मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १९:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्गा प्रसाईंका समर्थकले ट्रकमा आगो लगाउँदा जलेका चालकको मृत्यु

साइबर अपराधमा प्रसाईं पक्राउको विरोधमा ७ असोजमा उनका समर्थकले भारतीय नम्बरप्लेटको ट्रकमा चालकसहित लगाएका थिए आगो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२३:oo

व्यवसायी दुर्गा प्रसाईंका समर्थकको अराजकताका कारण एक भारतीय नागरिकको ज्यान गएको छ। 

साइबर अपराधमा पक्राउ परेका प्रसाईं पक्राउको विरोधमा सात असोजमा उनका समर्थकले गरेको बन्दमा ट्रक चलाएको भन्दै भारतीय ट्रकलाई चालकसहित आगो लगाएका थिए। उनीहरूले पूर्व-पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड– ६ मा चालकसहित ट्रकमा आगो लगाएका थिए। 

पूर्वतर्फ जाँदै गरेको डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रक पूर्ण रूपमा जलेर क्षतिग्रस्त बनेको थियो भने त्यसका चालक भारत इस्लामपुरका ४० वर्षीय पोदो राय गम्भीर घाइते भएका थिए। 

घाइते चालकको उपचारको क्रममा आइतबार भारतको दार्जिलिङस्थित बंगाल मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाकी निमित्त प्रवक्ता प्रहरी निरीक्षक मेहगी ल्हामु तामाङले जानकारी दिइन्। उनका अनुसार रायको शव भद्रपुरस्थित प्रादेशिक अस्पतालमा ल्याई पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ। 

आगजनीमा संलग्न दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता धर्म-संस्कृति नागरिक बचाउ महाअभियानका आठजना कार्यकर्तालाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो। पक्राउ पर्नेमा अभियानका झापा सदस्य विवश लिम्बू, बलिहाङ माबो लिम्बू, मेचीनगर इन्चार्ज राजेश महत, कोषाध्यक्ष रुद्र भुजेल, झापा सल्लाहकार वीरबहादुर गुरुङ, झापा सदस्य उदय लिम्बू, भीम तुम्बाहाम्फे र विजय चौधरी छन्। 

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको निमित्त प्रवक्ता तामाङले जानकारी दिइन्। ‘ज्यान मार्ने उद्योग र अपराधिक उपद्रोमा अनुसन्धान भइरहेको थियो। मानिसको मृत्यु भएपछि अब कर्तव्य ज्यान मुद्दामा अनुसन्धान हुन्छ,’ उनले भनिन्।