युरोपको सीमित प्रतिरक्षा क्षमता र अमेरिकी आणविक छाताको घट्दो विश्वसनीयताले पुटिनलाई ट्रम्पसँगको सम्भावित सम्झौतापछि थप महत्वाकांक्षी बनाउन सक्छ
अमेरिकी सिनेटमा रिपब्लिकन पार्टीको नेतृत्वसहित जनवरी २०२५ मा ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको पुनरागमनलाई लिएर अमेरिकाका केही विरोधीले खुसी मनाउँदै गर्दा यसका अन्तर्राष्ट्रिय साझेदारबिच चिन्ता फैलिएको छ । युक्रेन युद्धका सन्दर्भमा ट्रम्पले वर्तमान भूअवस्थामै किभ र मस्कोबिच युद्धविरामका लागि दबाब दिने सम्भावना छ । ट्रम्पको आगामी प्रशासनले सन् २०१४ मा कब्जा गरिएको क्रिमिया र फेब्रुअरी २०२२ देखि भएको आक्रमणपछि ओगटेका क्षेत्रसहित रुसको क्षेत्रीय लाभलाई मान्यता दिने दीर्घकालीन सम्झौताको नेतृत्व गर्न सक्छ । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनलाई नेटो सदस्यता नदिइनुपर्ने मागलाई पनि सम्भवतः स्विकार्नेछन् । नेटोप्रति ट्रम्पको पहिलेदेखिकै विरोधलाई ध्यानमा राख्दा अमेरिकाले किभका युरोपेली साझेदारमाथि दबाब थप्नेछ । ट्रम्पले युक्रेनबारे पुटिनसँगको सम्झौतालाई समर्थन गर्न युरोपेली राष्ट्रलाई बाध्य पार्न नेटो गठबन्धनबाट बाहिरिने धम्की पनि दिन सक्छन् ।
ट्रम्पले ऐतिहासिक रूपमा इजरायल र साउदी अरबलाई समर्थन गर्दै आएका छन् । र, इजरायली प्रधानमन्त्री नेतन्याहुको प्राथमिकतासँग मिल्ने गरी इरानप्रति सख्त रबैया लागू गर्दै यो अडानलाई थप सुदृढ पार्ने सम्भावना छ । नेतन्याहुले इरानका छद्म सहयोगी हमास, हेजबुल्लाह र हुथीलाई सिध्याउने र इरानको क्षमतालाई कमजोर पार्ने लक्ष्य राखेका छन् । गाजा रणनीतिको विरोध गरेका इजरायली रक्षामन्त्री योभ ग्यालन्टको हालैको बर्खास्तीले प्यालेस्टाइन द्वन्द्व जारी नै रहने संकेत गर्छ ।
ट्रम्पको आगामी प्रशासन लेबनानप्रति आक्रामक हुन सक्छ र इजरायलतर्फ कुनै अर्को इरानी आक्रमण भएमा इरानमा सम्भवतः महत्वपूर्ण हमला गर्न सक्छ । ट्रम्प निर्वाचित हुनुले वास्तवमा नेतन्याहुलाई थप बलियो बनाउनेछ । र, यसले युक्रेन युद्धका लागि इरानको समर्थनमा भर परेका पुटिनका अगाडि ट्रम्पको स्थितिलाई पनि बलियो बनाउनेछ । ट्रम्पले युक्रेनमा सम्झौता सुरक्षित गर्न पुटिनसँग भविष्यमा नेतन्याहुको प्रभावलाई रोक्न सक्ने दाउ पनि अघि सार्न सक्छन् । युक्रेन र मध्यपूर्वले महत्वपूर्ण परिवर्तनको अनुभव गर्न सक्छ, तर अमेरिका–चीन सम्बन्धले परिवर्तनभन्दा बढी निरन्तरता पाउने सम्भावना देखिन्छ । चीनलाई प्रमुख रणनीतिक चुनौतीका रूपमा लिएर ट्रम्पले आफ्नो पहिलो कार्यकालदेखि नै चीनलाई तारो बनाउन आयात शुल्क बढाउने नीतिलाई निरन्तरता र तीव्रता दिनेछन् । यद्यपि ट्रम्पले अझै पनि राष्ट्रपति सी जिनपिङसँग व्यावहारिक लेनदेन सम्झौता लागू गर्न सक्छन् । नेटो र युरोपेली साझेदारप्रतिको आफ्नो बदलिएको प्रतिबद्धताको झल्को दिने गरी ताइबान, फिलिपिन्स, दक्षिण कोरिया र सम्भवतः जापानजस्ता एसियाली साझेदारको रक्षाबारे ट्रम्पको प्रतिबद्धता अनिश्चित छ । सुरक्षा प्रत्याभूतिमा ट्रम्पको अडान भरपर्दो देखिँदैन ।
