मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ भदौ २५ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २५ मंगलबार o६:१९:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आलोचना गर्नेविरुद्ध अनुदार बन्दै सरकार : बंगलादेशमा जस्तै आन्दोलन गर्नुपर्छ भन्ने युवालाई साइबर अपराधको मुद्दा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २५ मंगलबार o६:१९:oo

गौरापर्वको अवसरमा टुँडिखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताविरुद्ध नाराबाजी गरेका तीन युवालाई थुनेको सरकारले नाराबाजीको भिडियो सामाजिक सञ्जालमा राख्ने अर्का युवालाई पनि पक्राउ गरेर साइबर अपराधको मुद्दामा कारबाही अघि बढाएको छ । प्रहरीले १० भदौमा सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई पक्राउ गरेर सार्वजनिक शान्तिविरुद्धको मुद्दा दायर गरेकोमा सर्वत्र आलोचनापछि नौ–नौ हजार धरौटी मागेर छाडेको थियो । आलोचना गर्नेविरुद्ध पछिल्लो समय अनुदार बन्दै गएको सरकारले पुनः अर्का युवक दोलखा घर भई काठमाडौं बस्ने २९ वर्षीय मनबहादुर कार्कीलाई पनि पक्राउ गरेको हो । 

प्रधानमन्त्री केपी ओलीको आलोचना गर्ने र अहिलेका दलहरूविरुद्ध आन्दोलन गर्नुपर्छ भन्दै सामाजिक सञ्जालमा लेखेर टुँडिखेलको भिडियो पोस्ट गर्ने कार्कीलाई २० भदौमा पक्राउ गरी विद्युतीय कारोबार ऐन (साइबर अपराध)को मुद्दा चलाएको छ । उनीविरुद्ध ब्युरोले अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । उनले पोस्ट गरेको भिडियोले सामाजिक सद्भावमा खलल पुर्‍याएको भन्दै कार्कीविरुद्ध ब्युरोमा जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरेको हो । 

ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले कार्कीविरुद्ध पाँच दिनको म्याद थप भएको बताए । उनले भने, ‘कार्कीलाई बिहीबार हामीले पक्राउ गरेका हौँ । उनले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेका रहेछन् । सोही आधारमा हामीकहाँ जाहेरी पर्‍यो । त्यसपछि उनलाई पक्राउ गरिएको हो ।’

महाबौद्धको एक मःम पसलमा काम गर्ने कार्कीलाई प्रधानमन्त्री ओलीलगायत नेताहरूलाई गाली गरी सामाजिक सञ्जालमार्फत समाज भड्काउन खोजेको गम्भीर अभियोग लगाइएको छ । कार्कीले नेताहरूका कारण देश बिग्रँदै गएको भन्दै बंगलादेशमा जस्तै नेपालमा पनि आन्दोलन गर्नुपर्ने भनेर लेख्दै आएका थिए । ‘उनको सामाजिक सञ्जाल नियमन गर्दा निरन्तर समाज भड्काउने खालका पोस्टहरू देखियो,’ ब्युरोका एक अधिकारीले भने, ‘तर, उनी कोहीबाट परिचालित भने देखिएनन् ।’ प्रधानमन्त्री ओलीविरुद्ध नै आक्रामक स्टाटस लेखेको आधारमा उनी पक्राउ परेको प्रहरी स्रोत बताउँछ । 

प्रधानमन्त्री ओलीलाई फेसबुकमा भ्रष्टाचारी भनेर लेखेको आधारमा प्रहरीले बाजुरा खप्तड छेडेदह घर भई सिन्धुपाल्चोकको बाह्रबिसेस्थित क्रिस्टोन अस्पतालमा कार्यरत रमेशबहादुर रावललाई २० दिन थुनामा राखी साइबर अपराधको मुद्दा चलाएको थियो । गत ३२ साउनमा पक्राउ परेका उनलाई जिल्ला अदालत, काठमाडौंले धरौटीमा छाडेको थियो । बाह्रबिसे प्रहरीले उनलाई पक्राउ गरी साइबर ब्युरोलाई बुझाएकोमा ब्युरोले १७ भदौमा सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गरेको थियो । 

त्यस्तै , कांग्रेस सभापति देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध फेसबुकमा टिप्पणी गरेको भन्दै कैलाली प्रहरीले ११ भदौमा धनगढीका प्रतीक जोशी र रचित शाहलाई पक्राउ गरेको थियो । चौतर्फी विरोध भएपछि प्रहरीले उनीहरूलाई छाडेको थियो ।