१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
आर. मानन्धर
२०७५ पौष १४ शनिबार ०६:५३:००
Read Time : > 6 मिनेट
साहित्य

जनकविको जन्म

Read Time : > 6 मिनेट
आर. मानन्धर
२०७५ पौष १४ शनिबार ०६:५३:००

काठमाडौं सहरको एउटा निम्नमध्यमवर्गीय परिवार, जसमा एउटा लोग्ने, एउटी स्वास्नी र तिनका केही ससाना सन्तान थिए । लोग्नेचाहिँ सखारै केही मिठाई, सागसब्जी किनेर दाउरा ल्याई आफ्नो सानो पसलमा बेच्थ्यो । उनीहरूको घर वरिपरिका घरमध्ये पनि सबभन्दा होचो र सानो थियो । केही कारणवश उनीहरूको घरसँग टाँसिएको घरवालाले घर बेचेर जान चाह्यो र उनीहरूलाई घर किन्न अनुरोध ग-यो । आफ्नो घर निकै साँघुरो भएकाले उनीहरूले आफ्नो घरसँग जोडिएको त्यो घर किन्न चाहे । त्यस वेला त्यो घरको मोल पनि त्यस्तै अढाइ सयजति मात्रै थियो । उनीहरूले खाई–नखाई जम्मा गरेको पुगनपुग दुई सय रुपैयाँ मात्र थियो । त्यसैले लोग्नेचाहिँ नपुग पैसा जोर्न आफूले सधैँ सेवा गर्ने मालिकसँग केही सापटी माग्न गयो । साहुले दिन्छु पनि भन्यो । तर, समयमा नदिएकाले फेरि भन्न गयो । साहुले भन्यो, ‘तँलाई दिन्छु भनेपछि दिइहाल्छु नि । ल त्यो बेच्ने मान्छे बोलाएर ल्या ।’ साहुले केही कागज गराएर पैसा दियो र साहुको जयजयकार गर्दै उनीहरू त्यो घरमा बस्न पनि थाले ।

तर, एक साल नबित्दै त्यो साहुले तिनीहरूलाई घर खाली गर्न भन्यो । वास्तवमा साहुले कागज बनाएको त सापटीको नभई घरै आफ्नो नाममा गरेको पो रहेछ ! अशिक्षा र त्यसभन्दा पनि बढी साहुलाई पूरा विश्वास गरेका कारण उनीहरू नराम्ररी खाल्डोमा परे । साहुले घर छोड भनेपछि छोड्नैप-यो । उनीहरू घर खाली गर्न थाले । 

यसै क्रममा एउटा सानो सन्दुक झ्यालबाट झार्नु थियो । लोग्नेचाहिँ माथि झ्यालबाट सन्दुक डोरीले बाँधेर खसाल्दै थियो । स्वास्नीचाहिँ तल उभिएर सन्दुक थाप्दै थिई । यत्तिकैमा डोरी चुँडेर सन्दुक तल खस्यो र सन्दुक थाप्दै बसेकी गर्भवती स्वास्नीको पेट थिचिन पुग्यो । त्यही थिचाइले व्यथा सुरु भयो र असमयमै एउटा बालकको जन्म भयो । त्यही बालक नै थियो– आजका सुप्रसिद्ध कवि दुर्गालाल श्रेष्ठ । त्यो दिन थियो ने.सं. १०५६ दिल्लागा एकादशी (१९९२ साल साउनकृष्ण एकादशी) । स्थान काठमाडौंको न्हैकंतलाको चाबहालको दथुननी । उनलाई जन्म दिने मातापिता थिए— आशामोती श्रेष्ठ र गणेशलाल श्रेष्ठ । कवि दुर्गालाल भन्छन्, ‘यो मेरो जन्मको कथा मेरी आमाले बडो दुःखपूर्वक सुनाएकी थिइन् । त्यो सुनाएको क्षण मेरो आँखामा यति झल्झल्ती छ– भर्खरै सुनिरहेभैझैँ  लाग्छ ।’

जन्मघर
जिमि ला भाइ सा ! क्या जक मज्जा !
साःगाः दथ्वी छेँ !    
साःगाः साःगाः माःमाः हना
स्वांमाः क्वखाय् थें !