यद्यपि ट्रम्पको पहिलो कार्यकालले तनावलाई युद्धको नजिक पु¥याएको थियो । अर्थात्, सन् २०१७ मा उत्तर कोरियाको अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षणपछि अमेरिका झन्डै युद्धतर्फ अग्रसर भएको थियो । प्योङयाङको अप्रत्याशित अवस्थालाई ध्यानमा राख्दै अर्को यस्तै घटना हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । ट्रम्पको अस्थिर प्रवृत्ति हेर्दा उनको प्रशासनले आणविक हतियारयुक्त उत्तर कोरियालाई रुससँगको बृहत्तर सम्झौताको हिस्साका रूपमा स्विकार्न सक्छ । अर्थात्, किम जोङ उनको शासनसँग ट्रम्पको सम्बन्ध बलियो पनि हुन सक्छ । यो कदमले रुस–उत्तर कोरियाको गहिरो सम्बन्धलाई लिएर चिन्तित चीनसामु ट्रम्प बलिया देखिनेछन् । साझेदार र विरोधी पक्षले ट्रम्पको फिर्तीका लागि बाँकी महिनामा आफ्नो स्थितिलाई बलियो बनाउन र उद्देश्य पूरा गर्न प्रयोग गर्नेछन् । किनभने, उनको ह्वाइट हाउस प्रवेशपछि यो काम गाह्रो हुन सक्छ । युक्रेन र मध्यपूर्वमा युद्ध अन्त्य गर्न ट्रम्पको कदमको अनुमान गर्दै विभिन्न पक्षले अनुकूल यथास्थिति सुरक्षित गर्ने प्रयास गर्दा लडाइँ बढ्ने सम्भावना पनि छ । यसले दुवै क्षेत्रमा पहिल्यैदेखि देखा परेको मानवीय संकटलाई थप खराब बनाउन सक्छ । कोरियाली प्रायद्वीप वरपर तनाव बढ्न सक्छ । प्योङयाङले सम्भवतः थप मिसाइल वा आणविक परीक्षण सञ्चालन गर्न सक्छ । युरोप, मध्यपूर्वमा बढ्दो द्वन्द्व र एसियामा बढेको तनावले तीनवटै क्षेत्रमा आफ्ना सहयोगीसँग अमेरिकाको सम्बन्ध थप तनावपूर्ण हुन सक्छ ।
युरोपलाई ट्रम्पले रुससँग सम्झौता गर्न सक्ने डर छ । ट्रम्पले युरोपियन युनियन र नेटो साझेदारलाई उपेक्षा गर्ने र परित्याग गर्ने धम्की दिँदै आएका छन्, जसले मस्कोसँग हुने कुनै पनि युक्रेनी वा युरोपेली सम्झौतालाई कमजोर बनाउनेछ । युरोपको सीमित प्रतिरक्षा क्षमता र अमेरिकी आणविक छाताको घट्दो विश्वसनीयताले पुटिनलाई ट्रम्पसँगको सम्झौतापछि थप महत्वाकांक्षा बढाउन हौसला दिन सक्छ । मध्यपूर्वमा नेतन्याहुले कुनै प्रतिबन्धको सामना गर्नुपर्नेछैन र केही अरब सत्ताले इरान र यसका छद्म शक्तिविरुद्ध इजरायलले उठाएका कदमलाई समर्थन गर्न सक्छन् । तर, यी अरब राज्य प्यालेस्टिनी मुद्दामा आउने प्रतिक्रियालाई लिएर चिन्तित भने हुन सक्छन् । अर्थात्, प्यालेस्टाइनको मूल मुद्दालाई सम्बोधन नगरी क्षेत्रीय स्थायित्व र शान्तिको सम्भावना देखिँदैन ।
एसियामा जोखिम भनेको अमेरिकी फिर्ती नभई यसले गर्ने अप्रत्याशित युद्ध हो । ट्रम्पले चीनसँगको ‘थुसाइडाइड्स ट्रयाप’बाट बच्न संघर्ष गर्नेछन् । अर्थात्, उनी कमजोर भइरहेको बलियो शक्ति अमेरिका र चुनौती दिने राष्ट्र चीनबिचको युद्धबाट बच्ने प्रयास गर्नेछन् । यसले अमेरिकी गठबन्धनको भविष्यबारे चिन्ता बढाउँछ, किनभने इन्डोनेसिया वा भारतजस्ता देश चीनसँग मिल्न पनि सक्छन् । नतिजा, ठुलो अस्थिरता निम्तिन सक्छ । परिस्थिति बिग्रिएमा उनले औँल्याउने गरेको कमजोरी उनकै कमजोरी हुनेछ । घरजग्गा व्यापार र भूराजनीतिक जटिलता समाधानमा धेरै भिन्नता छ, अर्थात् बाइडेन र ह्यारिसलाई लगाएको दोष आफ्नै कार्यकालमा निम्तिन सक्छ ।
(वुल्फ बर्मिंघम विश्वविद्यालयका अन्तर्राष्ट्रिय सुरक्षाका प्राध्यापक हुन्) द कन्भर्सेसनबाट