मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २२ बिहीबार
  • Saturday, 14 December, 2024
जिलियन केस्टलर–डी’अमोर्स
२o८१ कार्तिक २२ बिहीबार o६:५९:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ट्रम्पको दोस्रो कार्यकाल : कस्तो होला अमेरिकी विदेश नीति ?

Read Time : > 3 मिनेट
जिलियन केस्टलर–डी’अमोर्स
नयाँ पत्रिका
२o८१ कार्तिक २२ बिहीबार o६:५९:oo

अन्ततः अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको पुनरागमन भएको छ । निर्वाचन परिणामले विश्वको धेरै भागलाई प्रभाव पार्ने प्रायः निश्चित छ । यसपटकको चुनावी अभियानमा ट्रम्पले अध्यागमन र मुद्रास्फीतिलगायत विभिन्न घरेलु समस्या समाधान गर्ने वाचा गरे । उनले आफ्नो ‘अमेरिका पहिला’ विदेश नीतिमा फर्किने छनक पनि दिए, जसले ठुलो पृथकतावाद र न्यून अन्तर्राष्ट्रिय सहयोगतर्फ मोडिने संकेत गर्छ ।

तर, त्यसले ट्रम्पलाई पदभार ग्रहण गरेको २४ घण्टाभित्र युक्रेनविरुद्ध रुसी युद्ध अन्त्य गर्न, मध्यपूर्वमा शान्ति कायम गर्न र अमेरिकाको सबैभन्दा ठुलो भूराजनीतिक प्रतिद्वन्द्वी चीनमाथि प्रभुत्व जमाउन सक्ने भव्य दाबी गर्नबाट रोकेन ।

ट्रम्पले के भनेका छन् र उनले वास्तवमा के गर्न सक्छन् भन्नेबिचमा ठुलो अन्तर हुन सक्छ । सोही कारण विज्ञहरूले उनको भनाइमा पूर्ण रूपमा विश्वास गर्न नहुने चेतावनी दिएका छन् । विश्वले जलवायु संकटदेखि युक्रेन, गाजा र लेबनानमा युद्धसम्मका अनगिन्ती चुनौतीको सामना गरिरहेको छ । ट्रम्पले विदेश नीतिमा लिने दिशाले व्यापक प्रभाव पार्नेछ । तसर्थ, दोस्रो ट्रम्प प्रशासनले अमेरिकी विदेश नीतिका लागि के अर्थ राख्छ ? यहाँ केही प्रमुख मुद्दामा चर्चा गर्ने प्रयास गरिएको छ ।

इजरायलको ‘सबैभन्दा मिल्ने साथी’
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एकपटक डोनाल्ड ट्रम्पलाई ‘ह्वाइट हाउसमा इजरायलको सबैभन्दा राम्रो साथी’ भनेर वर्णन गरे । पदमा रहँदा ट्रम्पले अमेरिकी दूतावास तेल अभिभबाट जेरुसेलम सार्ने कदममा प्यालेस्टिनीहरू र अन्तर्राष्ट्रिय कानुन विशेषज्ञहरूले कडा निन्दा गरेका थिए । उनले सिरियामा कब्जा गरेको गोलान हाइट्समा इजरायलको दाबीलाई पनि मान्यता दिए ।

इजरायल र मुठीभर अरब देशबिचको कूटनीतिक र आर्थिक सम्बन्धलाई औपचारिक बनाउने सम्झौताको शृंखलाको रूपमा उनको प्रशासनले तथाकथित अब्राहम सन्धिलाई मध्यस्थता गर्‍यो । ट्रम्पले ‘समस्यामा पैसा फ्याँक्नु’ नै मध्यपूर्वमा द्वन्द्व समाधान गर्ने जवाफ हो भन्ने कुरामा धेरै हदसम्म विश्वास गर्ने सेन्टर फर इन्टरनेसनल पोलिसी थिंक ट्यांककी अध्यक्ष तथा सिइओ न्यान्सी ओकेल बताउँछिन् ।

तर, उनी पुनः निर्वाचित भएमा यस क्षेत्रमा शान्त हुनेछ भन्ने ट्रम्पको दाबीविपरीत आलोचकहरू भन्छन् कि उनको ‘शान्तिका लागि हतियार’ ढाँचा असफल भएको छ– जसको प्रमाण गाजा र लेबनानमा इजरायलको विनाशकारी सैन्य अभियानले मध्यपूर्वलाई सर्वव्यापी युद्धको छेउमा धकेल्यो । धेरैले मनन गरेका छन् कि ठुलो मात्रामा हतियारको स्थिर आपूर्ति र इजरायललाई कूटनीतिक समर्थनमार्फत अमेरिकाले पहिले नै ती द्वन्द्वलाई अगाडि बढाउन भूमिका खेलेको छ ।

‘हामीले देखेको नियममा आधारित विश्व व्यवस्था र अमेरिकी घरेलु कानुनको संरक्षण साथै अन्तर्राष्ट्रिय कानुनहरू पहिले नै तोडिएको र कमजोर पारिएको छ,’ ओकेलले भने । उनका अनुसार पदमा रहँदा ट्रम्पको अघिल्लो कार्यकाल उनको अस्थिरताले परिभाषित गरेको थियो । ह्वाइट हाउसमा ट्रम्पको अर्को चार वर्षको अस्थिरताले गम्भीर असर पार्न सक्छ । मध्यपूर्वमा द्वन्द्व पहिले नै बल्झिरहेको छ र उनको पुनारागमनले चिजहरूलाई अझै बिगार्न सक्ने ओकेल बताउँछिन् ।

