिजा निकाल्ने विश्वास छ ।

एनपिएलबाट नयाँ खेलाडी आउनेछन् : करण केसी (काठमाडौं गुर्खाज)
काठमाडौंमा सबै विदेशी खेलाडी आइसकेका छन् । हाम्रो तयारी राम्रो भएको छ । अनुभवी वसन्त गुरुले हामीलाई राम्रो टिप्स र प्रशिक्षण दिनुभयो । यस किसिमको प्रतियोगिताबाट नयाँ खेलाडीले मौका पाउँछन् । एनपिएलबाट विश्वभरि हामी आफूले चिनाउने अवसर पाएका छौँ ।

चितवनमा एक हप्ताको तयारी गर्‍यौँ : कुशल मल्ल (चितवन राइनोज) 
एनपिएलका लागि चितवनले एक हप्ता तयारी गरेको छ । चितवनको तयारी राम्रो भएको छ । विश्वचर्चित टेलिभिजन स्टार स्पोर्टस्बाट एनपिएलको लाइभ प्रसारण हुँदा नेपाल र यहाँको क्रिकेटबारे सकारात्मक सन्देश जाने विश्वास छ । 

कर्णाली र महिन्द्राबिच सम्झौता
कर्णालीले मुख्य प्रायोजकमा अटोमोबाइल उत्पादक कम्पनी महिन्द्रा–अग्नि ग्रुपसँग सम्झौता गरेको छ । कर्णालीका मालिक झनकदत्त खनाल र महिन्द्राकी उपाध्यक्ष वेदा सताशा श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । महिन्द्रा ग्रुपकी उपाध्यक्ष श्रेष्ठले कर्णालीसँग जोडिन पाउँदा खुसी लागेको बताइन् । ‘आगामी लिगका लागि कर्णाली याक्ससँग जोडिन पाउँदा खुसी छौँ । कर्णाली याक्सलाई प्रतियोगिताका लागि शुभकामना छ,’ उनले भनिन् ।

कर्णालीले स्ट्रेन्थ पार्टनरमा टेन प्लास्ट र फेन्टासी पार्टनरमा ड्रिम ११ सँग सम्झौता गरेको छ । टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मा आइकोनिक प्लेयर्सका रूपमा छनोट भइसकेका छन् ।

जनकपुरलाई नेपोभिटको साथ
जनकपुर बोल्ट्सले टायल्स उत्पादक कम्पनी नेपोभिटलाई प्रायोजकका रूपमा एनपिएलमा भित्र्याएको छ । दुई पक्षबिच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रायोजनसम्बन्धी भएको कार्यक्रममा जनकपुरले नेपोभिटको लोगोसहितको आधिकारिक जर्सीसमेत सार्वजनिक गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनीष झाले खेलकुद क्षेत्रको विकासमा प्रायोजकहरूको भूमिका महत्वपूर्ण रहने बताए । उनले विभिन्न व्यापारिक संघ र संस्था प्रायोजकका रूपमा अगाडि आउँदा खेलकुद क्षेत्रमा नयाँ आयाम थपेको बताए । नेपोभिटका अध्यक्ष शम्भुनाथ झाले एनपिएलजस्तो प्रतियोगितामा जनकपुरसँग जोडिन पाउँदा खुसी लागेको जनाए ।