बडादसैँ अहिलेको समयमा सद्भावको पर्वका रूपमा परिचित छ । अग्रजप्रति सम्मान प्रकट गर्ने, सबैजना जम्मा भएर रमाइलो गर्ने पर्वमा रूपमा यो विकास हुँदै छ । समयक्रमअनुसार विकसित हुँदै जान सकेकाले नै यो पर्व विशेष छ । दसैँ शक्ति उपासनाको पर्व हो । यो प्रकृति उपासनाको पनि पर्व हो । हाम्रो देश विविध भाषा र संस्कृतियुक्त भएकाले पनि यस पर्वको विशेष महत्व छ । यसले हामीलाई आपसी सद्भाव र सामूहिकतामा बाँच्न सिकाएको छ ।
भौगोलिक रूपमा नेपालको पहाड र तराईमा यो पर्व धुमधामसाथ मनाइन्छ । हिमाली क्षेत्रमा जमरा राख्ने र टीका लगाउने चलन नभए पनि यसका बासिन्दासमेत शक्तिको उपासनामा विश्वास राख्छन्, त्यहाँका बौद्धमार्गीमाझ ‘पल्देन ल्हामो’ अर्थात् चामुण्डाको उपासना गर्ने चलन छ ।
अहिले हिन्दू विधिअनुसार दसैँ मनाउने गरिन्छ । ठकुरी राजाहरूले आफ्नो राज्य विस्तार गर्दै गएपछि यो विधिअनुसार दसैँ मनाउने चलन बसेको हो । उतिखेर दरबारमा राजा बस्ने, राजा नभएका कोटमा मिर–उमरावहरू बस्ने, गढीहरूमा द्वारे बस्ने, गाउँगाउँमा मुखिया र तालुकदार बस्ने चलन थियो । एकै गाउँमा चार–पाँचवटा टोल र ती टोलैपिच्छे तालुकदार हुन्थे । कुनै–कुनै टोलमा दुई–तीनजनासम्म तालुकदार हुन्थे ।
तालुकदारहरूको त्यस्तो एकाइलाई झुत्ता भनिन्थ्यो, जो तत्कालीन प्रशासनिक एकाइ हो । गद्दीनसीन राजालाई राज्याधिकारी र राजाका बडागुरुज्यूलाई धर्माधिकारी मान्ने गरिएको थियो । फूलपातीको दिन दरबारमा बडागुरुज्यूबाट राजाले पानी समाउने र मूल पुरोहितले संकल्प वाक्य भनेर दसैँको पूजा गर्ने चलन थियो । राजा नभएका कोट, गढी गौँडामा राज्याधिकारीको प्रतिनिधि भएर कोटका मिर–उमराव, गढीका द्वारे, गाउँघरका मुखिया–तालुकदारले पानी समाउने, अनि धर्माधिकारीको प्रतिनिधि भएर बाहुन पुरोहितले संकल्प वाक्य भनेर कोटको मौलो पूजा गर्ने गरिन्थ्यो । दरबार र कोटहरूमा अझै पनि मौलो पूजा गर्ने, मालश्री धुन बजाउने, रणकौशलको अभ्यास पर्ने परम्परा प्रतीकका रूपमा कायम छ ।
आधुनिकताले गर्दा पुराना चालचलन हट्दै गए पनि नेपालीले दसैँ मान्न छाडेका छैनन् । अग्रजसँग आशिष थाप्न जान छाडेका छैनन् । दसैँको अवसरमा गाउँघर फर्किन बिर्सेका छैनन् ।
विगतमा दरबारमा फूलपाती भित्र्याएपछि बडाइँ गरिन्थ्यो र तोप पड्काएर घर–घरमा त्यसको खबर दिइन्थ्यो । काठमाडौं आसपासका सबै डाँडामा तोप पड्काएको आवाज धेरै पछिसम्म सुनिन्थ्यो । टाढाका गाउँघरमा कट्वालले गएर कर्नाल फुक्ने र त्यसपछि साइतको खबर दिने चलन थियो । रेडियो आउनुअघिसम्म पनि आदिम सञ्चार यसरी नै चलेको थियो । अहिले आधुनिक सञ्चारको विकास भइसकेको छ । अहिले इन्टरनेट गाउँ–गाउँमा पुगिसक्यो । कुनै पनि सूचना मानिसले तत्काल थाहा पाउने अवस्था छ । तर, अहिले पनि प्रतीकका रूपमा यो प्रथा बाँकी नै छ । हाम्रै गाउँ (कास्कीको मादी गाउँपालिका, याङ्जाकोटमा) कट्वाल प्रथा प्रतीकका रूपमा विद्यमान छ ।
