Skip This
मिथिलामा आज एकैदिन दुई पर्व मनाइँँदै
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका महोत्तरी
Invalid date format १२:१४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मिथिलामा आज एकैदिन दुई पर्व मनाइँँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
नयाँ पत्रिका
Invalid date format १२:१४:oo

मधेस प्रदेशका मिथिला क्षेत्रमा आज एकसाथ दुई पर्व मनाइँदैछन्। सौरमासको असोज संक्रान्तिका दिन मनाइने ज्यावलका देवता विश्वकर्मा पूजा र चन्द्रमासको भदौ शुक्ल चतुर्दशीका दिन मनाइने अनन्त चतुर्दशी पर्व आज एकैदिन परेको हो ।

 हिन्दू परम्परामा विश्वकर्मा ज्यावलका देवता मानिन्छन्। पर्वका अवसरमा स–साना मेसिनरी सामानदेखि ठुल्ठूला यान्त्रिक उपकरणका धनीले विश्वकर्मा देवताको पूजाआराधना गर्ने परम्परा छ । यस अवसरमा कैयन ठाउँमा मेला आयोजना गरी नाचगानसहित सांस्कृतिक उत्सव गरिन्छ। आज मेसिनरी पार्टस्का व्यापारिक प्रतिष्ठानमा कामदारलाई मिष्ठान्न भोजन गराउने, लाभांश दिने र तलब वृद्धि गरिदिने चलन छ।

आजको दिन मेसिनरी पार्टस्, यान्त्रिक उपकरण र कृषि ज्यावल धोइपखाली तिनको पूजा गर्ने चलन छ। आज विश्वकर्मा देवताको पूजाआराधना गर्दा ज्यावल बढी टिकाउ हुने, राम्रो कमाइ दिने र कारोबारमा सफलता मिल्ने विश्वास गरिन्छ।

त्यसैगरी भदौ शुक्लपक्षको चतुर्दशीका दिन मनाइने मैथिल परम्पराको अनन्त चतुर्दशी पर्व पनि आजै परेको छ। यस दिन गुरु, पुरोहितका हातबाट अनन्त डोरा बाँध्दै हिन्दू मैथिल समुदायले अनन्त चतुर्दशी पर्व मनाउँदैछन्। गुरु, पुरोहितले शास्त्रोक्त विधिले अभिमन्त्रित गरेका डोरा (धागो) बाँध्दै मिथिलामा अनन्त चतुर्दशी पर्व मनाइरहेका छन्।

भगवान् विष्णुको रूप मानिने अनन्त भगवान्को पूजाआराधना गरी  प्रसादस्वरुप गुरु, पुरोहितका हातबाट कलात्मक ढंगबाट बाटिएको ‘अनन्त डोरा’ बाँध्ने मिथिला परम्परा छ। पर्वविशेषमा अनन्तको पूजा गर्दा पुरोहितबाट अभिमन्त्रित १४ सूत्रको बाटिएको धागो चढाइने र त्यही धागो दाहिने हातको पाखुरामा बाँधिने गरिन्छ। अभिमन्त्रित धागोलाई ‘अनन्त डोरा’ भनिन्छ।

यस पर्वमा एक दिनअघि चोखोनितो रही भदौ शुक्लपक्ष चतुर्दशीका दिन बिहान अनन्त भगवान्को पूजाआराधना गरेर ब्राह्मण पुरोहितको हातबाट ‘अनन्तडोरा’ बाँधेपछि यो पर्व सम्पन्न गरिने मिथिला परम्परा छ। पुरोहितको हातबाट बाँधिएको ‘अनन्तडोरा’ले आपत्विपद्बाट रक्षा गर्ने, आरोग्य र  सुख, समृद्घि प्राप्त हुने मैथिल जनविश्वास रहेको महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउछन् । 

आजै चतुर्दशी तिथि सकिएर पूर्णिमा सुरु हुने भए पनि तिथिको भोगले भदौ पूर्णिमाका दिन मनाइने इन्द्र पूजनोत्सव भने भोलि बुधबार मनाइने छ। हिन्दू परम्परामा इन्द्रलाई सहकाल (सकाल)का देवता मानिन्छ। इन्द्रको पूजाआराधनाले अनिकाल नपर्ने र सन्तुलित वर्षा हुने मैथिल जनविश्वास छ। इन्द्र पूजनोत्सवका लागि महोत्तरीका बस्तीपिच्छे जसो मूर्ति स्थापना गरेर हर्ष र उमगका बीच मेला आयोजना गरिएका छन्। भदौ पूर्णिमालाई मिथिलामा इन्द्र पूर्णिमा पनि भन्ने गरिएको छ ।