
उत्तर युरोपेलीले अमेरिकीभन्दा कम समय काम गर्छन्, अमेरिकीको प्रतिवर्ष १८ सय कार्यघण्टाको तुलनामा उनीहरू १४–१५ सय घण्टा मात्र कार्यालयमा बिताउँछन्
मजस्ता उदारवादीहरू युरोप प्रायः अमेरिकाका लागि अनुकरणीय एवं उपयुक्त ठान्छौँ । युरोपले पुँजीवादको कठोर धारलाई नरम तुल्यायो । सामाजिक सुरक्षाको जालो प्रदान गर्यो अनि ‘(सामाजिक)कल्याण’मा संयुक्त राज्य अमेरिकालाई उछिनेको छ । अमेरिकाका भन्दा युरोपका शिशु मृत्युका मुखमा पुग्ने दर कम छ । संयुक्त राज्य अमेरिकाको तुलनामा युरोपमा बच्चा जन्माउनु खतरामुक्त हुन्छ भने युरोपेलीहरू दीर्घायु छन् ।
उत्तरी युरोपेलीले अमेरिकीभन्दा कम समय काम गर्छन् । अमेरिकीको प्रतिवर्ष १८ सय कार्यघण्टाको तुलनामा उनीहरू १४–१५ सय घण्टा मात्र काम गर्छन् र पनि सार्वभौमिक स्वास्थ्य हेरचाह, नि:शुल्क वा अनुदानित बाल हेरचाह र गुणस्तरीय सार्वजनिक विद्यालयको आनन्द उठाउन पाउँछन् ।
विश्वविद्यालय शिक्षा पनि नि:शुल्क वा सस्तो छ । यहाँका मानिस बन्दुक राख्न पाउने अधिकारभन्दा गर्भपतनको अधिकारलाई बढी महत्व दिन्छन् । तपाईं डेनमार्कको म्याकडोनल्ड्समा बर्गर सर्भ गर्ने काम गर्नुहुन्छ भने पनि तपाईंलाई प्रतिघण्टा २० डलरभन्दा बढी भुक्तानी गरिन्छ । साथै, तपाईंले ६ हप्ताको तलबी बिदा, एक वर्षको प्रसूति बिदा र पेन्सन योजना पाउनुहुनेछ । युरोपको ‘रेड वाइन’ लगभग ‘ओरेगन पिनट नोयर’जत्तिकै गज्जब छ ।
तर, युरोप आज संघर्षरत छ भन्ने औँल्याउनु पनि उचित हुन्छ । गत वर्ष अमेरिकाको अर्थतन्त्र युरोपेली संघको तुलनामा ६ गुणा तीव्र गतिमा वृद्धि भएको थियो । अमेरिकी अर्थतन्त्र २.५ प्रतिशतले वृद्धि हुँदा युरोपेली संघ ०.४ प्रतिशतको वृद्धिमा सीमित भयो । आज संयुक्त राज्य अमेरिकामा एप्पल, गुगल र मेटाजस्ता सफलतम प्रविधि जायन्टको भरमार छ । तर, बजार पुँजीकरणका आधारमा विश्वका शीर्ष १० प्रविधि कम्पनीको ताजा सूचीमा एउटा पनि युरोपेली कम्पनी समावेश छैन । एक अर्ब डलरभन्दा बढी मूल्यका स्टार्टअपहरूको सूची ‘युनिकर्न’ले अफ्रिकाको सबैभन्दा सानो देश सिसिलीमा ग्रिस (दुई)का र इटली वा बेल्जियम (तीन)का जत्तिकै कम्पनी भएको देखाउँछ । फ्रान्सले ‘बदाम क्रोसन्ट्स’, ‘लक्जरी ब्रान्ड’हरू र ईष्र्यालाग्दो अनुपम जीवनशैली प्रदान गर्छ, तर प्रतिव्यक्ति आएका आधारमा यो अमेरिकाको सबैभन्दा गरिब राज्य अर्कान्ससकै बराबर छ ।
