मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:३८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पूर्वाधार विकासमा हातेमालो गर्न निजी क्षेत्रलाई प्रधानमन्त्रीको आह्वान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:३८:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासमा सरकारसँग हातेमालो गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् । उनले सरकारले एक्लैले आवश्यक पूर्वाधार विकास गर्न नसक्ने भन्दै निजी क्षेत्रलाई लगानीका लागि आह्वान गरेका हुन् । 

काठमाडौंमा बिहीबारदेखि सुरु भएको पाँचौँ नेपाल पूर्वाधार सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सार्वजनिक–निजी साझेदारीमा राम्रा सडक, प्रसारणलाइन र सहर निर्माण गर्न सकिने बताए । ‘वर्तमान सरकारले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको छ, जुन आर्थिक समृद्धिका लागि लाइफलाइन पनि हो,’ उनले भने, ‘तर, सरकार एक्लैले आवश्यक पूर्वाधार निर्माण गर्न सक्दैन, त्यसैले निजी क्षेत्रले पूर्वाधार विकासमा हातेमालो गर्न आवश्यक छ ।’ 

प्रधानमन्त्री ओलीले स्वदेशी तथा विदेशी निजी क्षेत्रलाई आकर्षित तथा प्रवर्द्धन गर्ने नीति–नियम लिइएको भन्दै ‘सुखी नेपली समृद्धि नेपाल’को भिजनलाई यथार्थमा बदल्न निजी क्षेत्र र सरकारको सहकार्य आवश्यक रहेको बताए । ‘विगत लामो समय सडक, पुल र सार्वजनिक यातायातलाई बेवास्ता गरिँदा दुर्घटना, ट्राफिक जाम, वस्तु ढुवानीमा ढिलाइलगायत समस्या भोग्नुपरेको थियो, भरपर्दो पूर्वाधारको पहुँचमा हुने र नहुनेबिचको खाडलसमेत बढ्यो,’ उनले भने, ‘तर, अहिले सरकारले दिगो सडक, आधुनिक औद्योगिक पूर्वाधार, सबल हवाई पूर्वाधार, रेलवे क्लिन इनर्जी, आइटी र सहरी पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राखिएको छ ।’ पूर्वाधारमा लगानी गर्नु नै जनतामा लगानी गर्नु भएकाले दिगो विकास गरी जनताको जीवनस्तर उकास्ने नीति लिइएको उनले बताए । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वर्तमान सरकारले सडक, रेलवे, विद्युतीय र डिजिटल पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेको बताए । उनले निजगढलाई यातायातको हब बनाउने गरी काम अघि बढाएको बताए । ‘निजगढलाई हवाईमार्ग, रेलमार्ग र सडकमार्गको केन्द्रका रूपमा विकास गर्ने हाम्रो योजना छ, यसलाई यातायातको हबका रूपमा विकास गरिनेछ,’ उनले भने । 

नेपाल दुई ठुला अर्थतन्त्र चीन र भारतको बिचमा रहेको हुँदा ती देशबिच पुलको काम गर्नुपर्ने बताए । उनले यसका लागि हुलाकी मार्ग, एसियन हाइवे र उत्तर–दक्षिण करिडोरहरू निर्माण भइरहेको बताए । उनले अवस्थिति (लोकेसनको) लाभ लिने गरी पूर्वाधार बनाउनु आवश्यक रहेको बताए ।

कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले धनी देशमा राम्रा पूर्वाधार हुनेभन्दा पनि राम्रो पूर्वाधारमा लगानी गरेका देश धनी हुने गरेको बताए । उनले सरकार एक्लैले पूर्वाधार निर्माण गर्न नसक्ने भन्दै सार्वजनिक–निजी साझेदारीलाई प्राथमिकतामा राख्नुको विकल्प  नरहेको बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ (सिएनआई)ले संयुक्त रूपमा आयोजना गरेको सम्मेलन शुक्रबार सकिनेछ ।