दसैँमा राजा, मिर–उमराव, द्वारे, मुखिया र तालुकदारलाई मान्नुपर्ने व्यवस्था थियो । त्यसका लागि उनीहरूलाई कोसेली लैजाने गरिन्थ्यो । २०२२ सालमा भूमिसुधार लागू भएर तालुकी प्रथा हट्नुअघिसम्म पनि यस्तो चलन थियो । गढीका द्वारे, गाउँघरका मुखिया, तालुकदार बाहुन–क्षेत्री मात्रै थिएनन् । गुरुङ, मगर, राई–लिम्बू, दलित पनि थिए । उनीहरूले पनि हिन्दु विधिअनुसार नै दसैँ मान्न थालेपछि आमजनताले पनि यसरी नै यो पर्व मनाउन थाले ।
अहिले गाउँमा मानिस कम भए । दसैँ मान्न अझै पनि स्कुले केटाकेटी, क्याम्पसका विद्यार्थी गाउँ आउँछन् । पूजापाठ यथावत् छ । सान्दर्भिकता कम भए पनि कतिपय ठाउँमा कट्वाल प्रथा अझै जीवित छ । उहिले गाउँघरमा मानिसहरू मितव्ययितामा बाँचेका थिए । एउटा टालो दसैँमा फेर्ने भन्ने थियो । मिठो–मिसिनो खाने भन्ने थियो । वर्षमा एक दिन भुइँ छाड्ने (पिङ खेल्ने) भन्ने थियो । हुरी, अर्मपर्म (एक–अर्कालाई कृषि कार्यमा सघाउने) चलन थियो । मानिसहरू सामूहिकतामा बाँचेका थिए । अहिले त दिनदिनै दसैँ छ । अनलाइनबाटै सपिङ गर्न मिल्छ । खाना पनि भनेकै ठाउँमा आउँछ । यसले सामूहिक भावनालाई केही कम गरेको हुन सक्छ ।
विविध संस्कृतिको सम्मिश्रण : दसैँ मनाउने संस्कार आदिम कालदेखिकै हो । तर, मनाउने चलन भने फरक–फरक छन् । यसले नेपालीबिचको जातीय विविधता र सद्भावको प्रतिनिधित्व गर्छ । अहिलेको गोर्खामा कुनै समय तल्लोकोट, माझकोट र उपल्लोकोट भन्ने तीन राज्य थिए । तल्लो कोट र उपल्लो कोटमा घले राजा थिए । तत्कालीन समय लिगलिगका घलेहरू बडादसैँको टीकाको दिन तल चेपे नदीमा भोज खाएर, टीकाटालो गरेपछि दगुर्थे । कोटमा जो पहिले पुग्थ्यो, उही राजा हुने चलन थियो ।
हिमाली जिल्ला मनाङमा घटस्थापना हुँदैन र टीका पनि लगाइन्न । तर, त्यहाँको डाबा–साबामा भद्र–भलादमी भेला गरेर दसैँको टीकाका दिन भेडा काट्ने, जाँड खाने चलन बस्यो । लमजुङे राजाहरूको पालामा उनीहरूलाई स्वायत्तता दिइएको हुनाले यस्तो गरेका हुन् । आधुनिक नेपाल निर्माणपछि पनि राजाहरूले मनाङेहरूलाई विशेष स्वायत्तता र स्वतन्त्रता दिएका थिए । धेरै विशेषाधिकार पाएको हुनाले उनीहरू दसैँको टीकाको दिन राजा मान्नका लागि भेला भएर रमाइलो गर्छन् ।
प्रकृतिसँग भूमिपुत्रहरूको नजिकको सम्बन्ध छ । त्यसकारण ढुंगालाई पुज्ने, पानीको स्रोतको पूजा गर्ने, रुखको फेदमा पूजा गर्ने आदि चलन अनादिकालदेखि नै चल्दै आएको छ । जमरा राख्ने संस्कार गुरुङमा अनादिकालदेखि छ । प्राचीन ‘क्होल’ र अहिलेको ‘पस’ गाउँलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । लमजुङ हिमालको फेदीमा रहेको क्होल गाउँमा मनाङतिरबाट एकजना गुरुङ सिकार खेल्दै आउँदा उनलाई उक्त ठाउँ निकै मन परेको किंवदन्ती छ । त्यहाँ बस्ती बसाल्नका लागि उनले माटो परीक्षण गरेका थिए । त्यसका लागि आफूसँग भएको केही उवाको गेडा छरेर गए । अर्को वर्ष आउँदा उवा त लहलह भइसकेको देखेपछि उनले खेतीयोग्य भूमि रहेको थाहा पाए । त्यसपछि उनले त्यहाँ बस्ती बसालेको किंवदन्ती छ । जमरा राख्ने भनेको माटोको परीक्षण हो ।