यसैबिच, युरोपको जनसंख्या यसै दशकमा शिखरमा पुगेको देखिन्छ र १४औँ शताब्दीको महामारी ‘ब्ल्याक डेथ’पछि पहिलोपटक उल्लेखनीय रूपमा घट्दै छ । जनसंख्यामा गिरावट र वृद्धहरूको संख्यामा वृद्धि जारी रहने सम्भावना छ, जसले यस महाद्वीपको प्रभाव घटाउनेछ ।
सैन्य दृष्टिले पश्चिमी युरोप अमेरिकामाथि निर्भर छ र रुसका सामु एक्लै उभिन असमर्थ छ । पोल्यान्ड र बाल्टिक राज्यहरूले आफूले सक्दो प्रयास त गरेका छन्, तर दुर्भाग्य आज युरोपमा कुनै वास्तविक नेता नै छैन । जर्मनीका चान्सलर त्यो भूमिका निभाउनुपर्ने व्यक्ति हुन्, तर उनी पूर्वचान्सलर एवं जर्मन नेतृ एन्जेला मर्केलको छाया भएका छन् ।
कुनै समय युरोपेली क्षेत्रको इन्जिन मानिएको जर्मनीलाई अहिले युरोपको ‘रोगी मानिस’ भनेर व्यंग्य गरिन्छ । लडखडाइरहेको जर्मन सरकारले युक्रेनलाई दिइरहेको सहयोग कटौती गर्ने सक्ने चिन्ता बढेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ नेतृत्व गर्न इच्छुक त छन्, तर उनलाई कसैले पत्याउँदैनन् । ‘हाम्रो युरोप सकिन सक्छ,’ म्याक्रोँले गत अप्रिलमा सोरबोनबाट चेतावनी दिएका थिए । उनी यस खतराप्रति सचेत त छन्, तर स्वदेश र विदेशमा उनका सहयोगी खासै छैनन् ।
सन् २००५ मा प्रकाशित राजनीतिकशास्त्री मार्क लियोनार्डको पुस्तकले ‘किन युरोपले २१औँ शताब्दी चलाउनेछ ?’ भनेर व्याख्या गरेको थियो । तर, एउटा युरोपेली आकलनले यदि युरोपका अर्थतन्त्र अहिलेकै गतिमा वृद्धि हुँदै जाने हो भने सन् २०३५ सम्ममा औसत अमेरिकी र औसत युरोपेलीको आर्थिक दूरी आजका औसत युरोपेली र औसत भारतीयबिच जत्तिकैको हुनेछ । (यस आर्थिक अन्तरको आकलनको निष्पक्षता कुन विनिमय दरको प्रयोग गरिएको छ भन्नेमा पनि निर्भर गर्छ) ।
यो अन्तर बढ्न सक्ने एउटा कारण के भने राष्ट्रपति बाइडेनको नेतृत्वमा संयुक्त राज्य अमेरिकाले कम्प्युटर चिप्स, ब्याट्री र उच्च गतिको इन्टरनेटमा लगानी गरिरहेको छ । यसबिच, युरोपेली संघले भने आफ्नो बजेटको लगभग एकचौथाइ हिस्सा कृषि र ग्रामीण क्षेत्रका लागि विनियोजन गरिरहेको छ । खपत हुन सक्नेभन्दा धेरै परिमाणमा भएको उत्पादनमा समेत अनुदान दिन्छ (ताकि ‘वाइन लेक (ताल)हरूलाई ह्यान्ड स्यानिटाइजरमा परिणत गर्न लाग्ने लागत भुक्तान गर्न सकियोस्) ।
