मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
पवन तिमिल्सिना काठमाडाैं
Invalid date format o९:४९:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

भन्सार जाँच नगरी वस्तु आयात गर्न पाइने नीलो मार्ग लागू गर्ने तयारी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:४९:oo

नीलो मार्गबाट भित्रिएका वस्तुको परीक्षण चार वर्षसम्म गर्न सकिने, चार आर्थिक वर्षदेखि कारबाहीमा नपरेका व्यवसायीले नीलो मार्गको सुविधा लिन पाउने

सरकारले जाँच नगरी वस्तु आयात गर्न पाउने नीलो मार्ग कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । नीलो मार्गबाट आएका वस्तु आयातकर्ताले स्वघोषणा गरी जाँचपास गर्न पाउनेछन् । वस्तु आयातपछि परीक्षण गर्ने घोषणा गरेका आधारमा सामान भित्र्याउन पाइने भन्सार विभागले जानकारी दिएको छ । 

विभागले चालू आर्थिक वर्ष ०८१/८२ मा अन्तरक्रिया कार्यक्रममार्फत नीलो मार्ग अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न योग्य वस्तु, कम्पनी, संघसंस्था र भन्सार उपशीर्षक पहिचान गर्ने जनाएको छ । भन्सार जाँचपासपछिको परीक्षण भने भन्सारबाट सामान भित्रिएको चार वर्षभित्र गर्नुपर्ने व्यवस्था छ । यद्यपि, भन्सार ऐनले विभागका महानिर्देशकको अनुमति लिई चार वर्षपछि पनि परीक्षण गर्न सक्ने सुविधा दिएको छ । 

पछिल्ला चार आर्थिक वर्षदेखि पहेँलो मार्गबाट जाँचपासको सुविधा लिएर कारबाहीमा नपरेका आयातकर्तामध्ये विश्वसनीय आयातकर्ताबाट नीलो मार्गको सुरुवात गर्ने विभागको योजना छ । पहेलो मार्गको सुविधा लिने आयातकर्ताले ल्याउने सामानको कागजात मात्रै जाँच हुने गरेको छ । हाल रातो, पहेँलो र हरियो तीन मार्ग मात्रै कार्यान्वयनमा छन् । रातो मार्गमा राजस्व चुहावट र तस्करीको उच्च जोखिममा रहेका वस्तुहरूको जाँचपास हुने गरेको छ । यो मार्गबाट वस्तु र कागजात दुवै जाँच हुने गरेको छ । हरियो मार्गको सुविधा लिने आयातकर्ताले कुनै पनि जाँच प्रक्रियाको सामना गर्नुपर्दैन । तस्करीको कम जोखिममा रहेका वस्तुहरूलाई आयात गरिसकेपछि त्यसलाई पछिसम्म परीक्षण गर्न पाउने गरी नीलोमार्ग कार्यान्वयनमा ल्याउन लागिएको हो ।

भन्सारको जाँचपास प्रक्रियामा सुधार ल्याउने योजनामध्येको एउटा नीलो मार्गबाट जाँचपास गर्ने प्रणाली रहेको भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले जानकारी दिए । उनले भने, ‘हाल म्यानुअल तरिकाले जाँचपास प्रक्रिया चलिरहेको छ । अब स्वचालित प्रणालीमा लैजान खोजिएको छ । जोखिमका आधारमा प्रणाली आफैँले कुन वस्तु कुन मार्गबाट जाँचपास गर्ने निर्धारण गर्नेछ ।’

उनले यो प्रणालीबाट वस्तुको शीघ्र जाँचपास हुन गई व्यापार लागत घट्न जाने बताए । उनले भने, ‘यो प्रणाली लागू भएपछि व्यापार सहजीकरण र प्रोत्साहन हुने विश्वास छ ।’

विभागले चालू आर्थिक वर्षमा पुनः छड्के गरी हरियो र पहेँलो मार्गमध्येबाट कम्तीमा ५० प्रतिशत प्रज्ञापनपत्र जाँचपास हुने व्यवस्था मिलाउने उल्लेख छ । मेची, विराटनगर, वीरगन्ज, भैरहवा, कृष्णनगर, नेपालगन्ज, त्रिभुवन विमानस्थल, रसुवा र तातोपानी भन्सार कार्यालयमा मासिक १० पटक पुनः छड्के गर्ने र बाँकी भन्सार कार्यालयमा मासिक पाँचवटा कन्साइन्मेन्टमा पुनः छड्के गर्ने योजना रहेको विभागले जानकारी दिएको छ । 

०८३ को जेठसम्ममा ०.०५% प्रज्ञापनपत्रको जाँचपासपछि परीक्षण गर्ने लक्ष्य
भन्सार सुधार तथा आधुनिकीकरण योजना २०७८–२०८३ अनुसार ०८२ को जेठसम्म १२ वटा प्रमुख भन्सार कार्यालयमा रातो, हरियो, नीलो र पहेँलो मार्ग स्थापित गरिसक्ने उल्लेख छ । त्यस्तै त्यतिवेलासम्म वैदेशिक व्यापारको ८० प्रतिशत अंश (मूल्यगत) भौतिक परीक्षणविना जाँचपास भएको हुने लक्ष्य तय गरिएको छ । ०८३ जेठसम्म जोखिमका आधारमा वार्षिक ०.०५ प्रतिशत प्रज्ञापनपत्रहरूको जाँचपासपछिको परीक्षण हुने लक्ष्य छ । यो योजनाले सातवटा भन्सार कार्यालयमा नीलो मार्गबाट वस्तु जाँचपासको सुरुवात गर्ने उल्लेख गरेको छ ।

