मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १५ शनिबार
  • Thursday, 05 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर १५ शनिबार o९:३१:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आठै फ्रेन्चाइजका कप्तानको दाबी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर १५ शनिबार o९:३१:oo

पहिलो संस्करणको एनपिएलमा शुक्रबार सहभागी आठै फ्रेन्चाइज टोलीका मार्की तथा कप्तानले आआफ्नो दाबी प्रस्तुत गरेका छन् । क्यानले एनपिएल सुरु हुने अघिल्लो दिन उनीहरूलाई त्रिवि मैदानको एउटै मञ्चमा राखेर तयारी र लक्ष्यबारे जानकारी दिएको हो । सहभागी आठमध्ये सात टोलीले आफ्ना मार्की खेलाडीलाई कप्तानको जिम्मेवारी दिएका छन् । तर, जनकपुर बोल्ट्सले मार्की खेलाडी नरहेका खेलाडी अनिल शाहलाई कप्तान बनाएको छ । अक्सनमा आठै टोलीले अधिकतम १५ लाख मूल्य लगाउने अनिल एक मात्र खेलाडी थिए । गोलाप्रथामा उनी जनकपुरको पोल्टामा परेका थिए । जनकपुरले शनिबार उद्घाटन खेलमा विराटनगर किंग्ससँग खेल्दै छ । सातवटै प्रदेशको सहभागिता हुने गरी फ्रेन्चाइज टोली तयार पारिएको छ । बागमती प्रदेशबाट काठमाडौं र चितवन छन् । एनपिएलमा लिग चरणमा हरेकले एक–आपसमा खेल्दा २८ खेल हुनेछ । प्लेअफमा क्वालिफायर र फाइनल गरी थप चार खेल हुनेछ । समग्रमा पहिलो संस्करणको एनपिएलमा ३२ खेल हुनेछ ।

आइपिएलजस्तै एनपिएलको माहोल बनेको छ : रोहित पौडेल (लुम्बिनी लायन्स)
हाम्रोे तयारी राम्रो भएको छ । पछिल्लो समय थप सात–आठ दिनको कडा तयारी भयो । अहिले यहाँको माहोल हेर्दा भारतको आइपिएलजस्तै यहाँ एनपिएल त्यही स्तरमा पुगेको जस्तो लाग्छ । एनपिएल खेल्न निकै उत्साहित छौँ । क्यानको आयोजनामा हुन गइरहेको एनपिएल फरक नहुने कुरै छैन । अहिले जता हेरे पनि एनपिएलकै चर्चा छ । 

विराटनगरको टोलीमा ब्यालेन्स छ : सन्दीप लामिछाने (विराटनगर किंग्स)
एनपिएलको तयारी गरिरहँदा सुरुमा गाह्रो भएको थियो । शनिबारदेखि एनपिएल सुरु हुँदै छ । हामी सबै उत्साहित छौँ । समग्रमा विराटनगर ब्यालेन्स टोली हो । नेपालमा पनि फ्रेन्चाइज लिग होस् भन्ने चाहना थियो । बाहिर हामी खेल्न जाँदा त्यहाँका साथीहरूले पनि नेपालको फ्रेन्चाइज लिगमा खेल्ने चाहना राखेका थिए । अबको तीन–चार वर्षपछि एनपिएलको हाइट धेरै माथि पुग्नेछ । पहिलो संस्करणभन्दा अर्कोपटक झन् राम्रो र बलियो टोली हुनुपर्छ । हामी खेलाडीबिच मैदानभित्र मात्र प्रतिस्पर्धा चल्छ । तर, मैदानबाहिर सबै एक–आपसका मिल्ने साथी हौँ । लिगमा पहिलो खेल जित्ने लक्ष्य राखेका छौँ । 