परिणामतः युरोपको ‘प्रतिस्पर्धात्मक संकट’बारे चिन्ता बढ्दै गएको छ । ब्रसेल्समा सम्पन्न भएको ग्रीष्मकालीन त्रिपक्षीय आयोगको भेलामा मैले ‘अमेरिकाले नवप्रवर्तन गर्छ’ भने ‘युरोपले नियमन गर्छ’ भन्ने विचार बारम्बार सुनेँ । नियमनको सवालमा, पछिल्ला दशकमा युरोपले एकाधिकार र विषाक्त रसायनबाट उपभोक्तालाई जोगाउने काममा राम्रो गरेको कुरामा म विश्वास गर्छु । तर, मजस्ता उदारवादी पनि युरोपको अत्यधिक नियमन र कमजोर शासनले यस महाद्वीपको भविष्यलाई नै कमजोर पार्न सक्ने प्रमाणबाट चिन्तित भने हुनुपर्छ ।
आलोचकहरू कहिलेकाहीँ युरोपको अथाह शक्तिलाई नजरअन्दाज गर्छन् र मजाक बनाउँछन् । मानव पुँजीमा युरोपको लगानीले मानिसलाई अकर्मण्य बनाउनुको सट्टा कामका लागि थप सशक्त बनाएको छ । संयुक्त राज्य अमेरिकाको तुलनामा उत्तरी युरोपको श्रमशक्ति सहभागिता दर उच्च छ । यसको कारण के पनि हो भने युरोपले बालबालिकाको हेरचाहको क्षेत्रमा निकै राम्रो गरेको छ, जसले आमाबाबुलाई जागिर गर्न सहज बनाउँछ ।
संकटले कहिलेकाहीँ जीवन्तताका नयाँ लहर निम्त्याउँछ । यो कुरा पनि साँचो हो । करिब १५ वर्षअघि ग्रिस निकै निराश स्थितिमा देखिन्थ्यो । अहिले यो युरोपको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको देशमध्ये एक हो । सन् १९९०को दशकको आर्थिक संकटपछि स्विडेनले आफूलाई पुनर्जीवित गर्यो र विश्वव्यापी नवप्रवर्तन र उद्यमशीलतामा अग्रणी बनेको छ । ‘स्पोटिफाई’ ल्याउने स्विडेन नै हो ।
एस्टोनियालाई नै लिऔँ । सन् १९९०को दशकमा कसले दाबी गर्न सक्थ्यो, आफूलाई कुनै समय आतंकित बनाउने महाशक्तिकै छेउमा अवस्थित भएर पनि एउटा सानो मुलुक इस्टोनिया सन् २०२४ मा विश्वको सबैभन्दा उच्च प्रविधियुक्त देशमध्ये एक हुनेछ भनेर । इस्टोनिया आज संसारको सबैभन्दा डिजिटल प्रवीण देशमध्ये एक हो । र, यो अहिले युरोपको आर्थिक इन्जिन बनेको छ, जो कुनै समय परिधिमा थियो ।
युरोप एउटा सुगन्ध हो । म बेलायत र फ्रान्स दुवै देशमा विभिन्न समयमा बसेको छु र यस महाद्वीपका लगभग सबै ठाउँ घुमेको छु । म यो लेख्दै गर्दा अक्सफोर्ड कलेजको छात्रावास सम्झँदै मुस्कुराइरहेको छु । सन् १७३० को दशकमा निर्मित सो छात्रावासलाई ‘नयाँ भवन’ भन्ने गरिन्छ ।
तर, युरोपलाई विगतजत्तिकै उल्लेखनीय भविष्य चाहिएको छ । मलाई डर के छ भने जबसम्म यसले निरर्थक र महँगा नियमन परित्याग गर्दैन, नवप्रवर्तनलाई अँगालो मार्दैन र आफ्नो राष्ट्रिय सुरक्षालाई बलियो बनाउँदैन, तबसम्म यो विश्वका उदारवादीका लागि उदाहरणभन्दा पनि ‘खतराको सूचक’ बन्नेछ ।
– न्युयोर्क टाइम्स