मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:११:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय युवा संसद् घोषणा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:११:oo

ग्लोबल युथ पार्लियामेन्टले ‘राष्ट्रिय युवा संसद्’ अभियानको घोषणा गरेको छ। 
देशभित्रका र विदेशमा छरिएका तमाम युवालाई राष्ट्र निर्माणको महान् यज्ञमा हातेमालो गर्नका लागि ‘राष्ट्रिय युवा संसद्’ नामक अभियानको घोषणा गरिएको हो। 

आज राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्यमा अभियानको घोषणा गरिएको हो। यस अभियानको मिसन युवालाई लोकतान्त्रिक प्रक्रिया र नेतृत्व भूमिकामा सशक्त र संलग्न गराउनुरहेको छ। 

सामाजिक विकास र राष्ट्र निर्माणमा प्रतिबद्ध, सूचित, जिम्मेवार र सक्रिय नागरिकको पुस्तालाई प्रवर्द्धन गर्नु यसको ध्येय हो। युवालाई एकै ठाउँमा गोलबद्ध गर्न दुई वर्षसम्म तयारीका रूपमा चल्ने यस अभियानले युवाको सशक्तीकरण, नेतृत्व विकास र उनीहरूको राजनीतिक तथा सामाजिक जागरुकतामा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। 

यस कार्यक्रमले नेपालका १६५ निर्वाचन क्षेत्रबाट एक–एकजना सक्रिय युवालाई प्रोफाइल, सामाजिक प्रभाव र अनलाइन भोटिङको मिश्रित विधिबाट दुई वर्षका लागि चयन गर्नेछ। यस प्रक्रियाअन्तर्गत १ वैशाख ०८२ मा १६५ निर्वाचित गरी राष्ट्रिय युवा सांसदकाे  घोषणा गरिनेछ। 

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशमा मनपरीतन्त्र भएको र खुलेआम व्यापक भ्रष्टाचार मौलाएको बताइन्। उनले भनिन्, ‘नमर्दासम्म पद नछाड्ने, पदसहित नै आर्यघाट पुग्ने प्रवृत्ति लोकतन्त्र हो ? अब युवाले नेतृत्व लिनुपर्दछ। तर, सबै युवालाई प्रलोभन बाँड्न आउँछन्, होसियार रहनुहोला।’

अभिनेता नायक राजेश हमालले युवाले आफूमा भएको ऊर्जालाई कसरी प्रयोग गर्ने भन्नेमा सदैव सचेत हुनुपर्ने र आफ्नो धरातलीय यथार्थबारे पनि जानकार हुँदै कसरी माथि उठ्ने भन्नेमा सोच्नुपर्ने बताए। 

‘युवाले आफ्नो वास्तविकता के हो ? चुनौती के हो ? कस्तो किसिमको दलदलमा हामी फसेका छौँ ? भन्ने मनन नगर्ने हो तपाईंहरू कसरी दलदलबाट उम्कनुहुन्छ ?, त्यसैले युवा पुस्ता सचेत बन्दै देशलाई हाँक्ने सामर्थ्य राख्नुपर्छ,’ हमालले भने। 

वरिष्ठ पत्रकार एवं साहित्यकार डा. नवराज लम्सालले मुलुकका धेरै मान्छेहरू विभिन्नखाले अन्याेलमा देखिएको बताए । प्रत्येक मान्छेले कसरी सांसद, मन्त्री र प्रधानमन्त्री बन्ने भनेर मात्र सोचेको हुन्छ, तर सांसद, मन्त्री र प्रधानमन्त्री भएपछि के गर्ने ? भनेर कसैले सोच्दैन, त्यसैले आजका युवामा भिजन हुनु आवश्यक रहेको उनले बताए। 

बैंकर्स मनोज ज्ञवालीले पुराना नेताहरूले धेरै संघर्ष गरेर नेपाललाई यहाँसम्म पुर्‍याउनुमा उहाँहरूको महत्त्वपूर्ण योगदान भए पनि अब युवा पुस्ताले देशलाई हाँक्नुपर्ने वेला आएको भन्दै युवाहरू तात्नुपर्ने वेला आएको बताए। 

राजनीतिक अस्थिरता र देशमा धेरै दल हुँदा पनि देशको विकासले गति लिन सम्भव नभएको ज्ञवालीले बताए। पत्रकार टीकाराम यात्रीले यस्तो विषम परिस्थितिमा पनि मुलुक परिवर्तनका महान् अभियान सञ्चालन हुनु देशका लागि सकारात्मक सन्देश रहेको बताए। 

ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले अनेकन व्यवस्था परिवर्तनले पनि बदल्न नसकेको देश र नागरिकको अवस्था उल्ट्याउन अब बल भएका पाखुरी र विचार भएका दिमागी युवा एक ठाउँमा जोडिनुको विकल्प नभएको भन्दै अभियानको घोषणा गरिएको बताए। उनले नागरिकलाई आर्थिक सम्पन्न गराउने दिशामा चित्तबुझ्दो काम हुन नसक्दा युवाहरूमा निराशा पलाएको उनको भनाइ थियो।

अभियन्ता निगम हुमागाईंले राष्ट्रिय युवा संसद्ले नयाँ पुस्ताका युवा नेताहरूलाई सकारात्मक दबाब सिर्जना गर्न र सशक्तीकरणका लागि सहयोग पुर्‍याउने बताए। 

अभियन्ता सरोज बानियाँले युवाको सक्रिय सहभागितालाई राष्ट्रिय नीति निर्माणमा जोड दिन र देशभरिका युवालाई एकै ठाउँमा ल्याएर उनीहरूको आवाजलाई राजनीतिक र सामाजिक निर्णय प्रक्रियामा समावेश गराएको बताए।

अभियन्ता एवं नागरिक समूहका संस्थापक अध्यक्ष निगम हुमागाईं, युवा अभियन्ताहरू केपी खनाल, टासी ल्याम्जो, सरोज बानियाँ, चिकित्सक डा. निकोलश भुसाल, वरिष्ठ अधिवक्ता रमण कर्ण, सन्तोष गिरी, मुस्कान खातुन, युवा उद्यमी श्रेया गिरी, चिकित्सक डा. राम्जी रामलगायतका युवाहरूले राष्ट्रिय युवा संसद् घोषणाले देश तथा विदेशमा रहेका युवालाई एक ठाउँमा जोडेर देश र देशव्यापीका लागि केही नयाँ गर्ने प्रतिबद्धता जनाए। 

सन् २०१२ सालमा स्थापना गरिएको ग्लोबल युथ पार्लियामेन्टले विश्वभरमा ८६ देशका युवालाई जोडेर कार्यक्रम गरिसकेको छ।