दुर्गालालले आफ्नो घरलाई व्यंग्य गर्दै लेखेको एउटा बालकविता हो यो, जसको अर्थ हुन्छ :

हाम्रो त आहा ! कस्तो मजा !
रछ्यानको बीचमा घर !
रछ्यानैको माला पहिरी
बसेजस्तो वर !
    
सहरको आफ्नै  किसिमका सम्पन्नता र दरिद्रता हुन्छन् । बाहिरबाट हेर्दा सहर गाउँभन्दा कता हो कता सम्पन्न देखिन्छ । तर, सहरको दरिद्रता कतिपय अवस्थामा गाउँको अभावभन्दा धेरै दुःखदायक हुन्छ । असननजिकैको न्हैकंतला टोल भने पनि उनको घर त्यस टोलको चाबहालभित्रको एउटा सानो चोक दथुननीमा थियो । चोकभित्रका चार–पाँच घरमध्ये पनि सबभन्दा दुब्लो र पुड्को घर उनकै थियो । माटोको त्यो पुरानो घरको प्रत्येक तला होचा थिए, निहुरेर हिँड्नुपर्ने । कवि श्रेष्ठ जन्मघर सम्झँदै भन्छन्, ‘सबैतिर उज्यालो भइसक्दा पनि हाम्रो घरमा बिहान भएको हुँदैनथ्यो । तल रछ्यान थियो । घर पस्ने ढोकैनिर अर्काको शौचालय थियो । त्यसैले गर्मी सुरु नहुँदै पनि मेरो घरमा लामखुट्टे आउँथे ।’

ठूलो घरमा बसिसकेपछि उनले निकै कुरा थाहा पाए– ठूला घरमा खुवाइ पनि उनीहरूको भन्दा फरक हुँदो रहेछ, बसाइ पनि अलग हुँदो रहेछ, सुताइ (बिछ्यौना) पनि भिन्नै हुँदो रहेछ । उनको त लामखुट्टेले छोपिने कोठा थियो ! ठाउँठाउँमा टालेको झुल थियो, त्यो पनि टाउको छोपे खुट्टा नढाकिने, खुट्टा छोपे टाउको बाहिरै हुने । धनी र गरिबमा सबै कुरा फरक हुँदो रहेछ भन्ने धेरथोर ज्ञान उनले त्यही ठूलो घरमा केही दिन बसेर थाहा पाए । त्यसभन्दा अघिसम्म भोको पेट खेल्न हिँड्दा पनि उनलाई आफू  गरिब छु भन्ने चेतना थिएन ।

 धनीको विद्यालयमा गरिबको छोरा
२००३ सालतिर दुर्गालालले काठमाडौंका धेरैजसो घरानियाँ पढ्ने पद्मोदय माध्यमिक विद्यालयमा पढे । त्यहाँ त राणाका छोराहरू, उनीहरूका भारदारका छोराहरू र राणाका दरबारमा पुरोहित काम गर्नेका छोराहरू मात्र पढ्ने गर्थे । उनको त सुरुवाल नै ठाउँठाउँमा टालिएको हुन्थ्यो । त्यस वेलासम्म पनि उनको खुट्टामा जुत्ता हुँदैनथ्यो । त्यसैले अरू विद्यार्थीबीच उनी अलग्गै देखिन्थे । कसैले उनलाई होच्याएर केही नभने पनि उनीहरूको हेराइले नै आफू अरूभन्दा निकै तल रहेको चाल पाउँथे । तर, सबै कुरा थाहा पाएर पनि उनले गर्न नै के सक्थे र ? उनले देखावटी कुरामा अरूसँग प्रतिस्पर्धा गरेर जित्न सक्ने कुरै थिएन । बरु उनले आपूmले सक्ने कुरामा राम्रो गर्ने कोसिस गरे ।

