
प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराएका हुन्। उक्त खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही तीन लाखका दरले पुरस्कार पाउनेछन्।
विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त नभएको गुनासो आइरहेका वेला प्रधानमन्त्री ओलीको निर्देशनमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको छ र पुरस्कारमा कर लाग्ने व्यवस्था हटाइएको छ।
प्रधानमन्त्री ओलीले ५० हजारसम्म दर्शक अट्ने रंगशाला निर्माणका लागि सरकारले उचित स्थानमा जग्गा खोजिरहेको पनि जानकारी गराए। सो अवसरमा खेलाडीहरूले खेल सकिएको भोलिपल्टै खेलमाथिको प्रतिक्रियासहित आगामी दिनमा पूर्वाधार विकासका प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेकाेमा खुसी व्यक्त गरेका थिए।