रुपन्देहीमा तस्करीको सामान बरामद गर्न खोज्दा राजस्व अनुसन्धान र सशस्त्र प्रहरीसहित सुरक्षाकर्मीको टोलीमाथि ढुंगामुढा प्रहार भएको छ। ढुंगामुढाबाट केही घाइते भएका छन् भने दुईवटा सवारीसाधनमा क्षति पुगेको छ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेका अनुसार तस्करी गरिएको सामान लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्न गएको टोलीमाथि आक्रमण भएको हो।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका– २ मुझाना गाउँमा राजस्व छली चिनी गोदाम गरी राखिएको भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्न टोली खटिएको थियो। राजस्व अनुसन्धान कार्यालय बुटवलबाट अनुसन्धान अधिकृत राजबहादुर विष्टसहित चारजना र सशस्त्र प्रहरी बल, नेपाल राजस्व प्रहरी एकाइ बुटवलबाट सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको कमान्डमा १० जनाको संयुक्त टोली खटिएको थियो।
मुझाना बस्ने ३२ वर्षका दिलीप लोधको घरमा खानतलासी गर्दा भेटिएको ११२ बोरा चिनी राजस्व छलेको आशंकामा नियन्त्रणमा लिइएको थियो। बिहीबार साँझ ६ बजे सामान बरामद गरी फर्किने क्रममा १५० देखि २०० जना स्थानीयहरूले सडक अवरुद्ध गरेका थिए। सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक दुर्गाबहादुर थापाका अनुसार झन्डै दुई सयजनाको समूहमा रहेका स्थानीयहरू मादक पदार्थ सेवन गरी बाटो अवरोध गरेर चिनी लुटपाट गर्न खोजेको र उनीहरूले सुरक्षाकर्मीको सवारी साधनमा ढुंगामुढा गरेको भन्ने खबर प्राप्त हुनसाथ तत्काल थप टोली खटिएको थियो।
उनका अनुसार सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगर, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेको संयुक्त समन्वय एवं सहकार्यमा सशस्त्रका एसपी थापा मगरसहितको ७० जनाको टोली तत्कालै परिचालित भएको थियो। सो टोलीले उक्त भिडलाई तितरबितर पारी बरामद चिनीसहित सवारीसाधनहरू राजस्व अनुसन्धान कार्यालय बुटवलमा पुऱ्याइएको थियो।
स्थानीयहरूको भिडले ढुंगामुढा गर्दा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लुम्बिनी रुपन्देहीको ना.१झ १४७७ नम्बरको गाडीको दायाँतर्फको झ्यालको दुईवटा सिसा पूर्ण रूपमा फुटेको छ। त्यस्तै सुरक्षाकर्मीको अर्को एक सवारीसाधनमा पनि क्षति पुगेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गणका सशस्त्र प्रहरी नायब निरीक्षक काशीप्रसाद चौधरीको दायाँ हात र सशस्त्र प्रहरी बल, नेपाल राजस्व प्रहरी एकाइ बुटवलमा कार्यरत सशस्त्र प्रहरी जवान चन्द्रमा पाण्डेको समेत दायाँ हातमा सामान्य चोट लागेको सशस्त्रका डिएसपी थापाले बताए। चौधरी र पाण्डेलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी राति नै पठाइएको थियो।
अर्को गोदाम खाली भेटियाे
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेका अनुसार दुईवटा गोदाममा झन्डै पाँच सय बोरा चिनी राखिएको भन्ने सूचनाका आधारमा राजस्व अनुसन्धान र सशस्त्र प्रहरीको टोली सो ठाउँमा पुगेको थियो। तर, त्यहाँ पुग्दा अर्को गोदाम खाली भेटिएको थियो।
गोदाम कसको हो भन्ने पहिचान हुन नसकेको टोलीले जनाएको छ। रुपन्देहीमा दक्षिणी सीमा क्षेत्रमा भारतबाट अवैध रुपमा सामान भित्र्याउने क्रम बढ्दो रहेको अवस्थामा राजस्वको टोली खानतलासीका लागि त्यहाँ पुगेको थियो। सो क्षेत्र बढी संवेदनशील रहेको पाइएकाले आगामी दिनमा थप सतर्कता अपनाएर सुरक्षा समन्वयमा अझ बढी सक्रियताका साथ चोरी–तस्करी नियन्त्रणमा खटिने घिमिरेले बताए।