Skip This
कान्ति लोकपथ सञ्चालन गर्न दुई साता लाग्ने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १६ बुधबार
  • Thursday, 22 May, 2025
बाढीले कटान गरेको मकवानपुर र ललितपुर जोड्ने बागमती नदीमाथिको बगुवा पुलको पश्चिमतर्फको स्ल्याब र कालोपत्रे
२o८१ असोज १६ बुधबार o९:४५:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कान्ति लोकपथ सञ्चालन गर्न दुई साता लाग्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १६ बुधबार o९:४५:oo

बाढीले कटान गरेको मकवानपुर र ललितपुर जोड्ने बागमती नदीमाथिको बगुवा पुलको पश्चिमतर्फको स्ल्याब र कालोपत्रे

हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथको पुनर्निर्माण गर्न कम्तीमा दुई साता लाग्ने भएको छ । मंगलबार हेटौँडा–ठिंगन–बकैया हुँदै बागमती पुलसम्मको अवलोकनपछि डिभिजन सडक कार्यालय मकवानपुरका प्रमुख गुरु अधिकारीले कान्ति लोकपथ पुनर्निर्माणमा दुई साता लाग्ने बताएका हुन् ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाललगायतको टोली सडक खण्डको अवलोकनका लागि पुग्दा प्रमुख अधिकारीले पुनः निर्माणका लागि दुई साता लाग्ने जानकारी गराएका थिए ।

गत शुक्रबार र शनिबारको अविरल वर्षापछिको बाढीपहिरोले कान्ति लोकपथअन्तर्गत मकवानपुरको खोरभन्ज्याङ र बगुवा क्षेत्रमा ठुला पहिरो खसेको छ भने मकवानपुर र ललितपुर जिल्ला जोड्ने बागमती नदीमाथिको बगुवा पुलको पश्चिम भाग मकवानपुरतर्फ ठुलो क्षति पुर्‍याएको छ ।

बागमतीले मकवानपुरको बागमती गाउँपालिका– ८ महादेवटारतर्फ पुलबाट झन्डै १५ मिटर स्ल्याब र करिब चार सय मिटर कालोपत्रे सडक बगाएको छ । प्रमुख अधिकारीका अनुसार अहिले बागमती नदी सोही कालोपत्रे सडक भएको स्थानबाट बगिरहेको छ । उनले तत्काल खोलाको धार अन्यत्र मोडेर पुल र पुलसम्मको पहुँच मार्ग निर्माण गर्न सकिने बताए ।

अवलोकनपछि डिभिजन सडक 
कार्यालय मकवानपुरका प्रमुख अधिकारीले खोलाको धारलाई अन्यत्र मोडेर पहुँच मार्ग र पुल पुनर्निर्माण गर्न सकिने बताए । आन्तरिक मामिलामन्त्री लामिछानेले कान्ति लोकपथ तत्कालै सञ्चालनमा ल्याउन सकिने अवस्थामा नरहेको पाइएको बताए । उनले मुख्य गरी बागमती नदीमाथिको पुल पुनर्निर्माण र विभिन्न स्थानमा खसेको पहिरो पन्छाउनै समय लाग्ने जानकारी दिए ।

कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फ खासै समस्या नरहे पनि मकवानपुरतर्फ थुप्रै समस्या रहेको उनको भनाइ छ । यद्यपि, कान्ति लोकपथको महत्वलाई ध्यानमा राख्दै संघीय सरकारसँगको सहकार्यमा यथाशीघ्र सञ्चालनका लागि प्रदेश सरकार लागिपर्ने उनले बताए ।