१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Tuesday, 12 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ३० बुधबार o८:o८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडाको अनुसन्धान केन्द्रलाई दक्षिण–पूर्वी एसियाली केन्द्र  बनाउन आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार o८:o८:oo

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हेटौँडामा रहेको कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रलाई क्षेत्रीय अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सघाउन विश्व स्वास्थ्य संगठनलाई आग्रह गरेका छन् । बर्लिनमा भइरहेको विश्व स्वास्थ्य शिखर सम्मेलनका क्रममा संगठनका महानिर्देशक डा. टेड्रोस गिब्रिएससँगको कुराकानीका क्रममा उनले सहयोगका लागि आग्रह गरेका हुन् । केन्द्रलाई दक्षिण–पूर्वी एसियाकै अनुसन्धान केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको उनले बताए । 

मन्त्री पौडेलको आग्रहमा डब्लुएचओका महानिर्देशक टेड्रोसले नेपालले संगठनको स्वास्थ्य लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै यस विषयमा सकारात्मक रहेको बताएका छन् । मन्त्री पौडेलले ६ प्रकारका खोप निःशुल्क उपलब्ध गराउन विश्व समुदायसँग आग्रहसमेत गरेका छन् । सम्मेलनका क्रममा विश्वव्यापी खोप अलाएन्स गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँगको भेटमा उनले नेपाल बालबालिकामा हुने क्यान्सरसँग जुध्न लागिपरेको भन्दै बाल क्यान्सर नियन्त्रणका लागि खोपको सहायताका लागि आग्रह गरे ।

सम्मेलनमा मन्त्री पौडेलले नेपालले स्वास्थ्यका विभिन्न सूचकांकमा सुधार ल्याइरहेको र थप सुधारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको धारणा राखे । नेपालका महिला स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिका तथा महिलाको खोप तथा पोषणमा भइरहेको सुधारको विश्वका स्वास्थ्य क्षेत्रका सरोकारवालाले प्रशंसा गरेका थिए । 

मन्त्री पौडेलले विभिन्न देशका स्वास्थ्यमन्त्रीसँग समेत छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । उनले जर्मनीका संघीय स्वास्थ्यमन्त्री कार्ल लउटरबचसँग भेटवार्ता गर्दै नेपालले डिजिटल स्वास्थ्यमार्फत स्वास्थ्य सुधार अघि बढाउने बताए । जर्मन मन्त्री लउटरबचले जर्मन अन्तर्राष्ट्रिय सहायता एजेन्सीमार्फत नेपाललाई दिन लागिएको करिब ३० मिलियन युरो स्वास्थ्य सहायताको प्राथमिकताबारे राखेको जिज्ञासामा पौडेलले डिजिटल प्रणालीको सुधार अघि बढाउने बताएका हुन् ।

नर्वेका स्वास्थ्यमन्त्री जाँ क्रिस्चियन भेस्ट्रे तथा युनिसेफका शीर्ष अधिकारीसँग समेत भेटवार्ता गर्दै पौडेलले स्वास्थ्य सुधारमा नेपालले गरिरहेको प्रयासमा ऐक्यबद्धताका लागि आग्रह गरेका थिए । युनिसेफका डेपुटी प्रोग्राम डाइरेक्टर ओमर अब्दीसँगको भेटमा मन्त्री पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाको परिचालन व्यवस्थित ढंगले गर्न सशक्तीकरणका लागि पर्याप्त सेवा–सुविधा उपलब्ध गराउन सघाउन आग्रह गरेका थिए ।