
लमजुङको मर्स्याङ्दी गाउँपालिकाको खुदीमा आयोजना गरिएको दसैँलक्षित कृषि तथा पशु हाटबजारमा २५ लाखभन्दा बढीको कारोबार भएको छ । गाउँपालिकाको कृषि सेवा केन्द्र खुदीको हातामा असोज १७ देखि १९ गतेसम्म पहिलोपटक दसैँलक्षित कृषि पशु हाटबजार सञ्चालन भएको थियो । हाटबजारमा खसी–बोकाका साथमा स्थानीयस्तरमा उत्पादित तरकारी तथा फलफूल बिक्रीका लागि ल्याइएको थियो ।
हाटबजार व्यवस्थापन समितिका सदस्य नवीनराज कुइँकेलले हाटबजारमा ड्रागन फ्रुट, काँक्रो, केरा, निबुवा, कागती, साग, टमाटर, घिउसिमीलगायतका फलफूल र तरकारीको राम्रो व्यापार भएको जानकारी दिए । हाटबजारमा कागुनोको चामल, पाहाको सुकुटी, रैथाने चियापत्ती, मोहीको रोटी, अमिलो, घरमौरी तथा भिरमौरीको मह, अकबरे खुर्सानीको अचार, मोही राम्रो बिक्री भएको उनले बताए ।
यसबाहेक हाटबजारमा डोको, थुन्से, राडीपाखी, बख्खुलगायत हस्तकलाका सामग्रीसमेत बिक्रीका लागि ल्याइएका थिए । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले हाटबजारमा २५ लाखभन्दा बढीको कारोबार भएको र भिरमौरीको मह मात्रै १२ लाखभन्दा बढी मूल्यको बिक्री भएको बताए ।
मर्स्याङ्दी गाउँपालिकाको सहयोगमा स्थानीय वस्तुहरूको बजारीकरणका लागि दसैँको अवसरमा गाउँपालिकामै पहिलोपटक कृषि हाटबजार मेला सञ्चालन गरिएको र यसबाट स्थानीय किसान र जिल्लाभरका उपभोक्ता लाभान्वित भएको अध्यक्ष गुरुङले बताए । हाटबजारले उत्पादक किसान र उपभोक्ता सबै उत्साहित भएका छन् । लगत्तै अब तिहारलक्षित हाटबजार सञ्चालन गरी आवश्यकताअनुसार साप्ताहिक हाटबजार सञ्चालन गर्ने सोच गाउँपालिकाले राखेको छ । पालिकाले किसानलाई अर्गानिक उत्पादनमा जोड दिन र उपभोक्तालाई पनि स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ ।
‘कृषि उत्पादन बढाऔँ, आत्मनिर्भर बनौँ, अर्गानिक उत्पादनमा जोड दिऔँ’ भन्ने नाराका साथ गाउँपालिकामै पहिलोपटक कृषि तथा पशु हाटबजार सञ्चालन गरिएको थियो । स्थानीय स्तरमा उत्पादित वस्तुहरूको बजारीकरणसँगै उपभोक्तालाई सहज होस् भन्ने उद्देश्यले पालिकामा पहिलोपटक हाटबजार मेला सञ्चालन गरिएको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष गुरुङको भनाइ छ ।