विद्यालयमा मंगलाचरण गाउने चलन थियो– ‘सरस्वतीका कुमार हामी, सरस्वतीको पुकार गर्छौं’ भन्ने लक्ष्मीप्रसाद देवकोटाले लेखेको कविता गाइन्थ्यो । उनलाई त्यही गीत गाउन लगाइन्थ्यो । गीत राम्रो गाउने भएकाले उनलाई शिक्षकहरू मन पराउँथे । उनको अक्षर पनि साह्रै राम्रो थियो ।  ती अक्षर देखाउन उनको कापी सबै कक्षामा घुमाउन लगिन्थ्यो । दुर्गालालको बाल्यकाल चरम गरिबीमा गुज्रेको थियो । बेलुका पनि भात खाइन्छ भन्ने कुरा उनलाई धेरै वर्षसम्म थाहै थिएन । भात खाने भनेको बिहानै मात्र हुन्थ्यो । बेलुका कहिले हरियो केराउकोसा त कहिले भटमासकोसा खाएर सुत्थे । २००० सालमा आकासै ढाकिने गरी सलहको बगाल आएको थियो । त्यस वेला उनीहरूले दिनरात सलह (सानो पंक्षी) महिना दिनसम्म खाएका थिए । खासमा उनका बुबाले सलह बेच्ने गरेका थिए । बेचिनसकेका सलह आफैँ खाने गर्थे ।

यस्तो गरिबीमा बाँच्दा पनि उनलाई कहिल्यै गरिबीको चित्त दुखाइमा बाँच्नुपरेन । भौतिक अभावमा हुर्के पनि उनको बाल्यकाल खुसीमा बितेको थियो । लघुताभास कहिल्यै आएन । बरु उनमा अदम्य आत्मविश्वास थियो । ती सबको कारण पहिल्याउन खोज्छन् कवि, ‘यी सबको कारण थियो– आमाको माया । आमाको काखमा हुर्कन पाए जस्तोसुकै गरिबले पनि आपूm गरिब भएको अनुभव गर्नु नपर्दो रहेछ ।’

बाल्यकालमा उनलाई निकैपल्ट एक्लै भात खाएको सम्झना छ । आमाले उनलाई एक्लै राखेर भात खुवाउँथिन् । उनलाई थाहा थिएन, आमाले किन यसो गरेकी होलिन् भन्ने । एक दिन उनका बाबुले भने, ‘ल खाना पस्क, सबैलाई बराबरी भाग राख । तिमी पनि खानू, म पनि खान्छु ।’ लोग्नेको आदेश मान्नुपर्दा अप्ठेरो अवस्था सिर्जना भयो । उनकी आमा दुर्गालालको थाल हेर्दै आँखा भिजाउन लागिन् । लोग्नेले फेरि भने, ‘ल खानू तिमी पनि छिट्टै ।’ तर, उनकी आमाले घाँटीबाट गाँस निल्न सकिनन् । उनी सम्झँदै थिइन्, ‘मेरो छोरो यति खाएर पुग्ने मान्छे होइन । उसलाई यो मेरो भाग पनि खुवाउनु छ ।’ त्यस वेला मात्रै दुर्गालालले थाहा पाए, उनकी आमाले लुकाई–लुकाई आप्mनो भाग भात पनि आफूलाई खुवाउने गरेकी रहिछन् । खासमा उनको बाबुले त्यो कुरो चाल पाएर नै सँगै खाना खाने जुक्ति निकालेका रहेछन् । तर, उनकी आमाले बरु आँखाबाट आँसु झार्दै गरिन्, गाँस टिपेर मुखमा हाल्न भने सकिनन् ।

उनलाई थाहा छैन,आफ्नी आमाले चार सन्तानमध्ये आफूलाई किन विशेष माया गर्थिन् ? आमाको माया सम्झँदै कवि भन्छन्, ‘मेरी आमाले मलाई गरेको त्यो माया साधारण थिएन । आमाले मलाई आप्mनो पेट काटीकाटी पनि खुवाउँथिन् भन्ने कुरा मैले त्यस वेला थाहा पाएँ । ती कुरा सम्झँदा अहिले जसरी मन भरिएर आउँछ, त्यो वेला हुँदैनथ्यो । आमा बितेपछि मात्र मैले बुभेmँ— उनी मेरा लागि कति महान् थिइन् !’

