इन्टरनेटमा रिचार्ज गर्ने विषयबाट सुरु भएको झगडाले उग्र रूप लियाे
बारामा श्रीमानले श्रीमतीको घाँटी काटेर हत्या गरेका छन् । बाराको निजगढ नगरपालिका– ९ भमरा टोलमा बस्दै आएका ४५ वर्षीय विमलकुमार बस्नेतले मंगलबार राति ७:४५ बजेको समयमा आफ्नै श्रीमती ४० वर्षीया लक्ष्मी राईलाई घरेलु धारिलो हतियारले पटकपटक हात, खुट्टा र घाँटीमा प्रहार गरी हत्या गरेका हुन् । उनको उपचारको क्रममा मंगलबार राति ८ः१५ मा मृत्यु भएको हो ।
बुबाआमाको झगडा छुट्याउने क्रममा दुई छोरीसमेत घाइते भएका छन् । १८ वर्षीया गंगा राई र १५ वर्षीया जमुना राईको बायाँ हातमा चोट लागेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । उनीहरूको सामुदायिक प्रसूतिगृह अस्पताल निजगढमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि वीरगन्ज पठाइएको छ ।
प्रहरीका अनुसार घरमा जडान गरिएको इन्टरनेटमा रिचार्ज गर्ने विषयमा सुरु भएको झगडाले उग्र रूप लिएको थियो । शौचालयमा रहेकी श्रीमतीले घरमा जडाज गरेको इन्टरनेटमा रकम नहुँदा सामाजिक सञ्जाल प्रयोग गर्न नपाएको भन्दै रिचार्ज गर्न श्रीमानलाई आग्रह गर्दा दुईजनाको भनाभन भएकाे थियाे । मदिरामा मस्त श्रीमानले नजिकै रहेको धारिलाे हतियारले शौचालयमा रहेकी श्रीमतीलाई प्रहार गरेका थिए ।
श्रीमान् विमलकुमार बस्नेतलाई हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुसवाहाले जानकारी दिए । उका अनुसार श्रीमतीको हत्या गर्ने बस्नेतलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु भएको छ । श्रीमान् र श्रीमतीबिच विगत एक महिनादेखि आपसी विवाद हुँदै आएको स्थानीयले बताएका छन् ।