
एक साँझ पति कार्यालयबाट घर फर्किए । घर पुग्नासाथ पत्नीले भनिन्– आज हजुरको बच्चैदेखिका साथी आउनुभएको थियो । उहाँलाई १० हजार रुपैयाँको तत्काल आवश्यकता परेको रहेछ । मैले हजुरको दराजबाट निकालेर उहाँलाई दिएँ । कतै लेख्नुपर्छ भने लेख्नुहोस् है ।
पत्नीको कुरा सुनेर पति निकै दुःखी देखिए । उनका आँखा आँसुले भरिए । पतिको अवस्था देख्दा पत्नीले हडबडाउँदै प्रश्न गरिन्– किन, के भयो ? मैले केही गलत गरेँ कि ? उहाँकै सामु तपाईंसित पैसा दिऊँ कि नदिऊँ भनेर सोध्दा उहाँलाई नराम्रो लाग्न सक्थ्यो । फेरि उहाँ हजुरका बच्चैदेखिका मिल्ने साथी हुनुहुन्छ भन्ने मलाई राम्रै थाहा थियो । त्यसैले, मैले हजुरलाई नसोधी त्यति हिम्मत गरेँ । मैले कुनै गल्ती गरेँ भने मलाई माफ गर्नुहोस् ।
दुःखी स्वरमा पतिले भने– तिमीले मेरो साथीलाई पैसा दियौ भनेर म दुःखी भएको होइन । तिमीले एकदम ठिक काम गर्यौ । तिम्रो यो कर्तव्यपरायणताबाट म औधी खुसी छु । तर, मेरो त्यति प्यारो मित्र यति ठुलो अभावमा बाँचिरहेको छ भन्ने मैले पहिल्यै बुझ्न किन सकिनँ भन्ने सोचेर म दुःखी भएको हुँ । मैले यति लामो समयसम्म उसको हालखबरसम्म सोधिनँ । ऊ संकटमा हुन सक्छ भन्नेतिर मेरो ध्यान नै गए । म कति स्वार्थी रहेछु । मैले साथीको समस्या बुझ्न सकिनँ ।
जुन मित्रतामा लेनदेनको गणित हुन्छ, त्यो केवल नाम मात्रको मित्रता हुन्छ । त्यसमा अपनत्व हुँदैन । मित्रता ढोकाको त्यस्तो शान्त घन्टी हो, जो बजे पनि नबजे पनि हामीले भित्रैबाट यसको आवाज सुन्न सक्नुपर्छ । तर, मैले त्यस्तो घन्टीको आवाज सुन्नै सकिनँ । म एक असल मित्र रहिनछु । यही सोचले मलाई दुःखी बनाइरहेको छ प्रिय ! तर, तिमीले जुन काम गर्यौ, त्यसले भने मलाई अपार खुसी दिएको छ ।