 वर्ग–चेत
उनीहरूको टोलमा एउटा पैसावालको परिवार थियो । उनको बुबाले सेवा गर्न जाने साहुहरूमध्येकै घर थियो त्यो । त्यस परिवारमा उनकै उमेरको एउटा केटो निकै दिनदेखि बिरामी परेको थियो । त्यसको हेरचाह गर्न बालक दुर्गालाललाई बोलाइयो । त्यही घरमा दिनभरि बस्नुपर्दा खाने पनि त्यहीँ नै भयो । एक दिन दिउँसो घर आउँदा उनकी आमाले उनको बाहुला र हातमा सेता टाटा देखेर ‘त्यो के हो’ भनेर सोधिन् । त्यो दूधको दाग थियो । त्यस वेलासम्म पनि उनले दूधभात खान जानेका थिएनन्, किनभने उनले दूधभात खाएकै थिएनन् । त्यसैले पहिलोपल्ट दूधभात खाँदा गाँस टिप्न नजानेर दूध कुहिनातिर झरेको थियो । उनी साहुको घरमा एक–दुई हप्ता मात्र के बसेका थिए, त्यसपछि त आफ्नै घरको भात पनि रुच्न छाड्यो । ठूलो घरमा बसेर आएपछि मात्र उनले थाहा पाए– ‘आफ्नो घरमा खाने त उसिनेको चामलको भात पो रहेछ ! उनीहरूको घरमा त अलिकता भए पनि दूध पाइन्थ्यो । आफ्नो घरमा त दूध भन्ने कहाँ पाउनु ?’ दूधभात पनि खाइँदो रहेछ भन्ने कुरा उनले त्यहीँ गएपछि मात्रै थाहा पाए ।

ठूलो घरमा बसिसकेपछि उनले निकै कुरा थाहा पाए– ठूला घरमा खुवाइ पनि उनीहरूको भन्दा फरक हुँदो रहेछ, बसाइ पनि अलग हुँदो रहेछ, सुताइ (बिछ्यौना) पनि भिन्नै हुँदो रहेछ । उनको त लामखुट्टेले छोपिने कोठा थियो ! ठाउँठाउँमा टालेको झुल थियो, त्यो पनि टाउको छोपे खुट्टा नढाकिने, खुट्टा छोपे टाउको बाहिरै हुने । धनी र गरिबमा सबै कुरा फरक हुँदो रहेछ भन्ने धेरथोर ज्ञान उनले त्यही ठूलो घरमा केही दिन बसेर थाहा पाए । त्यसभन्दा अघिसम्म भोको पेट खेल्न हिँड्दा पनि उनलाई आफू  गरिब छु भन्ने चेतना थिएन ।

 जातभित्रै पनि वर्गभेद
त्यस वेला काठमाडौंका सबैजसो केटाहरू चंगा उडाउन जान्ने हुन्थे, किनभने दसैँताका बच्चाहरूको विशेष मनोरञ्जन भनेकै चंगा उडाउने हुन्थ्यो । तर, दुर्गालाललाई चंगा उडाउन आउँदैनथ्यो । सबै मान्छे चंगा उडाउनमा मस्त रहने वेला उनी बाटोमा काटिएर झरेका चंगा र धागो बटुल्नमा व्यस्त हुन्थे । उनलाई पनि चंगा उडाउने मन हुन्थ्यो तर उनको घरको कौसी होचो थियो, चंगा उडाउन मिल्ने खालको थिएन । दसैँ आएपछि छिमेकीहरू छाना र कौसीमा चंगा उडाउँदै गर्दा उनी खुसीले उत्तेजित भई कराइरहेका हुन्थे, ‘चेट ! चेट !!’ दौंतरीहरूले चंगा उडाएको देख्दा उनलाई पनि चंगा उडाउने रहर कहाँ नहँुदो हो र ? उनलाई तिनीहरूको छानामा गएर चंगा उडाउने मन हुन्थ्यो । तर, तिनीहरूले दुर्गालाललाई घरमा भित्र्याउँदैनथे । उनी ‘सानो जात’का भएर घरमा नभिœयाएको होइन, न त तिनीहरू ठूलो जातका भएरै त्यस्तो गरेका थिए । तिनीहरू उनकै थरका थिए । उनले विपन्नताकै कारण, टालेको सुरुवालका कारण आफ्नै टोलछिमेकका मान्छेबाट पनि तिरस्कारको व्यवहार खेप्नुपरेको थियो ।

