१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २१ बुधबार
  • Friday, 06 June, 2025
गगन अयडी बाजुरा
२o८२ जेठ २१ बुधबार १५:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुराको काँडाकोट र नाराकोटमा तीन महिनादेखि नेपाल टेलिकमको सेवा ठप्प

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८२ जेठ २१ बुधबार १५:१५:oo

बाजुराको जगन्नाथ गाउँपालिका नम्बर २ काँडाकोट र वडा नम्बर ४ नाराकोटमा नेपाल टेलिकमका सेवाहरू तीन महिनादेखि अवरुद्ध छन्। मोबाइल नेटवर्क र इन्टरनेट सेवामा समस्या हुँदा सरकारी सेवा प्रवाहसमेत प्रभावित भएको छ।

गाउँपालिकाकाे वडा नं. १ देखि ६ सम्मको भूगोल तीन महिनादेखि सञ्चारविहीन भएकाे गाउँपालिका प्रशासन सहायक राजेन्द्रप्रसाद जोशीले बताए। नेपाल सरकारले कार्यान्वयन गरेको डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत सबै स्थानीय तहहरूमा अनलाइन प्रणालीमार्फत आर्थिक प्रशासनिक कार्यहरू सञ्चालन भइरहेको भन्दै गाउँपालिकाले अनलाइन प्रणालीबाट प्रदान गर्ने सबै सेवा प्रभावित भएको बताएको छ।

टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा लाभग्राहीलाई प्रदान गरिने सेवा सुविधाहरू, योजनासम्बन्धी रकम भुक्तानी, विवरण अद्यावधिक, वित्तीय अभिलेख व्यवस्थापनजस्ता कार्यमा असर परेको छ।

लामो समयदेखि टेलिकमको सेवा अवरुद्ध भएपछि गाउँपालिकाले अर्थ मन्त्रालयलाई पत्र लेख्दै नियमित प्रशासनिक कार्यहरूलाई निरन्तरता दिन नसकेको जनाएको छ। मन्त्रालयलाई आवश्यक पहल गरिदिनसमेत गाउँपालिकाले आग्रह गरेको छ।

सुदूरपश्चिम दूरसञ्चार कार्यालयका इन्जिनियर लक्ष्मण चन्द्रले भने जुड्डी जलविद्युत् आयोजनामा समस्या देखिँदा नाराकोट टेलिकमको टावरमा विद्युत् सेवा नहुँदा सञ्चार सेवा प्रभावित भएको जानकारी दिए। विद्युत् नहुँदा टावर सञ्चालनका लागि वैकल्पिक व्यवस्था नरहेको उनले बताए।

यसअघि काँडाकोटस्थित टेलिकमको टावरको क्षमता विस्तार गर्न जाँदै गर्दा जेठ १३ गते काँडाकोटनजिकै दूरसञ्चार कार्यालयका प्रमुख लोकबहादुर खड्कालगायत तीनजनाको जिप दुर्घटनामा परी मृत्यु भएको थियो।

इन्जिनियर चन्द्रका अनुसार काँडाकोट र नाराकोटको टावर अति अप्ठ्यारो स्थानमा भएकोल मर्मतका लागि त्यहाँ कुनै पनि कर्मचारी जान मानेका छैनन्। काँडाकोट र नाराकोटको टावर सञ्चालनमा आउन अझै एक–दुई महिना लाग्ने उनको भनाइ छ।

छुटाउनुभयो की ?