अध्ययन भन्छ– कानुन बाधक छैन, कुनै एउटा कार्यालयबाट पाइलटिङ गर्नु
भन्सार विभागका तत्कालीन उपमहानिर्देशक रमेश अर्याल (हाल ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक)को संयोजकत्वमा गठित अध्ययन कार्यटोलीले गत वर्ष २२ असोजमा नीलो मार्ग कार्यान्वयनमा ल्याउन अध्ययनसहितको प्रतिवेदन तयार गरेको थियो । प्रतिवेदनले भन्सार ऐनमा स्पष्ट व्यवस्था भएकाले यसको प्रक्रिया अगाडि बढाउन कानुनी रूपमा कुनै बाधा नपर्ने निष्कर्ष निकालेको थियो । 

ऐनको दफा २० को उपदफा (२)मा भन्सार अधिकृतले छनोट प्रणालीबमोजिम मालवस्तु जाँचपास गर्न सक्ने व्यवस्थाअन्तर्गत सोही उपदफाको खण्ड (ग)मा “मालवस्तु तथा तत्सम्बन्धी कागजातसमेत जाँच नगरी जाँचपासपछिको परीक्षण गर्ने गरी घोषणाका आधारमा मात्र जाँचपास गर्ने’ उल्लेख छ । 

यद्यपि, नीलो मार्गबाट वस्तु जाँचपास भइसकेपछि कागजात परीक्षण गर्ने कार्यलाई व्यवस्थित गर्नुपर्ने देखिएको प्रतिवेदनले औँल्याएको थियो । प्रतिवेदनमा भनिएको छ, ‘यस प्रणालीको प्रयोग गर्दा विभागबाट विश्वसनीय आयातकर्ता छनोट गर्नुपर्ने हुन्छ । यसका लागि केही परिसूचकहरू तयार गरी त्यसका आधारमा परिपालनाको उच्च अवस्था पहिचान गरी विभागीय निर्णय गरी कार्यान्वयनमा जान सकिन्छ । एकैपटक सबै भन्सार कार्यालयबाट नीलो मार्गको प्रयोग गर्नुभन्दा क्रमिक रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ ।’

अध्ययनले भन्सार प्रक्रियापछि नीलो मार्गबाट आएका वस्तुहरूको जोखिमको कसीमा शतप्रतिशत राखेर परीक्षण गर्ने कि आंशिक मात्र परीक्षण गर्ने भन्ने विषय मुख्य रूपमा यकिन गर्नुपर्ने निष्कर्ष निकालेको थियो । 

नीलो मार्गको प्रारम्भ कुनै एक प्रमुख भन्सार कार्यालयबाट पाइलटिङको रूपमा परीक्षण गरी क्रमशः विस्तार गर्दै लैजान सिफारिस गरिएको थियो । भन्सार जाँचपास परीक्षण कार्यालयमा दक्ष जनशक्ति व्यवस्थापन तथा निरन्तर क्षमता विकास गर्नुपर्ने र भन्सार जाँचपास परीक्षण कार्यालयमा सूचना प्रविधि, भौतिक पूर्वाधारको विकास गर्नुपर्ने प्रतिवेदनको सिफारिसमा उल्लेख छ ।  

राजस्वमा रातो मार्गबाट आयात हुने वस्तुको हिस्सा बढी 
भन्सार विभागका अनुसार कुल भन्सार राजस्वमा रातो मार्गबाट जाँचपास हुने वस्तुको आयातको ठुलो वर्चस्व देखिन्छ । आर्थिक वर्ष ०७९/८० मा कुल राजस्वमा रातो मार्गबाट आयात हुने वस्तुबापतको राजस्व ४३.०२ प्रतिशत छ । त्यस्तै, पहेँलो मार्गबाट आयात भएका वस्तुको हिस्सा ३०.८७ प्रतिशत र हरियो मार्गबाट हुने आयातको हिस्सा २६.१ प्रतिशत छ । त्यस्तै, कुल प्रज्ञापनपत्रमध्ये ५९.९ प्रतिशत पनि (राजस्वको उच्च जोखिम) रातो मार्गबाट जाँचपास भएका छन् । पहेँलो मार्गबाट २९.५१ प्रतिशत र हरियो मार्गबाट ११.४ प्रतिशत प्रज्ञापनपत्र जाँचपास भएको विभागले जानकारी दिएको छ । 

यद्यपि, कुल वैदेशिक व्यापारमा भने (कम जोखिम रहेको) पहेँलो मार्गबाट हुने वस्तु जाँचपासको वर्चस्व बढी देखिन्छ । कुल व्यापारमध्ये पहेँलो मार्गबाट आएका वस्तुको हिस्सा ४६.४७ प्रतिशत, रातो मार्गबाट आएका वस्तुको हिस्सा ३२.६९ प्रतिशत र (न्यून जोखिम रहेको) हरियो मार्गबाट २०.८३ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।