१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ६ बिहीबार
  • Wednesday, 04 June, 2025
२o८१ भदौ ६ बिहीबार २२:२६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दस्ताबेज लेख्नुअघि परामर्शमा प्रचण्ड

सुशासनको प्रयास गर्दा कांग्रेस–एमालेमा तरंग पैदा भयो : प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ६ बिहीबार २२:२६:oo

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श सुरु गरेका छन्। प्रदेशस्तरीय परामर्श बैठकको सुझावसहितको आधारमा दस्ताबेज तयार पारेर केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने उनको तयारी छ। यसका लागि सबै प्रदेशमा छुट्टाछुट्टै परामर्श बैठक बोलाइएको छ।

अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिवहरू जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेतलगायतका पदाधिकारीको उपस्थितिमा पार्टी कार्यालय पेरिसडाँडामा बुधबार र बिहीबार बागमती प्रदेशको परामर्श बैठक सम्पन्न भएको छ। 

पार्टी अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुनेका थिए। उनले विशेष महाधिवेशनसम्म विचारको विकास गरेर अगाडि बढ्ने बताए। यद्यपि, विशेष महाधिवेशनको मिति तोकिएको छैन। गत स्थायी समिति बैठकमा विशेष महाधिवेशनबारे नेताहरूको धारणा बाझिएको थियो।

सुशासन कायम गर्ने क्रममा कांग्रेस र एमालेमा तरंग पैदा भएको र सोही कारण सरकार माओवादीले छाड्नुपरेको दाबी प्रचण्डले गरेका छन्। सरकार छाडेर पनि विजयको भावसहित निस्केको उनको भनाइ थियो। ‘हामीले सामाजिक न्यायसहित सुशासन र समृद्धिको पक्षमा काम गर्दै थियौँ। सुशासनको प्रयास गर्दा कांग्रेस–एमालेमा तरंग पैदा भयो। हामी सरकार छाडेर पनि विजय भावका साथ बाहिरिएका छौँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।

सदनको मोर्चालाई प्रमुख प्रतिपक्षका रूपमा प्रभावकारी बनाउने उनले बताए। संविधान र आन्दोलनको जगमा प्राप्त उपलब्धिको रक्षाका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजाने पनि प्रचण्डको भनाइ थियो। नेताहरूले ठोस कार्यक्रम तयार पारेर जनतामा जानुपर्ने सुझाव दिएका छन्। जनतामा नगएसम्म एजेन्डा बुझाउन नसकिने र विरोधीले फैलाएको भ्रममा जनता भुलिने उनीहरूको भनाइ छ। कमजोरी सच्याउँदै पार्टीलाई एकताबद्ध बनाएर जानुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्। प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर जनतामा जाने माओवादीको तयारी छ।

परामर्श बैठक कहाँ कहिले?
बागमती प्रदेशमा ५–६ भदौ, विशेष सम्पर्क समन्वय प्रदेशमा ७–८, गण्डकीमा ९–१०, सुदूरपश्चिममा १२–१३, कर्णालीमा १४–१५, लुम्बिनीमा १६–१७ मा परामर्श बैठक बस्नेछ। तीनवटा केन्द्रीय आयोगको १८, मधेशमा २२–२३, कोशीमा २४–२५ मा परामर्श बैठक हुनेछ। यस्तै, जनवर्गीय संगठन र मोर्चाको २७–२८, सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट मञ्च र आयोगको २९–३० भदौ र प्रवास प्रदेशको ३१ भदौ–१ असोजमा संयुक्त परामर्श बैठक बस्नेछ।

छुटाउनुभयो की ?