लमजुङकै पस गाउँमा पैँडीले दिएको साइतअनुसार गुरुङहरूले दुनाटपरी भण्डारमा लगेर सुनपानी छर्केर पूजा गर्छन्, माटो मोलेर त्यसमा बिउ राख्छन् । त्यसपछि त्यही बिउलाई अन्य बिउसँग मिसाएर ब्याडमा लगेर राख्छन् । यस्तो परम्परा त अझै जीवित छ । गुरुङले फूलपातीको दिनमा पितृपूजा गर्ने चलन अझै छ । आफूले मासुभात खानुभन्दा पहिले पितृलाई भागे दिने परम्परा कायमै छ ।
फूलपातीको बिहान गाउँदेखि बाहिर वनमा गएर वायुपूजा गर्ने गरिन्छ । वायु अर्थात् आफ्ना अगति परेका पितृलाई ‘दसैँ आयो, खाऊ पिऊ’ भनेर मान दिएपछि बल्ल आफूले मासुभात खाने चलन छ । त्यसैगरी कालरात्रिको दिन गुरुङहरूले झाँक्री, घ्याब्री, लामा बोलाएर आआफ्नै विधिले पूजा गर्छन् । अनि, दसैँको टीका लगाएपछि पैँडी अर्थात् (ज्योतिष÷विद्वान्) भएको ठाउँ पुगेर आना–माना गर्छन् । आना–माना भन्नाले एक आना पैसा, एक माना चामल र रक्सी राखेर वंशावलीको भाषा फुकाउने कार्य हो । पैँडीले वंशावली सुनाउँछन् । वंशावली त गौरव गाथा हो । त्यो वंशावलीको भाषा फुकाएर वंशावली सुन्ने दिन दसैँको टीकाको दिन हो ।
हाम्रा पर्व विज्ञानसम्मत छन् । बर्खाभरि अक्सर हिलोमा चोबलिएको, झरीमा रुझेको, कटेरोमै सुतेको किसानले राम्रो खान पाएका हुँदैनन् । यतिवेला किसानहरू टकटक्याएका माछाजस्तो हुन्छन् । त्यसैले त्यतिवेलाको सर्दी फाल्न उनीहरू दसैँमा पुग्ने गरी मासु र भात खान्छन् । विशेषगरी, झोल मासु मान्छन् । त्यो पचाउन लिंगे पिङ खेल्छन् । एकैपटक धेरै मासु खाँदा अपच भएर झाडाबान्ता वा अन्य रोग लाग्यो भने समस्या हुन्छ । त्यही भएर मज्जाले मच्चिएर पिङ खेल्छन् । वर्षाभरि सुकेर बसेका मांसपेशी सक्रिय हुन्छन् । गुजुल्टिएर बसेका नसाहरू तन्कन्छन् । यो निकै वैज्ञानिक छ ।
नवरात्रको महत्व : वर्षमा चारवटा नवरात्र छन् । यसमध्ये शरदीय दुर्गा पूजा बडादसैँ हो । यतिवेला उपासना गर्नाले देवी विशेष खुसी हुन्छिन् भन्ने विश्वास रहिआएको छ । मोह, तमस, कामवासना वा आसक्तिलाई रात्र वा कामवासनाका रूपमा लिइन्छ । हाम्रो शरीरका नौवटा छिद्रले ग्रहण गर्ने आसक्ति हटाउन हामी नवरात्रिको पूजा गर्छौं । हामीभित्रको आसक्तिलाई हटाएर छिद्रहरूलाई थप सबल बनाउन व्रत बसिन्छ ।
आँखाले पाप चिताएको हुन सक्छ, मनमा कुविचार पलाएको हुन सक्छ । नौ दिनसम्म लगातार उपासना गरेर यस्ता मोह र आसक्तिमाथि विजय हासिल गरेपछि ती छिद्रहरू थप सबल बन्छन् र सफा हुन्छन्, त्यसैको खुसीमा दशमीको दिन उत्सव मनाउने गरिएको हो । आधुनिकताले गर्दा पुराना कुरा हट्दै गए । साधन पक्ष केही कमजोर हुँदै गएको छ । तर, पनि नेपालीले दसैँ मान्न छाडेका छैनन् । अग्रजसँग आशिष थाप्न जान छाडेका छैनन् । अहिले त विदेशमा पनि नेपाली समुदायको उपस्थिति बाक्लो भयो । त्यहाँ पनि रातो अक्षताको टीका र पहेँलो जमरा लगाएर पिङ खेल्ने चलन नेपालीको ट्रेडमार्क बनेको छ । त्यसैले, बडादसैँको महत्व झन्झन् बढ्दै गएको देखिन्छ ।