पोखरामै बढीजसो समय अभ्यास भयो : कुशल भुर्तेल (पोखरा एभेन्जर्स)
पोखराले पोखरामै प्रशिक्षण गरेको हो । भारतीय प्रशिक्षकबाट राम्रो प्रशिक्षण तयारी भयो । एनपिएलका लागि हामीले एक अभ्यास खेल खेल्यौँ । अभ्यास खेलले कमी–कमजोरी थाहा पायो । अहिले सबै खेलाडी लिग खेल्न उत्साहित छन् । 

शिखरको आगमनले कर्णाली बलियो बन्यो : सोमपाल कामी (कर्णाली याक्स)
कर्णालीको टोली बिलकुल नयाँ हो । विश्वचर्चित इन्डियन प्रिमियर लिग खेलेका शिखर धवनको आगमनले टोलीमा एक किसिमको उत्साह छ । यसैगरी, एसोसिएट राष्ट्रका उत्कृष्ट खेलाडी बाबर हायात रहँदा कर्णाली थप बलियो भएको छ । यी दुई दिग्गज खेलाडीसँग हामीले बढीभन्दा बढी सिक्ने प्रयास गर्छौँ । एनपिएलले नयाँ खेलाडी चिनाउनेछ । आइपिएलजस्तै एनपिएल पनि राम्रो हुनेछ । मलाई विश्वास छ, यसैबाट युवा खेलाडी राष्ट्रिय टोलीका लागि तयार हुनेछन् । 

काठमाडौंमा आएर निकै राम्रो तयारी गर्‍यौँ : अनिलकुमार साह (जनकपुर बोल्ट्स) 
जनकपुरबाट काठमाडौं आएर हामीले तयारी गरेका छौँ । जनकपुरको तयारी त्यति राम्रो भएन । जति राम्रो तयारी भएको छ, त्यो काठमाडौंमै हो । फेरि यहाँ अभ्यास खेलले पनि राम्रो गरेको छ । टोलीमा स्तरीय विदेशी खेलाडी आउँदा थप उत्साह बढेको छ । एनपिएल खेल्न हामी तयार छौँ । अहिले मलाई कप्तानीको जिम्मेवारी दिइएको छ । यसलाई इमानदारपूर्वक निर्वाह गर्ने प्रयासमा छु । आसिफसँग मेरो राम्रो कुरा भएको छ । हामी दुईजना मिलेर लिगमा राम्रो नतिजा निकाल्छौँ । सम्भवतः पहिलो खेल जितेर प्रतियोगिताको सुरुवात गर्छौँ ।

एनपिएलमा राम्रो नतिजा निकाल्ने विश्वास छ : दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स) 
एनपिएलका लागि हाम्रो पनि अभ्यास राम्रो भयो । प्रतियोगिताको तयारीस्वरूप सुदूरपश्चिमले मूलपानीमा तयारी गरेको थियो, जहाँ फ्रेन्चाइज टोलीसँग अभ्यास खेल खेल्यौँ । समग्रमा एनपिएलमा राम्रो नतिजा निकाल्ने विश्वास छ ।

एनपिएलबाट नयाँ खेलाडी आउनेछन् : करण केसी (काठमाडौं गुर्खाज)
काठमाडौंमा सबै विदेशी खेलाडी आइसकेका छन् । हाम्रो तयारी राम्रो भएको छ । अनुभवी वसन्त गुरुले हामीलाई राम्रो टिप्स र प्रशिक्षण दिनुभयो । यस किसिमको प्रतियोगिताबाट नयाँ खेलाडीले मौका पाउँछन् । एनपिएलबाट विश्वभरि हामी आफूले चिनाउने अवसर पाएका छौँ ।

चितवनमा एक हप्ताको तयारी गर्‍यौँ : कुशल मल्ल (चितवन राइनोज) 
एनपिएलका लागि चितवनले एक हप्ता तयारी गरेको छ । चितवनको तयारी राम्रो भएको छ । विश्वचर्चित टेलिभिजन स्टार स्पोर्टस्बाट एनपिएलको लाइभ प्रसारण हुँदा नेपाल र यहाँको क्रिकेटबारे सकारात्मक सन्देश जाने विश्वास छ ।