यःसिं अर्थात् इन्द्रध्वज बुधबार नगर प्रवेश गराइएको छ। शुक्रबार राति भोटाहिटीमा ल्याएर राखिएको यःसिं बुधबार बिहान १० बजेर ३२ मिनेटको साइतमा नगर प्रवेश गराइएको हो।
योसँगै हनुमानढोका दरबार क्षेत्रमा इन्द्रजात्राको रौनक सुरु भएको छ। यःसिंलाई भोटाहिटी, असन, इन्द्रचोक हुँदै हनुमानढोका कागेश्वर मन्दिरनजिक यःसिं उठाउने खाल्डोको छेउमा लगेर राखिएको छ। यसमा मानन्धर समुदायसँगै गुर्जुको पल्टन र राज खड्ग सहभागी भएका थिए। अब एकादशीका दिन २९ भदौमा चसांद्व टोलका मानन्धरहरूले यःसिंमा डोरी बाँध्नेछन्। यसलाई ‘वलः घायेगु’ भनिन्छ। ‘वलः घायेगु’ यःसिंमा डोरी बाँध्ने एक जटिल विधि हो, जसलाई तानेर यःसिं उठाइसकेपछि यःसिंको सिरानीमा बाँधिएको गाँठो तलै बसेर फुकाल्न सकिन्छ। यःसिं उठाइसकेपछि त्यो देवतासरह हुने भएकाले गाँठो फुकाल्न माथि चढ्न मिल्दैन। त्यसैले तलैबाट गाँठो फुकाल्नुपर्ने हुन्छ।
३० भदौमा द्वादशीका दिन बिहान ८ बजेर २६ मिनेटको साइतमा यःसिं उठाइन्छ । यस कार्यमा पनि न्हय्सः नायः, चसांद्व टोलका मानन्धरहरू अनिवार्य रूपमा उपस्थित हुनुपर्ने प्रचलन छ । यःसिं उठाउँदा कुनै मेसिन वा नयाँ प्रविधिको प्रयोग गरिँदैन । यसलाई परम्परागत विधिबाटै उठाइन्छ । यःसिं उठाइसकेपछि त्यसको माथिबाट ध्वजा फहराइन्छ, जसलाई ‘हलिंपताः’ भनिन्छ । यसमा इन्द्रसँग सम्बन्धित चिह्न अंकित हुन्छन् । यो काम दैसाः टोलका मानन्धरले गर्छन् ।
यस वर्ष भदौ शुक्ल द्वितीया (द्वितीया, यंलाथ्व २) का दिन बिहान १० बजेर ३२ मिनेटको साइत गरेर यःसिं लिन वनयात्रा सुरु भएको थियो । यसै दिन साँझ ८ बजेर २७ मिनेटको साइतमा वृक्ष कर्तन (रुख कटान) भएको थियो । वृक्षकर्तनको साइतमा लुँपा (सुनको बन्चरो) र वहःपा (चाँदीको बन्चरो) ले सांकेतिक रूपमा रुखमा घाउ लगाउने चलन छ । यस क्रममा गुर्जुको पल्टनले सलामी दिएको थियो । वृक्षकर्तनको भोलिपल्ट मानन्धर समुदायका सदस्यले यःसिं तानेर भोटाहिटी ल्याएका थिए । यहाँ तँलाछीका मानन्धरले यःसिंको स्वागत गरेका थिए ।
यसपछिका चार दिन यःसिंलाई भोटाहिटीमा ढुंगाको मन्दः (मण्डला)को सिरानीमा सुताएर राख्ने गरिएको छ । सडक कालोपत्रे गर्दा हराएको मण्डलालाई अहिले पुनस्र्थापना गरिएको छ । यस वेला श्रद्धालुहरू यःसिंको पूजाआजा गर्ने गर्छन् । यसरी राखिएको यःसिं कुल्चेर वा नाघेर जानुहुँदैन । भोटाहिटीको यो ठाउँ मल्लकालमा नगरको बाहिरी भाग थियो । नगर प्रवेशका लागि यहाँ एउटा ढोका पनि राखिएको थियो ।