उनले हुनेखानेको सोखका लागि तिलौरी फुटाउन आफ्नो  निधार थापिदिने पनि गरेका थिए । त्यस वेला टोलका पैसावाल मानिसहरू तिलौरी फुटाएर बाजी राख्थे । उनीहरू बच्चाहरूको निधारमा तिलौरी ठोकाएर फुटाउँथे र जोर संख्यामा टुक्रा हुन्छ वा बिजोर संख्यामा भनी बाजी राख्थे । उनले पनि बाल्यकालमा पैसावालहरूको त्यस्तै अनर्थपूर्ण लहडबाजीका लागि धेरैपल्ट निधार थापेका थिए । थाप्नुको कारण थियो, केही टुक्रा तिलौरी खाने लोभ ।

 समाजवादी विचारतिर
युवाकालमा प्रवेश गर्दानगर्दै उनलाई आफ्नो गरिबी र आर्थिक असमानता, त्यसैकारण भोग्नुपर्ने पीडा र अवहेलनाको ज्ञान हुन थालेको थियो । उनी प्रतिभाशाली लेखकको रूपमा स्थापित पनि हुन थालेपछि कम्युनिस्ट नेताहरूले उनलाई वामपन्थी विचारधारातर्फ  तान्न खोजिरहेका थिए ।  त्यसमा एक शम्भुराम श्रेष्ठ पनि थिए । शम्भुराम उनको घरमा आवतजावत गर्न लागेका थिए । क्रान्तिका कुरा पनि सुनाउन थालेका थिए । त्यसपछि उनलाई लाग्न थाल्यो, आफूले पनि अरूले जस्तै दुई छाक राम्ररी खान पाउनुपर्छ, एक जोर राम्रो लगाउन पाउनुपर्छ, उनको घरमा पनि घाम छिर्नुपर्छ । उनले विचार गरे– क्रान्ति अरूको लागि मात्र होइन, सबभन्दा पहिले त आफ्नै लागि पनि चाहिने रहेछ । त्यसैले उनी बिस्तारै प्रगतिशील साहित्य लेखनतिर ढल्कँदै गए ।

 त्यसैताका कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठसँग पनि उनको भेटघाट भएको थियो । किसान नेता सानुलाल महर्जन पनि दुर्गालालका साथी थिए । उनी सानुलालको घरमा गइरहन्थे । त्यस वेला सानुलालको घरमा भूमिगत थिए पुष्पलाल । एक दिन पुष्पलालले द्वन्द्वात्मक भौतिकवादबारे पढाइरहेका वेला दुर्गालाल पनि पुगे । उनलाई त्यो सिद्धान्त साह्रै घत लाग्यो । प्रेमका कविता लेख्नमा माहिर त उनी भइसकेकै थिए, त्यसपछि उनको कलमबाट क्रान्तिका झिल्का पनि निस्किन थाले । उमेरले आठ दशक कटिसक्दा पनि उनको कलमबाट जातीय, वर्गीय र भाषिक विभेदविरुद्ध क्रान्तिकारी रचनाको ज्वाला दन्किँदो छ ।

(आर. मानन्धर नेपालभाषाका लेखक हुन् । उनले साहित्यकार दुर्गालाल श्रेष्ठको जीवनीमा शोध गरेका थिए । यो आलेख सोही शोधग्रन्थमा आधारित छ ।)