१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १९:५६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

थाहाका चार गाउँवासीले दसैँको टीका ३ कात्तिकमा लगाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५६:oo

मकवानपुरको थाहा नगरपालिकाको चित्लाङका गोपाली र गमाल समुदायले यस वर्षको विजयादशमीको टीका ३ कात्तिकमा लगाउने भएका छन्। 

चित्लाङका चार गाउँ न्हुँलगाउँ, टौखेल, कलाँटु र तल्लो बिसिङ्खेलका गोपाली र गमाल समुदायले दसैँ एक सातापछि सारेर ३ कात्तिकमा टीका लगाउने भएका हुन्। 

चित्लाङको न्हुँलगाउँ र टौखेलमा गोपाली तथा कलाँटु र तल्लो बिसिङ्खेल क्षेत्रमा गमाल समुदायका मानिसहरूको बसोबास छ।

स्थानीय रामकृष्ण गमालका अनुसार गोपाली र गमाल समुदायका मानिसले दसैँको टीका बसोबास गोपाली र गमालले परम्परागत चम्पाकेश्वर महादेव जात्रा लाग्ने दिन कात्तिक संक्रान्तिभन्दा दसैँअघि परेकाले यस वर्षको टीका सारेका हुन्। उनले १ कात्तिकमा परेको चम्पाकेश्वर महादेवको जात्रा मनाएर मात्रै ३ कात्तिकमा दसैँको टीका लगाउनेछन्।

कात्तिक संक्रान्तिदेखिको छैटौँ दिन महानवमी परेकोले दसैँपछि सरेको जात्राका गुरु श्यामबहादुर गोपालीको भनाइ छ। 

‘आठ दिनअघि गोपाली समुदायको परम्परागत जात्राका लागि ‘आँग’ अर्थात् प्रसादका लागि जाँड राख्ने दिन हो। कात्तिक संक्रान्तिको आठ दिनअघि महानवमी नपरेको भए दसैँ मान्थ्यौँ,’ उनले भने।

चम्पाकेश्वर क्षेत्र विकास समितिका सचिव कर्ण गोपालीका अनुसार कात्तिक संक्रान्तिका दिन गोपाली समुदायका गुठियारहरूले ‘आँग’ अर्थात् चार घेम्पो जाँड ल्याउने प्रचलन छ। जात्रामा किरा परिसकेको उक्त जाँड र ‘ककः बजी’ अर्थात् एकपटक मात्र कुटेको चिउरा प्रसादको रूपमा खाने गरिन्छ। उक्त प्रसाद खाएमा पेटका रोग निर्मुल हुने जनविश्वास रहेको सचिव गोपालीले बताए।

चम्पाकेश्वर महादेव जात्राको किंवदन्ती यस्तो छः
धार्मिक ग्रन्थ रामायणको पात्र वाणासुरको कथासँग चम्पाकेश्वर महादेवको उत्पत्तिको प्रसंग जोडिएकोले चम्पाकेश्वर महादेवको उत्पत्ति आदिकालमै भएको दाबी छ। 

गोपाली जातिको बहुल्यता रहेको यस क्षेत्रमा नाच र जात्रा चलाउन गुठीको व्यवस्था गरिएको छ। यस भेगमा पानी नपरेमा पानी माग्न र गाईवस्तुको रक्षाको लागि चम्पाकेश्वर महादेवलाई पुज्ने गरिन्छ।

यस मन्दिरमा पुर्ख्याैली घर पाटन रहेका राजोपाध्याय खलकका पुजारीले पूजा गर्ने प्रचलन छ। प्रत्येक वर्ष जात्रामा विशेष पूजाका लागि महादेवलाई जाँड र एकैपटक कुटिएको चिउरा चढाइन्छ। जसलाई स्थानीय बासिन्दा ककः बजी भन्दछन्।

सोही दिन बेलुकी काठको लठी ठोकाठोक गरेर टाउकोमा पगरी र पगरीभरि फूल सिउरेर स्थानीय गोपालीहरूले घरबुना खेसका कपडा लगाएर नाच देखाउने चलन रहेको छ। उक्त नाचलाई स्थानीय भाषामा ‘ट्वाक प्याखा’ भनिन्छ।

स्थानीय गोपालवंशी ग्वालाहरूको अत्यन्त श्रद्धाको पर्व चम्पाकेश्वर मेलामा विभिन्न गुठियारहरूले चार घेम्पो जाँड ल्याउने प्रचलन छ। किरा परिसकेको उक्त जााड र ‘ककः बजी’ प्रसादको रूपमा खाएमा पेटका रोग निर्मुल हुने जनविश्वास छ।

किम्बदन्तीअनुसार हालको थानकोटलाई प्राचीनकालमा शोणितपुर भनिन्थ्यो। त्यहाँ राजा बाणासुरले राज्य गर्दथे। एक दिन सिकार खेल्न राजपरिवार र सेनाहरू चन्द्रागिरि जंगल हुँदै बिसिङ्खेलको वनमा आइपुगे। उक्त वनको एउटा रुखमा फुलिरहेको चापको फूल राजकुमारीले देखेपछि उनी लोभिएको र उक्त फूल टिपेर ल्याउन अनुरोध गरिएको कथा छ।

कथाअनुसार फूलको रुखको फेदबाट हेर्दा फूल देखिने र टुप्पोमा पुग्दा हराउने गरेपछि राजालाई साह्रै रिस उठेछ। त्यसपछि कलाँटु गाउँकाँ काठका काम गर्ने व्यक्तिहरूलाई बोलाएर उक्त रुख काट्न आदेश दिएछन्। रुख काट्दा रगत आएको र एउटा ज्योतिर्लिँग पैदा भएपछि कलाँटुका गमालहरूले उक्त लिंग आफ्नो गाउँमा लगेर राखेछन्। 

तर, त्यो रात गाउँमा कुखुराको भाले नबासेपछि केही अनिष्ट भयो भन्ठानेर गाउँलेमा चिन्ता बढेछ। क्षमापूजा गरेपछि आकाशवाणी भएर ‘सोझा जाति गोपाली बस्ने टौखेलमा मलाई लगेर राख्नु’ भनेपछि अझै पनि जात्राको दिन टौखेलबाट शिवलिंग ल्याउने र जात्रा सकिएपछि फिर्ता लैजाने प्रचलन रहेको छ। अहिले पनि चापको रुखको ठुटो मन्दिरपरिसरमै छ।