युक्रेन र रुससँग ट्रम्पको सम्बन्ध कस्तो होला ?
ट्रम्पले ह्वाइट हाउसमा कमब्याक गरेको २४ घण्टाभित्र युक्रेन र रुसबिचको युद्ध सुल्झाउने दाबी गर्दै आएका छन् । ‘यदि म राष्ट्रपति हुँदो हुँ त त्यो युद्ध एक दिनमा समाधान गर्नेछु,’ उनले गत वर्ष सिएनएन टाउन हलमा भने ।

यो कसरी गर्नुहुन्छ भनेर सोध्दा ट्रम्पले केही विवरण पेस गर्दै आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेट्ने योजनामा रहेको बताएका थिए । ‘उनीहरू दुवैमा कमजोरी र सबल पक्ष दुवै छन् र २४ घण्टाभित्र युद्ध समाधान हुनेछ,’ उनले भने ।

पुटिनसँग कथित रूपमा घनिष्ठ सम्बन्ध रहेको बताउने ट्रम्पले युक्रेनलाई थप अमेरिकी सहयोगका लागि जेलेन्स्कीको अनुरोधको पनि आलोचना गरेका छन् । ‘यो युद्ध कहिल्यै समाप्त हुँदैन,’ उनले भनेका छन् । रुस–युक्रेन युद्ध सुल्झाउने विषयमा संकेत गर्दै ट्रम्पले जुनमा एउटा कार्यक्रममा भनेका थिए, ‘म ह्वाइट हाउसमा निर्वाचित राष्ट्रपति हुनुअघि नै यो कुरा मिल्नेछ ।’

लन्डनस्थित थिंक ट्यांक चथम हाउसमा अमेरिका कार्यक्रमकी निर्देशक लेस्ली भिन्जामुरी भन्छिन्, ‘हामीले ट्रम्पलाई अंकित मूल्यमा लिनुपर्छ । ‘उनले चाँडै सम्झौता गर्न सक्छन् र युक्रेनलाई थप सहयोग रोक्न सक्छन्,’ उनले भनिन् ।

उदाहरणका लागि ट्रम्पले पुटिनसँग सम्झौता गर्न सक्ने सम्भावना छ, जसमा जेलेन्स्कीको प्रयासलाई बाइपास गर्छ र सम्भावित रूपमा युक्रेन र यस क्षेत्रको सन्दर्भमा धेरै कुरा स्वीकार गर्न सक्छ,’ भिन्जामुरीले अल जजिरालाई भनिन् ।

‘पुटिन र रुससँग उनको कस्तो प्रकारको सम्बन्ध हुनेछ भन्ने प्रश्न पनि छ र यसले युरोपेली सन्दर्भमा रुसलाई थप हौसला दिन्छ कि दिँदैन भन्ने पनि छ । मलाई लाग्छ कि यो धेरै मानिसका लागि वास्तविक चिन्ता हो ।’

इरानसँग शत्रुतापूर्ण सम्बन्ध
ह्वाइट हाउसमा रहँदा वा बाहिर हुँदा ट्रम्पले इरानविरुद्ध कडा अडान राखे । राष्ट्रपतिको रूपमा ट्रम्पको पहिलो कार्यकालमा अमेरिका २०१५ को सम्झौताबाट एकपक्षीय रूपमा फिर्ता भएको थियो, जसका कारण इरानले अन्तर्राष्ट्रिय प्रतिबन्धको बदलामा आफ्नो आणविक कार्यक्रमलाई पुनः सञ्चालन गरेको थियो ।

पछि उनको प्रशासनले तेहरानविरुद्ध कठोर प्रतिबन्ध लगायो र शीर्ष इरानी जनरल कासिम सुलेमानीको हत्यालाई समर्थन गर्‍यो । सुलेमानीको हमलाले मध्यपूर्वमा तनाव बढाएको थियो । ‘जब म राष्ट्रपति थिएँ, इरान पूर्ण रूपमा नियन्त्रणमा थियो । तिनीहरू नगदको लागि भोका थिए र सम्झौता गर्न हतास थिए,’ उनले अक्टोबरको सुरुमा एक चुनावी अभियानमा भने ।

ओकेल भन्छिन् कि ट्रम्पको अर्को कार्यकालले ‘खतरनाक आणविक प्रसार’बारे चिन्ता बढाउन सक्छ । ‘यद्यपि, यी नेताहरू मध्यपूर्वमा काम गरिरहेका सबै मानिस र समूहमाथि वास्तवमा कत्तिको नियन्त्रणमा छन् भन्ने कुराको यो एकदमै संकीर्ण दृष्टिकोण हो,’ ओकेलले बताइन् । अमेरिकी कंग्रेसको संरचनाले पनि थप भूमिका खेल्न सक्छ । त्यहाँ वासिंगटन डिसीमा ‘कर्कस आवाजहरू’ छन्, जसले ट्रम्प प्रशासनलाई इरानविरुद्ध अझ चरम दृष्टिकोण अंगीकार गर्न दबाब दिन सक्छ । तर, ट्रम्पको ‘अमेरिका पहिलो’ सिद्धान्तलाई अँगालेका केही अमेरिकी रुढिवादीहरू हस्तक्षेपविरोधी छन् । ‘त्यसैले त्यो गणनामा कारक हुन सक्छ,’ 
ओकेल भन्छिन् ।

जिलियन आप्रवासन, शरणार्थी, राजनीतिक द्वन्द्व र मानव अधिकारको मुद्दामा कलम चलाउँछिन् ।